कास्की– १४ मंसिरमा हुने उपनिर्वाचनका लागि विभिन्न दलका उम्मेदवारले उम्मेदवारी दिएका छन् । यो उपनिर्वाचनमा सबैभन्दा बढी माहोल तातेको छ, कास्कीको दुई नम्बर निर्वाचन क्षेत्रको । किनकि प्रतिनिधि सभा सदस्यका लागि यही निर्वाचन क्षेत्रमा मात्र निर्वाचन हुँदैछ ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा गत फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा परेपछि रिक्त रहेको कास्की २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उनकै पत्नी विद्या भट्टराई चुनावी संग्राममा होमेको छ । भट्टराई उम्मेदवारी दिइसकेकी छिन् । उनले यसलाई आफ्नो राजनीतिमा पुनरागमन भनेकी छिन् ।
उम्मेदवारी दर्ता गरेपछि गरेको सम्बोधनमा र सामाजिक सन्जालमा भट्टराईले आफूले रवीन्द्रका सपना पूरा गर्ने आश्वासन दिएकी छिन्, यसलाई नै विशेष नारा पनि बनाएकी छिन् ।
कास्कीमा विद्याका प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेसले खेमराज पौडेललाई अगाडि सारेको छ । कास्कीमा राप्रपा, साझा पार्टी र विवेकशील नेपाली दलले पनि आआफ्ना उम्मेदवार निर्वाचनका लागि अगाडि सारेका छन् । तर, स्थानीयहरु यो निर्वाचनलाई नेकपा र कांग्रेसको प्रतिस्पर्धाकै रुपमा हेरिरहेका छन् ।
यसअघिको निर्वाचनमा रवीन्द्र अधिकारीले ८ हजारभन्दा धेरै मत ल्याएर प्रतिस्पर्धीलाई पराजित गरेका थिए । २०७४ सालमा भएको निर्वाचनमा देवराज चालिसे रवीन्द्र अधिकारीका मुख्य प्रतिस्पर्धी थिए । अधिकारीले त्यो निर्वाचनमा २७ हजार २ सय ७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए ।
यही तथ्यांकलाई आधार बनाउने हो भने कास्कीमा विद्याको जित निश्चित भएको अनुमान गर्न सकिन्छ । तर, कास्कीको निर्वाचन क्षेत्रका जानकारहरु यो समीकरण अहिले निकै हदसम्म फेरिएको बताउँछन् ।
यो समीकरण वा विद्याले पाउन सक्ने मत फेरिनुमा पाँच कारण विशेष छन् ।
नेपाली चुनावी इतिहासलाई हेर्ने हो भने पतिको मृत्युपछि उम्मेदवारी पाएका सबै महिला उम्मेदवारहरुले निर्वाचनमा विपक्षी उम्मेदवारलाई पराजित गरेका छन् । नेपाली कांग्रेसकी सीतादेवी यादवदेखि तत्कालीन एमालेबाट उम्मेदवार भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई यसको उदाहरणका रुपमा लिन सकिन्छ । शोकलाई शक्तिमा बदल्ने जुन भावना यस्तो क्षणमा आउँछ, त्यसले नेपाली मतदातालाई सहजै म्यानुपुलेट गर्न सक्छ ।
‘त्यस्तै अवस्था अहिले कास्कीमा पनि देखिएको छ,’ कास्कीका एक कांग्रेस नेताले भने, ‘विद्याजीमाथि पक्कै पनि सहभानुभूति छ ।’ तर, उनले यस्तो सहानुभूति उनीभन्दा बढी कांग्रेसका उम्मेदवार खेमराजलाई भएको दाबी गरे ।
‘खेमराज लामो समय देखि यहाँ नै राजनीति गरिरहेका व्यक्ति हुन्,’ फरक धारसँगको लामो कुराकानीमा उनले भने, ‘उनले अहिलेसम्म कुनै अनुचित काम गरेका छैनन्, उनको त्यो छविलाई यहाँका जनताले राम्रोसँग बुझेका छन् ।’ ती नेताले खेमराजप्रति कास्की २ का मतदाताले विशेष श्रद्धाभाव राख्ने पनि बताए । ‘उहाँकै उमेरका कतिपय कम्युनिस्टकै मतदाता पनि उहाँले जित्नु पर्छ भन्नेमा रहेको देखिन्छ,’ उनले भने, ‘यस्तो किन हो भने उहाँले अहिलेसम्म कसैको चित्त दुखाउनु भएको छैन । बरु यसअघि यो क्षेत्रका काममा कांग्रेस कम्युनिस्ट वा पार्टी नभनी पूर्ण रुपमा सेवा गर्नु भएको छ ।’
खेमराजको यही सबल पक्षका कारण पनि कास्कीमा निर्वाचन परिचालनमा होमिएको विद्याको टिमले थप गृहकार्य गरिरहेको विद्याको निर्वाचन अभियानमा संलग्न एक सदस्यले बताए । ‘निर्वाचन हो, जे पनि हुनसक्छ,’ उनले भने, ‘हामीले निर्वाचनलाई हलुका रुपमा लिएका छैनौँ । त्यस्तो गर्नु हुँदैन भन्ने हामीलाई स्पष्ट रुपमा थाहा छ ।’
फेरि विद्याले यसअघि आफू राजनीतिमा हुँदा कास्कीको यो निर्वाचन क्षेत्रमा खासै केही गरेकी छैनन् । ‘उनी विद्यार्थी राजनीतिमा हुँदा र पछि महिला संघमा हुँदा पनि उनले कास्कीमा आफ्नो उपस्थिति जनाउन सकेकी थिइनन्,’ ती नेताले भने, ‘यसले गर्दा पनि उनलाई अहिले ब्याकफायर हुनसक्ने अनुमान गरिएको छ ।’
यसपटक हुन लागेको उपनिर्वाचनलाई नेकपा सरकारको पहिलो जनस्तरको परीक्षाका रुपमा लिइएको छ । यही कुरा बुझेकाले नेकपाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै निर्वाचन अभियानमा प्रचारका लागि खटाएको छ । त्यसैले उनी कहिले पिपरा पुगिरहेका छन्, कहिले दाङ त कहिले पोखरा ।
‘यो खासमा नेकपा सरकारको पहिलो परीक्षा हो,’ कास्कीका ती कांग्रेस नेताले भने, ‘त्यसैले उपनिर्वाचन हुने सबै ठाउँहरुमा उहाँहरु विशेष ध्यान दिँदै हुनुहुन्छ । तर, यसपटक उहाँहरुको कामका कारण केही ठाउँहरु गुमाउँदै हुनुहुन्छ ।’
कास्कीमा रवीन्द्र अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई द्रुत गतिमा बढाउने गरि जुन स्पिडमा काम गरेका थिए, त्यसले त्यहाँ उनीप्रति सकारात्मक प्रभाव देखिन्छ । तर, संघीय सरकार र प्रदेश सरकारले गरेका कामहरुको बढी आलोचना भएका कारण यो निर्वाचनमा न्युट्रल मतदाताले नेपाली कांग्रेसलाई मत दिने सम्भावना बढेको नेपाली कांग्रेस कास्कीले निष्कर्ष निकालेको ती नेताले बताए ।
यसपटक दल विभाजन भएपछि साझा पार्टी र विवेकशील नेपाली दलले छुट्टाछुट्टै उम्मेदवार कास्कीमा उठाएका छन् । साझा पार्टीका केन्द्रीय नेताहरु उम्मेदवार रजनी केसीलाई जिताउने अभियानका साथ अहिले देखि नै कास्कीमा केन्द्रित भएका छन् । उनीहरुले प्रचारलाई जुन स्तरमा अगाडि बढाएका छन्, त्यसले उनीहरुले यसअघिको निर्वाचनभन्दा राम्रो गर्न सक्ने सम्भावना देखाउँछ ।
विवेकशील नेपाली दलकी जमुना शर्माले पनि निर्वाचन अभियानलाई विशेष रुपमा अगाडि बढाएकी छिन् । विवेकशील र साझाले यो निर्वाचनमा उल्लेख्य मत नल्याउलान् तर उनीहरुले न्युट्रल भोटरहरुलाई प्रभावित पार्न सक्ने सम्भावना बढेको जानकारहरु बताउँछन् । कास्की कांग्रेसलाई पनि यसलाई मध्यनजर गर्दै आफ्नो चुनावी अभियानलाई अगाडि बढाएको छ ।
यसपटक यी दुई पार्टीले यसअघि नेकपालाई मत दिएका मतदातालाई बढी प्रभावित पार्न सक्ने सम्भावना रहेको कास्कीका ती कांग्रेस नेताले बताए ।
कास्कीमा विद्या भट्टराईलाई नेकपा नेताहरुकै असहयोग रहेको बुझिएको छ । केही नेताहरुले उनलाई उम्मेदवार बनाउन पनि चाहेका थिए । उनीहरु शक्तिशाली र प्रभाव पार्न सक्ने तहमा रहेकाले उनीहरुले विद्यालाई असहयोग गर्नु उनका लागि नकारात्मक पक्ष भएको छ । ‘विद्याको राजनीतिमा राइज भएको खण्डमा आफूहरु पछाडि परिने सक्ने अनुमानसमेत केही नेताहरुले गरेका छन्,’ कास्कीका एक राजनीतिक विश्लेषकले भने, ‘त्यसैले उनीहरुले अहिले विद्याको पक्षमा मत मागिरहेका छैनन् । उनीहरुले विद्यालाई असहयोग गर्नु पनि भनेका छैनन् तर उनीहरु चुपचाप बस्नुले पनि विद्यालाई कमजोर बनाउने निश्चित छ ।’
यो कुरा विद्याको निर्वाचन अभियानमा जोडिएको समूहले पनि प्रष्टसँग बुझेको छ ।
कास्कीमा निर्वाचनमा विशेष भूमिका खेल्न सक्ने र त्यसलाई प्रभावित गर्न सक्ने नेकपाका नेता सोमनाथ अधिकारी प्यासी आफैं उम्मेदवार हुन चाहन्थे । तर, उनलाई सरकारले प्रदेश १ को प्रमुखका रुपमा नियुक्त गरेको छ । त्यसैले उनी प्रदेश एकमा पुगेका छन् । प्यासी पोखरामा हुन नपाउनुले पनि नेकपाको केही मत घट्न सक्ने अनुमान धेरैले गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।