राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ताको सवालमा सबै दल एक हुन आह्वान

काठमाडौं– नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागमा राख्दै छिमेकी राष्ट्र भारतले हालै जारी गरेको नक्साप्रति मौलिक जरोकिलो पार्टीले घोर आपत्ति जनाएको छ ।

सन् १८१६ मा नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनीबीच भएको सुगौली सन्धिले नेपालको पश्चिमी सिमाना महाकालीलाई बनाएको उल्लेख गर्दै सो पार्टीले उक्त बिन्दुभन्दा एक इन्च मात्रै वर सार्ने कार्यको पनि कूटनितिक तवरबाट प्रतिवाद गर्न सरकारसँग माग गरेको छ । 

लिम्पियाधुरा, कुटियाङ्दी, लिपुलेक र कालापानी नेपालका भूभाग भएको र यी क्षेत्रलाई भारतीय पक्षको अनधिकृत कब्जाबाट मुक्त गराई वैज्ञानिक किसिमले सीमा व्यवस्थापन गर्न प्रवक्ता लीलाबहादुर बानियादवारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपाल र भारत बीच कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले थोरी गरी करिब ५४ वटा स्थानमा सीमा विवाद रही आएको तथ्य बारम्बार सार्वजनिक भएता पनि सत्तामा रहुन्जेल समाधानको निम्ति उदासीन देखिने र सत्ताबाट हटेपछि सोही विवादलाई ‘राष्ट्रियता’को मुद्दा बनाउने परिपाटी रहीआएको कारण आज छिमेकी देशहरुले नटेर्ने अवस्था आएको सो पार्टीको ठहर छ । 

नेपालको दुवैतिर भौगोलिक, आर्थिक र सामरिक दृष्टिकोणले विशाल देशहरु रहेको हुँदा नेपालको राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ताको मामलामा नेपालमा रहेका सबै दलहरु राज्य राष्ट्र सिद्धान्तका आधारमा नेपालको अन्तर्राष्ट्रिय सिमानाको नेपालसापेक्ष सुव्यवस्था गर्नको निम्ति एकजुट हुन मौलिक जरोकिलो पार्टीले आह्वान गरेको छ । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७६ बुधबार १६:२०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया