प्रधानमन्त्री ओली तत्काल बाहिर ननिस्किने, बालुवाटारबाटै नियमित काम गर्ने

काठमाडौं– गत साता दुई पटक मिर्गौलाको डायलाइसिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा नै आराम गर्दै नियमित काममा सक्रिय हुने निर्णय गरेका छन् । चिकित्सकको सल्लाअनुसार उनी केही समयका लागि बाहिर ननिस्किने भएका हुन् । 

‘सबै काम बालुवाटारबाट गर्न सक्दा उहाँ निस्किनुपर्छ भन्ने नै छैन,’ ओलीको सचिवालयका एक सदस्यले फरक धारसँग कुराकानी गर्दै भने, ‘स्वास्थ्यमा कस्तो सुधार हुन्छ, त्यो हेरेर मात्र उहाँ बाहिर निस्कने भन्ने कुरा निर्धारण हुन्छ ।’

त्यसो त ग्रान्डी अस्पतालमा एक रात बसेर मिर्गौलाको डायलाइसिस दुई पटक गरेर बालुवाटार फर्किएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा नै भेटघाट  तथा कामहरु बढाएका छन् । यसबीचमा उनी प्रदेश प्रमुखहरुको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन राष्ट्रपति निवासमा पुगेका थिए । बालुवाटार फर्किएको भोलिपल्ट नै उनले शुक्रबारदेखि राजनीतिक भेटघाट चाहिँ सुरु गरिसकेका थिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुसँग उनले बालुवाटारमा नै भेटिरहेका छन् ।

नेकपाका नेताहरुसँगको भेटमा उपनिर्वाचनको विषयमा पनि छलफल भएको छ । उपनिर्वाचनका लागि यसपटक दलको नेतृत्व वा चुनावी प्रचार अभियानलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्दैछन् । फलस्वरुपः उनी उपनिर्वाचन हुने दुई ठाउँमा पुगिसकेका छन् । केही अघि पिपरामा पुगेका प्रचण्ड हिजोमात्र दाङमा चुनावी सभालाई सम्बोधन गर्न र नेकपाकी उम्मेदवार विमला ओलीलाई मत माग्न पुगेका थिए । 

यता, केही समयका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक पनि बालुवाटारमा नै गर्ने तयारी गरेका छन् । उनले मन्त्रीहरु तथा मुख्यसचिव लोकदर्शन रेग्मी र आफ्नो सचिवालयका सदस्यहरुलाई बालुवाटारमा नै बोलाएर निर्देशन दिने गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २१, २०७६ बिहीबार १०:३३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया