मेलम्ची खानेपानी आयोजनकाे कामले गति लिँदै

मेलम्ची– मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको कामले गति लिएको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको मेलम्ची खानेपानीको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको हो । 

अहिले आयोजना स्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँ गरी झण्डै १०० कामदार कार्यरत छन् । अरु १०० कामदार आगामी सातासम्ममा थप गरी पूर्ण रुपमा काम अघि बढाउने कम्पनीको योजना छ । सिएमसीले निर्माण गरिसकेका संरचनाहरुको अन्तिम काम (फिनिसिङ) गर्न सुरु गरिएको हो । अहिले सुरुङको सबलीकरण र बाँकी सुरुङभित्रै ८०० मिटर क्षेत्रमा कंक्रिट ढलानको काम अघि बढिरहेको छ । 

राष्ट्रिय गौरवको योजनामा पर्ने सो आयोजनाको बाँकी भनिएको पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने एक सम्झौतामा सरकारले दुई महिना अघि चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनामा अहिले नयाँ ठेकेदार कम्पनीले नयाँ उत्साहका साथ काम थालेकाले ती काम छिटै सम्पन्न हुने विश्वास व्यक्त गर्दै आएकी छिन् ।

आयोजनामा कामको प्रगति बुझ्न बुधबार यहाँ आइपुग्दा मन्त्री मगरले चिनियाँ कम्पनी सिनो हाइड्रो उत्साहका साथ पूर्वाधारको तयारीमा जुटिरहेको बताइन् । काठमाडौंका जनताले भोग्दै आएको खानेपानीको अभाव पूरा गर्ने यो आयोजनाको निर्माणमा धेरै समय लागिसकेकाले अब थप लम्बाउन नदिने उनले प्रतिबद्धता जनाइन् । 

स्थलगत अवलोकनपछि मन्त्रालयका सचिव माधव बेल्वासेले सुरुङको काम सम्पन्न भइसकेकाले बाँकी काम समयमै सकिने विश्वास व्यक्त गरिन् । उनका अनुसार सुरुङ लामै भएपनि प्राविधिक दृष्टिकोणबाट त्यो संरचना त्यति भने जटिल छैन । उनले भनिन्– ‘समयमै सम्पन्न हुनेमा विश्वास गर्ने प्रशस्त आधारहरु छन् ।’

कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन शून्य दशमलव १५ प्रतिशतले लाभांश दिने गरी सम्झौता भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । योजना मुताबिक काम अघि बढे वर्षा अघि नै नदीमा बाँध बाँध्ने काम सम्पन्न हुनेछ । 



हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष कोपिला पण्डितले संघीय सरकारले मेलम्चीसम्म मात्रै नभएर हेलम्बुसम्मैको सडक स्तरोन्नति गर्नुपर्ने बताइन् । हेलम्बुलाई मेलम्ची प्रभावितमा ‘क’ मा राख्नुपर्नेमा उनको जोड छ । उनले भनिन्– ‘काठमाडौंवासीले पानी पाउनुपर्छ भन्नेमा हामी सकारात्मक छौँ, तर हामीलाई पनि असर पर्नुहुँदैन ।’

आयोजनाका जम्माजम्मी कामलाई तीन भागमा विभाजन गरिएको छ – हेडवर्क, सुरुङमार्ग र प्रशोधन केन्द्रको निर्माण । यसमध्ये हेडवर्क र सुरुङमार्गको काम सिनो हाइड्रोले गर्ने भएको छ । प्रशोधन केन्द्र निर्माण दुई कम्पनीले गरिरहेका छन् । 



आयोजना निर्माणका क्रममा पहिले धेरै अवरोध भए पनि अहिले अवरोध कम भएकाले तोकिएको अवधिभित्रै काम सकिने वरिष्ठ डिभिजनल इञ्जिनीयर पन्तले बताए । सिएमसीले काम छाडेर गए पनि उसले सहायक ठेकेदारलाई रकम दिन बाँकी छ र यो समस्या समाधानका लागि मन्त्रालयमा कार्यरत सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ ।  

उनका अनुसार हेर्डवर्कमा भौतिक अवरोध कमै मात्र रहेको छ । पहिले गिट्टी, बालुवा आपूर्ति, रुख कटान, चट्टान विस्फोटन जस्ता धेरै अवरोध थिए । उनले भने– ‘अहिले काम नै अवरुद्ध हुने गरी समस्या आएको छैन ।’

यहाँ रहेका खानेपानी प्रशोधन केन्द्र निर्माणको काम झण्डै अन्तिम चरणमा पुगेको प्रवक्ता पन्तले बताए । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा दुई वटा ट्यांकी राखिनेछन् । एउटाको निर्माण सम्पन्न भइसकेको छ भने अर्को ट्यांकीको निर्माण केही समयमै सम्पन्न हुने बताइएको छ । प्रत्येकको क्षमता साढे आठ करोड लिटर रहेको छ ।

एउटाको जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा निर्माण भएको हो । एडिबीको सहयोगमा निर्माणाधीन ट्यांकीको काम ९० प्रतिशत पूरा भएको र निर्माण अन्तिम चरणमा पुगेको बताइन्छ । यसको ठेक्का सम्झौताको अवधि गत महिना सकिएको थियो । सोही ठेकेदार कम्पनीलाई नै सिएमसीले छाडेर गएका कतिपय निर्माणका काम गर्न दिइएकाले तीन महिना अवधि थपिएको छ । उनले भने– ‘अबको दुई–तीन महिनामा सबै काम सक्ने देखिएको छ ।’

मेलम्ची नदीमा बाँध बाँध्ने काम र स्टिलको पुल बनाउने काम बाँकी  छन् । विद्युतीय प्रणालीबाटै विभिन्न ढोकाहरु खोल्ने र लगाउने गरी निर्माण भइरहेका छन् । ढोकाको डिजाइन, निर्माण र जडानका काम झण्डै पाँच प्रतिशत मात्रै बाँकी रहेको छ । टनेलमा भुइँ ढलानको काम दुई दशमलव पाँच किलोमिटर र भित्ता ढलान दुई दशमलव पाँच किलोमिटर बाँकी छ ।

टनेलभित्र हावा प्रवाह नहुँदा पानी नबग्ने भएकाले तीनवटा ‘भेन्टिलेटर’ निर्माण गर्ने डिजाइनमा रहेको बताइएको छ । तीनमध्ये दुई वटा सम्पन्न भइसकेको र एउटा सम्पन्न हुन बाँकी छ । खेर जाने पानीलाई बागमतीमा खसाल्न बागमतीमा भर्याङजस्तै संरचना बनाइने पन्तले जानकारी दिए । एकैपटक छाड्दा खोलाको पानी धमिलिने हुँदा बहाव कम गर्न भर्याङजस्तै संरचना निर्माण गर्न लागिएको हो । 

आयोजनाको मुख्य सुरुङ खन्ने काम सकिएको छ । आयोजनाका लागि आवश्यक भौतिक पूर्वाधारका लागि झण्डै ७० किलोमिटर सडक मर्मत सम्भार र स्तरोन्नतिको काम सकिएको छ । सुरुङ माथिबाट ढुंगा माटो खसेर यहाँका संरचनालाई क्षति नपुगोस् भनी बनाइएको २७ दशमलव ५ किलोमिटर प्रारम्भिक ‘सपोर्ट’ को काम सकिएको छ । झण्डै एक लाख घनमिटर कमजोर चट्टान झिकेर त्यस ठाउँमा कंक्रिट राख्ने काम पनि सकिएको छ । सुरुङदेखि प्रशोधन केन्द्रसम्म आपूर्ति पाइप जडान भइसकेको छ । भुइँमा अन्तिम ढलानको काम झण्डै २५ दशमलव तीन प्रतिशत मात्रै बाँकी छ । 

लामो समयसम्म पनि सम्पन्न नभएको राष्ट्रिय गौरवका आधा योजनामध्ये यो एक हो । काठमाडौं उपत्यकामा रहेको खानेपानीको समस्या हल गर्न मेलम्चीको पानी काठमाडौं ल्याउन संस्थागत पहल सुरु भएको दुई दशक भयो । यसबीचमा विभिन्न संस्थाहरु यो आयोजनासँग जोडिए । विसं २०५६ मा मेलम्ची खानेपानी विकास समिति नै  गठन गरिएको थियो ।

आयोजना निर्माणका लागि एडिबीले सन् २००१ मा सम्झौता गरेको थियो । पछिल्लोपटक काम गरेको इटालियाली कम्पनी सिएमसी फिर्ता भएको झण्डै पाँच महिनापछि अहिले नयाँ कम्पनीले बाँकी निर्माणका काम सुरु गरेको छ । विनाअवरोध योजना मुताबिक निर्माण कार्य अघि बढे अबको १४ महिनामा आयोजना सम्पन्न हुने ठानिएको छ ।

  • प्रकाशित मिति : कात्तिक २१, २०७६ बिहीबार १६:४४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया