शरद ऋतुमा हिमाल आरोहणबाट साढे ६ कराेड रोयल्टी

काठमाडाैं– शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी स‌ंकलन भएको छ । ६२ देशका एक हजार १ सय ६२ आरोहीबाट सो रोयल्टी संकलन भएको पर्यटन विभागले जनाएको छ । 

विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९ सय १५ र महिला २ सय ४७ जना रहेका छन् । आरोहीले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका नायव सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । जसमध्ये सबैभन्दा बढी २७ समूहका ३१६ जनाले आमादब्लम हिमालको आरोहण अनुमति लिएका छन् । जसबाट रु एक कारोड ४० लाख ३६ हजार ३ सय रोयल्टी स‌ंकलन भएको छ । 

सबैभन्दा बढी रोयल्टी भने मनास्लु हिमाल आरोहण अनुमतिबाट उठेको छ । मनास्लुबाट मात्रै दुई करोड ७० लाख ८५ हजार ६ सय रोयल्टी स‌ंकलन भएको निरौलाको भनाइ छ । मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २ सय ६४ जनाले अनुमति लिएका छन् ।

त्यसैगरी धवलागिरि हिमाल आरोहणबाट ३२ लाख आठ हजार पाँच रोयल्टी स‌ंकलन भएको छ । उक्त हिमाल आरोहणका लागि तीन समूहका ३१ जानले अनुमति लिएका छन् । यता थापा पिक आरोहण अनुमतिबाट रु ११ लाख ८९ हजार ३ सय १२ संकलन भएको पर्यटन विभागले जनाएको छ ।

वसन्त ऋतुमा आरोहीको भिड लाग्ने विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति पाएका थिए । उनीहरुबाट सरकारले ६३ लाख ११ हजार ८ सय रोयल्टी संकलन गरेको छ । लामो समयपछि शरद ऋतुमा आरोहणका लागि गएको भए पनि सफल हुन नसकेको निरौलाको भनाइ छ । सगरमाथा आरोहण असफल भएपछि उनीहरु फर्किसकेका छन् । 

शरद ऋतुमा आरोहणका लागि मौसम सामान्य अनुकूल हुने भए पनि उच्च गतिको हावाका कारण जोखिम हुने आरोहीको भनाइ छ । सगरमाथा आधार शिविरदेखि क्याम्प १ सम्मको अति जोखिमयुक्त बाटो निर्माणको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति ‌एसपिसिसीका अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार शरद ऋतुमा बाटो निर्माण गर्दा खर्च बढी लाग्छ । त्यसैले यो समयमा आरोही समूहले नै बाटो  निर्माण गर्दै जानुपर्ने हुन्छ ।



वसन्त ऋतुमा ६ सय अमेरिकी डलरमा क्याम्प १ सम्मको बाटो बनाउने सकिने भए पनि शरद ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्ने समितिले जनाएको छ । नेपाल सरकारले समेत शरद ऋतुमा आरोहणलाई प्राथमिकता दिएको पाइँदैन ।



  • प्रकाशित मिति : कात्तिक २२, २०७६ शुक्रबार १७:१४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया