उपत्यकामा सवारी साधनको रुट निर्धारण हुन सकेन

काठमाडौं– काठमाडौं उपत्यकामा कुन मार्गमा कस्ता र कति मात्रामा सवारी साधन चल्ने भनी निर्धारण हुन सकेको छैन । मार्गनिर्धारण हुन नसक्दा कतिपय मार्गमा आवश्यकताभन्दा बढी सवारी साधन हुँदा सवारी चाप बढी छ भने ग्रामीण क्षेत्रमा सवारीसाधन कम मात्रै चल्दा स्थानीयवासी हैरान छन् ।

डेढ वर्ष पहिले यातायात व्यवसायीको एकाधिकार तोडेसँगै यातायात व्यवस्था विभागले मार्ग निर्धारणका लागि अध्ययन गरे पनि त्यसको प्रतिवेदन आउन सकेको छैन । मार्ग निर्धारण नभएर व्यवसायीले चाहेको स्थानमा सवारीसाधन चलाउँदा बढी नाफा हुने ठाउँमा मात्रै व्यवसायी जाने गर्दा समस्या भएकोे विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । 

पहिले यातायातको व्यवस्थापन नेपाल सरकारले मात्रै गर्ने भए पनि अहिले प्रदेश सरकार र स्थानीय तहको पनि कार्यक्षेत्रमा पर्ने उनको भनाइ छ । उनले भने, ‘तीनै तहका सरकारले आपसी छलफल र समन्वयमा रुट निर्धारण गर्न सकिन्छ ।’ उपत्यकाको सवारी साधनको व्यवस्थापनकै लागि सरकारले गत वर्ष राष्ट्रिय यातायात प्राधिकरणको गठन गर्ने निर्णय गरे पनि गठन हुनसकेको छैन । 

पाँच वर्षका लागि काठमाडौं उपत्यकाको सवारी व्यवस्था व्यवस्थापन र नियमन गर्नका लागि प्राधिकरण गठन गर्ने भनिएको थियो । प्राधिकरण गठन नहुँदासम्म स्थानीय तह र प्रदेशसँग मिलेर विभागले नै काम गर्ने महानिर्देशक हमालको भनाइ छ । विभागमातहत रहेका यातायात व्यवस्था कार्यालय पनि सरकारले गत वर्ष नै प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको थियो । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७६ शुक्रबार १८:१८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया