Sun, 23 Feb, 2020


प्रेमध्वजकाे सम्झनामा टुँडिखेल
फरकधार / कात्तिक २३, २०७६

काठमाडौं– गीतसंगीत र गीतमा मायाका कुरा गरेर सबैलाई कुनै समय लोभ्याएका थिए, प्रेमध्वज प्रधानले । सिन्धुपाल्चोकमा जन्मिएका प्रधानले आफ्नो बाल्यकाल चाहिँ काठमाडौंमा नै बिताए । त्यसैले अहिले बागबजारको घरमा बसिरहँदा प्रधान घरको झ्यालबाट बाहिर हेर्छन् र बाल्यकालमा फर्किन्छन् । 



अनि त्यो बाल्यकालको अधिकांश सम्झना प्रेमध्वजको टुँडिखेलसँग जोडिएका छन् । 

केही दिनअघि बागबजारमा आफ्नै घरको कोठामा प्रेमध्वजले ती सम्झनाहरुबारे खुलेर कुरा गरे । 

‘अँ, टुँडिखेलसँग त मेरा अनेक सम्झना छन्,’ ८ दशक पार गरिसकेका प्रेमध्वजले बताए, ‘मेरो बाल्यकाल नै टुँडिखेलमा खेल्दै बितेको हो ।’

सबैभन्दा पहिलो सम्झना त प्रेमध्वजसँग भारतीय पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरु नेपाल आउँदको छ । नेहरु नेपाल आउँदा टुँडिखेलमा उनले विशेष सम्बोधन गरेका थिए । ‘त्यो कार्यक्रममा म पुगेको थिएँ,’ प्रेमध्वजले भने, ‘उनले फराकिलो टुँडिखेलमा गरेको भाषण र त्यो दिन अहिले पनि मेरो सम्झनामा छन् ।’ 

यो १९५१ को कुरा थियो । त्यसअघि पनि प्रेमध्वजले टुँडिखेलमा आफ्नो बाल्यकालका पदचापहरु चलायामान बनाएका थिए । अनि ती यादहरुमा अहिले पनि बारम्बार प्रेमध्वज हराउँछन् । 

त्यस्तै, उनको सम्झनामा आउँछ, अहिलेको शान्ति बाटिका रहेको ठाउँमा लाग्ने राखी बजार । 

‘त्यहाँ सानो बगैँचा थियो,’ प्रेमध्वज विगतमा फर्किए, ‘त्यसलाई राखी बजार भनिन्थ्यो, तर त्यहाँ ठूला पसल थिएनन् । त्यहाँ यत्तिकै भुइँमा वा केही ओछ्याएर व्यापार गर्नेहरु हुन्थे । खासै धेरै मानिसहरु थिएनन्, त्यही भएर पनि त्यो राखी बजारमा त्यस्तो ठूलो भीडभाड हुँदैनथ्यो ।’

जतिबेला शान्ति बाटिकामा राखी बजार थियो, त्यति बेला अहिलेको रत्नपार्क भएको ठाउँमा तीन साना घर थिए । तर, त्यसलाई लामो समय त्यहाँ राखिएन, भत्काएर त्यसलाई पुनः पार्कमा परिणत गरियो ।

प्रेमध्वजले जीवनका खुड्किला उक्लिँदै गए, टुँडिखेल साँघुरो बन्दै गयो । अहिले पनि प्रेमध्वज सम्झिन्छन्, दशरथ रंगशाला भएको ठाउँमा एउटा पोखरी थियो । ‘हामी त्यही पोखरीमा गएर पौडीसमेत खेल्थ्यौँ,’ उनले भने, ‘त्यहाँ नेर थोरै ओरालो थियो, त्यो ओरालोमा दौडिँदा बहुत आनन्द आउँथ्यो ।’

प्रेमध्वजले थाहा पाएअनुसार जंगबहादुर राणाले सैनिक परेड गराउन एउटा टुकडीलाई टुँडिखेलको एउटा छेउमा ल्याएर राखे । त्यो ठाउँ अहिलेको भद्रकाली भएको प्रेमध्वजलाई थाहा छ । 

‘त्यहाँ त एउटा हल बनाइएको थियो, साँस्कृतिक कार्यक्रम हुन्थ्यो,’ प्रेमध्वजले भने, ‘मैले पनि त्यो हलमा गीत गाएको छु, मीरा राणा त्यहाँ नाचेकी छिन् ।’ यति भनिसकेपछि प्रेमध्वजले आँखा चिम्लिए, अनि खोले र भने, ‘१५ साल तिरको कुरा हुनुपर्छ यो ।’

प्रेमध्वजका लागि त्यति बेलाको विशाल टुँडिखेल फुटबल ग्राउन्ड पनि थियो । फरक के मात्र भने त्यति बेला टुँडिखेलमा फुटबल खेल्न जाँदा प्रेमध्वजहरु साथीहरुसँग फुटबल लिएर होइन, भोगटे लिएर पुग्थे । ‘हामीले कहाँबाट फुटबल पाउनु,’ प्रेमध्वज मुसुक्क हाँसे, ‘भोगटे लिएर जान्थ्यौँ अनि टुँडिखेलमा खेल्थ्यौँ ।’

अनि त्यही विशाल टुँडिखेल त्यति बेला राणाहरुका लागि मर्निङ वाक गर्ने ठाउँ पनि थियो । प्रेमध्वजले आफ्नै आँखाले देखेका छन्, ‘पद्म शम्शेर मर्निङ र इभिनिङ वाकका लागि टुँडिखेलमा आउँथे । उनको जुँगा लामो थियो । उनीसँग दुई जना अंगरक्षक पनि हुन्थे ।’ उनलाई देखेपछि प्रेमध्वजहरु नमस्कार गर्थे, ‘श्री तीन महाराजलाई नमस्कार त गर्नै पर्यो नि ।’

जसरी यी घटनाहरु अब प्रेमध्वजको सम्झानामा कैद भएका छन्, त्यति बेला उनले खेलेको र देखेको टुँडिखेल पनि उनको सम्झनामा मात्र कैद भएको छ । 

‘टुँडिखेल त अहिले ससाना प्लटिङ गरेको जस्तो टुक्राटाक्री भएको छ,’ प्रधानले भने, ‘त्यति बेला यो विशाल चौर थियो, एउटा सानो बाटो थियो । त्यहाँबाट मोटर आउजाउ चाहिँ हुन्थ्यो ।’

यही मोटर आउ जाउ गर्ने बाटोमा एकपटक साथीहरुसँग बेस्सरी दौडिएका छन्, प्रेमध्वज । आफ्ना विस्मृत सम्झनाहरुलाई सम्झन प्रयास गर्छन्, प्रेमध्वज, ‘त्यो दिन केआइ सिंहले सिंहदरबार कब्जा गर्ने रे भन्ने हल्ला चलेको थियो । त्यही हेर्न हामी दौडिएर त्यही मोटर बाटो हुँदै सिंहदरबारसम्म पुगेका थियौँ ।’

फेरि २०१५ सालतिर पुगे, प्रेमध्वज । सम्झिए, ‘टुँडिखेलमा अहिलेको शहिदगेटको छेउछाउमा एउटा लामो आकारको वस्तु थियो, डिब्बाहरु जोडिएको  ।’ त्यति बेला प्रेमध्वज र उनका साथीहरु त्यहाँ नै खेल्थे । तर, उनलाई त्यहाँ भएको त्यो वस्तु रेलको डिजाइन हो भन्ने पनि थाहा थिएन । ‘पछि गीत रेकर्ड गर्न म भारत गएँ,’ प्रेमध्वजले भने, ‘अनि पो बल्ल थाहा भयो, त्यो त रेलको डिजाइन रहेछ ।’

जब प्रधान त्यति बेलाको टुँडिखेल सम्झिन्छन्, उनको अनुहारमा खिन्न भाव झल्किन्छ । ‘अब हामी टुँडिखेलमा दौडिने प्रतियोगिता नै गथ्र्यौ,’ प्रेमध्वजले भने, ‘यताको छेउसम्म उता पुग्दा रमाइलो हुन्थ्यो, सबै घाँसे मैदान थियो ।’ त्यही मैदानमा नेपाली सेनाको परेड पनि चल्थ्यो । 

‘त्यही सेनाको टुकडी ल्याएपछि टुँडिखेलको अतिक्रमण सुरु भएको हो,’ प्रेमध्वजले भने, ‘विस्तारै रत्नपार्क बन्यो, शान्तिवाटिका बन्यो, रंगशाला बन्यो, सैनिक मन्च बन्यो अनि अहिले त बसपार्क नै पनि त्यही बनाइयो ।’ 

तर, यसलाई टुँडिखेलको महानताका रुपमा पनि अथ्र्याउँछन् प्रेमध्वज । उनलाई लाग्छ, यी सबै भवन बन्नु भनेको टुँडिखेलले सबैथोक दिनु हो, तर आफैंलाई गुमाउँदै जानु पनि हो । 

‘गुम्न त टुँडिखेलको सबै कुरा गुम्यो,’ उनले भने, ‘मर्निङ वाक जाने ठाउँ गुम्यो, केटाकेटी उफ्रिने ठाउँ गुम्यो ।’ प्रेमध्वजले लामो सास फेरे । बागबजारको घरमा सोफामा बसिरहेका प्रेमध्वजले त्यसपछि अगाडिको सिसाको टेबलमा सिसाकै कपमा भएको कालो चियाको लामो चुस्की लिए ।

अनि पोख्न थाले आफ्ना असन्तुष्टि, टुँडिखेलकै विषयमा । 

‘अब हुँदाहुँदा खुलामन्चमा बसपार्क सारियो रे,’ उनले भने, ‘अहिले त त्यहाँ ढलान गरिँदै छ रे, पसलहरु राखिएका छन् । अनि यसले टुँडिखेल र खुलामन्चको सौन्दर्य झन् कुरुप बनाउँदै लगेको छ ।’

फेरि प्रेमध्वजसँग विदेश सयरका अनुभव पनि छन् । ‘म युरोप पुग्दा ठाउँठाउँमा खुला ठाउँहरु देख्छु, पार्कहरु देख्छु,’ उनले भने, ‘तर, यहाँ भएको खुला ठाउँ पनि मासिँदै छ, यसले मन खिन्न बनाउँछ ।’

प्रेमध्वज टुँडिखेल र खुलामन्चलाई लिएर किन पनि नोस्टाल्जिक हुन्छन् भने यही ठाउँमा उनले कुनै समय सयौँ दर्शकको अगाडि आफ्नो हार्मोनियम बजाए, गीत सुनाए, नेताका भाषण सुने ।

त्यसैले त यो विषयमा कुराकानी सुरु गर्दा देखि नै उनले बारम्बार दोहोर्याए–  टुँडिखेल त अहिलेको होइन, त्यही पहिलेको चाहिन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्