बन्चराे प्रहार गरि श्रीमतीकाे हत्या

सिरहा– सिरहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका–२ बन्दीपुर सलहेस टोलस्थित आफ्नै घरको आँगनमा श्रीमतीको हत्या गरी फरार भएका ४५ वर्षीय रामबाबु पासवान करिब सात घन्टापछि रामनगर मिर्चैयाबाट पक्राउ परेका छन् ।

घरायसी विवादमा भनाभन हुँदा दाउरा चिरिरहेको बन्चरो प्रहार गरी ४० वर्षीया श्रीमती कविताको हत्यापछि पासवान फरार भएका थिए । स्थानीय छिमेकीको सहयोगमा व्यापक प्रहरी परिचालन गरी खोजी गर्ने क्रममा उनलाई छिमेकी मिर्चैया नगरपालिका– ६ मा पर्ने रामनगर मिर्चैयास्थित आफन्तको घरमा लुकेर बसिरहेको अवस्थामा बुधबार अपराह्न करिब ४ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले बताए ।

अत्यधिक मदिरा सेवन गरी लर्बराएका पासवानलाई लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको भए पनि अन्य कुरा नखुलेको डिएसपी बोहराको भनाइ छ । प्रहरीका अनुसार पासवानलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । मृतकको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको छ । 

घरायसी विवादले लियो ज्यान

श्रीमती कविता बुधबार बिहान करिब ९ बजेतिर बन्दीपुर बजारबाट किनमेल गरेर फर्किँदा पासवान आफ्नै घरको आँगनमा दाउरा चिर्दै गरेको देखिएको छिमेकीहरू बताउँछन् । घरायसी विषयमा सामान्य भनाभन हुँदा मदिरा सेवन गरेका उनले श्रीमतीलाई एक्कासि बन्चरो प्रहार गरे ।

 कविता घटनास्थलमै ढलेपछि पासवान फरार भएको स्थानीयलाई उद्धृत गर्दै कर्जन्हा– २ का वडाध्यक्ष गणेशकुमार अधिकारीले बताए । ‘घटनाको सूचना पाएलगत्तै तत्काल प्रहरीलाई खबर गरेँ,’ वडाध्यक्ष अधिकारीले भने । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७६ शनिबार २३:३४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया