'प्रधानमन्त्रीले निर्देशन दिनुभयो, हामीले राजीनामा दिने भयौँ'

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका सबै सदस्यलाई राजीनामा दिन निर्देशन दिएका छन् । उनले नयाँ शिराबाट काम सुरु गर्न यो निर्देशन दिएको हुनसक्ने प्रधानमन्त्रीका सचिवालयका एक सदस्यले फरक धारलाई बताए । 

‘हिजो उहाँले बोलाउनु भयो र सबैलाई राजीनामा दिन निर्देशन दिनुभयो,’ उनले भने, ‘हामी सबैले राजीनामा दिँदै छौँ, मंसिर एक गतेबाट लागु हुने गरि हामी सबैले राजीनामा फाइल गर्न लागेका हौँ ।’ उनले प्रधानमन्त्री ओलीले नयाँ टिम बनाउने हेतुले यस्तो निर्देशन दिएको हुनसक्ने बताए । 

प्रधानमन्त्री ओलीनिकट नेकपाका एक नेताले चाहिँ प्रधानमन्त्री ओलीले मन्त्रिमन्डल हेरफेर गर्नका लागि आफ्नो सचिवालयबाट नै परिवर्तनको सुरुवात गरेको बताए । 

‘अब छिट्टै मन्त्रिमन्डलका सदस्यबाट पनि प्रधानमन्त्री ओलीले राजीनामा माग्नुहुन्छ,’ ती नेताले भने, ‘त्यसपछि अबको नयाँ कार्यदिशा र नयाँ ढंगको नेतृत्वबाट कसरी अगाडि बढ्ने भन्ने निर्धारण हुन्छ ।’

प्रधानमन्त्री मन्त्रिमन्डल फेर्ने निर्णयमा पनि पुग्नु भएको हो भन्ने प्रश्नमा चाहिँ सचिवालयका ती सदस्यले भने, ‘यो पनि अब सम्भावनाको कुरा भएको छ । तर, यसबारे उहाँले केही भन्नु भएको छैन ।’

प्रधानमन्त्रीको निर्देशन अनुसार अब प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार कुन्दन अर्याल, राजनीतिक सल्लाहकार राजन भट्टराई, आइटी सल्लाहकार अस्गर अलीलगायतले पनि राजीनामा दिँदै छन् । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७६ शनिबार १७:१३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया