काठमाडौं– बाग्लुङ २ को प्रदेश सभा (ख)का बागी उम्मेदवार शेरमान घर्तीको उम्मेदवारी फिर्ता गराउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हेलिकोप्टरबाट उनलाई सदरमुकाम ल्याएको छ ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय थियो । तर, समय सकिएपछि मात्रै घर्ती सदरमुकाम पुगे ।
बुर्तिवाङस्थित होटल दरबारबाट प्रभु एअरको हेलिकोप्टरमा राखेर घर्तीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याइएको थियो । नेकपाले यो क्षेत्रमा जनमोर्चाका खिमविक्रम शाहीलाई सघाउने निर्णय गरेको थियो ।
तर घर्तीले नेकपाकै दधिराम अर्याललाई प्रस्तावक र रिमबहादुर विकलाई समर्थक बनाएर उम्मेदवारी दिएका थिए । कात्तिक २१ गते उनले बागी उम्मेदवारी दर्ता गराएका थिए । घर्तीलाई हेलिकोप्टरमा राखेर सदरमुकाम ल्याए पनि उम्मेदवारी फिर्ता लिने समय सकिएका कारण उनको उम्मेदवारी फिर्ता हुन सकेन ।
यसअघि राष्ट्रिय जनमोर्चामा नै रहेका घर्तीले १२ वर्षसम्म आफूलाई पार्टीले मूल्यांकन नगरेको भन्दै माओवादी प्रवेश गरी २०७४ सालको स्थानीय तहको चुनावमा ढोरपाटन नगरपालिकाको मेयरका लागि चुनाव लडेका थिए ।
तत्कालीन वाम गठबन्धनबाट विजयी भएका राष्ट्रिय जनमोर्चाका सांसद टेकबहादुर घर्तीको गत मंसिरमा मृत्यु भएपछि सो प्रदेशमा उप निर्वाचन हुन लागेको हो । सो प्रदेशमा नेपाली कांग्रेसले पूर्व विद्यार्थी नेता जित शेरचनलाई उम्मेदवार बनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।