काठमाडौं– कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन शुक्रबार उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा विशेष पूजा भएकाे छ । ती मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको थियाे ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु जागा हुने धार्मिक विश्वासका साथ पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भिड लागेको हो ।
उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचंगुनारायण र विशंखुनारायण मन्दिरमा भक्तजनको भिड लागेको थियाे । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज एकै दिन पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ टाढाटाढाका भक्तजन पनि सवारीसाधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शन गर्न आउँछन् ।
चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूलो ढुंगामा स्थापना गरिएको छ । मन्दिरमा राति एक बजेदेखि नै भक्तजनको भिड लागेको थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।