‘गोल्डेन ब्लड’ के हो ? किन महत्वपूर्ण छ यो रगत ?

रगतको एक प्रकार हो, ‘गोल्डेन ब्लड’ । संसारमा यो ग्रुपको रगत अति दुर्लभ छ । त्यसैले, गोल्डेन ब्लड भएका मानिसलाई विशेष मानिन्छ । तर, कहिलेकाहीँ यो ब्लड ग्रुप हुनु उनीहरुकै लागि खतरा पनि बन्न सक्छ ।

गोल्ड ब्लड ग्रुपपको असली नाम आरएच नल (Rh null) हो । आरएच नल के हो ? यसलाई किन यति महत्वपूर्ण मानिन्छ ? अनि यो समूहको रगत हुनु किन जोखिमपूर्ण छ ? जवाफ जान्न सबैभन्दा पहिले ब्लड ग्रुप कसरी निर्धारण हुन्छ भन्ने बुझ्नु जरुरी छ ।

यसरी निर्धारण हुन्छ ब्लड ग्रुप 

रगत जुन रक्तकोषिकाबाट बन्छ, त्यसमाथि एन्टिजिन नामक प्रोटिनको एउटा तह हुन्छ ।

‘ए’ ग्रुपका रगतमा केवल एन्टिजिन ‘ए’ हुन्छन्, ‘बी’ ग्रुपका रगतमा केवल ‘बी’ एन्टिजिन हुन्छन् । ‘एबी’ ग्रुपका रगतमा दुवैै एन्टिजिन हुन्छन् भने ‘ओ’ ग्रुपका रगतमा कुनै पनि एन्टिजिन हुँदैनन् ।

राता रक्तकोषिकाहरुमा अर्को प्रकारको प्रोटिन हुन्छ, जसलाई आरएचडी भनिन्छ । रगतमा आरएचडी छ भने त्यसलाई पोजिटिभ मानिन्छ, र यदि यो नभए नेगेटिभ । यसरी, सामान्य टेस्टबाटै ब्लड ग्रुपको पहिचान गरी रगतलाई ए पोजिटिभ, ए नेगेटिभ, बी पोजिटिभ, बी नेगेटिभ, ओ पोजिटिभ र ओ नेगेटिभमा वर्गीकरण गर्न सकिन्छ । 



कसैको रगत अरु कसैको शरीरमा चढाउँदा ब्लड ग्रुप म्याच गर्नु जरुरी हुन्छ । यदि नेगेटिभ ग्रुप भएकालाई पोजिटिभ ग्रुपको चढाइयो भने उसको ज्यानै जान सक्छ । यो यसकारण हुन्छ कि, उसको शरीरको एन्टिबाडिजले त्यो रगतलाई रिजेक्ट गरिदिन्छ ।

ओ ब्लड ग्रुपलाई युनिभर्सल डोनर भनिन्छ । किनभने, यसमा न एन्टिजिन हुन्छ, न त आरएचडी । यस्तोमा रगत रिजेक्ट नभई अन्य ग्रुपसँग सजिलै मिक्स हुन्छ ।
जोखिमपूर्ण ‘गोल्ड ब्लड’



रगतको जति पनि कम्बिनेसन छ, त्यसमा आरएच नल सबभन्दा फरक छ । यदि कसैको राता रक्तकोषिकामा आरएच एन्टिजिन छँदै छैन भने त्यसको ब्लड टाइप आरएच नल हुन्छ ।

बायोमेडिकल रिसर्च पोर्टल मोजेकमा पेनी बेलीले लेखेका छन् कि पहिलोपटक यो ब्लड टाइपको पहिचान १९६१ मा भएको थियो । अस्ट्रेलियाका मूल निवासी महिलामा यस्तो रगत पाइएको थियो । 

नेसनल युनिभर्सिटी अफ कोलम्बियामा हेमाटोलोजीका विशेषज्ञ नतालिया विलारोयाले बिबिसीसँग कुरा गर्दै यो खालको ब्लड ग्रुप आनुवंशिक रुपमा आएको बताए । उनले भने, ‘आमा–बुबा दुवै यो म्युटेसनको वाहक हुनुपर्छ ।’ 

आरएच नल एक बरदान पनि हुन सक्छ र अभिषाप पनि । एक किसिमले यो युनिभर्सल ब्लड हो, जुन सबै दुर्लभ ब्लड टाइपवालाहरुलाई दिन सकिन्छ । तर, यस्तो धेरै कम मात्रामा गर्ने गरिन्छ, किनभने यो पाउन लगभग असम्भव नै छ । नेसनल रेफरेन्स ल्याबोरेटरीका निर्देशक डा. थिएरी पेरर्डले मोजेकमा भनेका छन्, ‘यो दुर्लभ हुनाले नै यसलाई गोल्डेन ब्लड भनिएको हो ।’

बेलीका अनुसार गोल्डेन ब्लड अति महँगो छ । यो रगतलाई ब्लड बैंकहरुमा कसैको नाम, ठेगाना नराखिकन राख्ने गरिन्छ । तर, अहिले वैज्ञानिकहरुले आफ्नो रिसर्चका लागि ब्लड स्याम्पल लिने बहानामा रक्तदान गर्नेको नाम, ठेगाना पत्ता लगाउने कोसिस गरेका कुरा बाहिर आएका छन् ।

गोल्डेन ब्लड ग्रुप हुनु अति जोखिमपूर्ण

गोल्डेन ब्ल्ड ग्रुप हुनु मान्छेका लागि जोखिमपूर्ण छ । युएस रेयर डिजिज इन्फरमेसन सेन्टरका अनुसार आरएच नल ब्लड टाइप हुनेलाई हल्का अनिमिया हुन सक्छ । त्यसमाथि, उनीहरुलाई रगत चढाउनुपरेकोे खण्डमा आरएच नल ब्लड मात्रै चढाउन मिल्छ, जुन भेट्नै मुस्किल हुन्छ ।

यो समूहको रगत हुनेले दुनियाँभरका समान ब्लड ग्रुप भएका मानिससँग सम्पर्क बनाइराख्नु उपयुक्त हुन्छ ।

आरएच नल ग्रुपका मानिस ब्राजिल, कोलम्बिया, जापान, आयरल्यान्ड र अमेरिकामा बस्छन् । यिनीहरुलाई रक्तदान गरिरहन प्रोत्साहन गरिन्छ, ता कि आवश्यक परेका वेला स्टक पाउन सजिलो होस् ।

  • प्रकाशित मिति : कात्तिक २३, २०७६ शनिबार २२:४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया