डाक्टर केसीलाई लिन डडेलधुरामा सेनाको हेलिकोप्टर, केसीको अडान– काठमाडौं जान्नँ
फाइल तस्वीर ।

काठमाडौं– डडेल्धुरामा अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई लिन सेनाको हेलिकोप्टर काठमाडौंबाट डडेल्धुरा पुगेको छ । 

सोमबार विहान देखि नै डडेल्धुरामा नेपाल प्रहरीले र अस्पतालका कर्मचारीले डाक्टर केसीलाई काठमाडौं जान दबाब दिइरहेका थिए । उनको स्वास्थ्य अवस्था जटिल भएको र उनलाई राम्रो अस्पतालमा लैजानु पर्ने त्यहाँको अस्पतालले जनाउँदै आएको छ । 

६ दिनअघि डडेल्धुराबाट अनसन सुरु गरेका डाक्टर केसीको ब्लड प्रेसर बढ्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिजनको मात्रा घटेको, मिर्गौलामा समस्या देखिएको त्यहाँको अस्पतालले जनाएको छ । स्थानीय एक घरमा अनसन बस्न सुरु गरेका डाक्टर केसीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल सारिएको थियो ।

अस्पतालमा उनको उपचारका लागि आवश्यक आइसियु सेवा, एबिजी सेवा तथा उपकरण नभएकाले डा केसीलाई तत्काल सुरक्षित स्थानमा लैजानु पर्ने अस्पतालले जनाउँदै आएको छ । 

यो डाक्टर केसीको १७ औं अनसन हो । अवकाशपछिको उनको यो पहिलो अनसन हो । तर, उनी अहिले अनसनबाट काठमाडौं आउने पक्षमा छैनन् । त्यसैले काठमाडौंबाट उनलाई लिन गएको सेनाको हेलिकोप्टर त्यहाँको सैनिक ब्यारेकमा राखिएको छ ।

अर्कोतिर, डाक्टर केसीलाई अहिले अनसन तोड्न शिक्षामन्त्री गिरिराजमणी पोखरेलले आग्रह गरेका छन् । सोमबार विहान शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले अहिले देश सीमा विवादका कारण त्यसमा केन्द्रित भएकाले डा. केसीले अनसन तोड्नु पर्ने बताएका हुन् । 



उनले डाक्टर केसीका मागहरु सम्बोधन भइरहेकोमा पनि जोड दिए । ‘सिंगो देश कालापानीको विषयमा एकतावद्ध ढंगले अगाडी बढिरहेको छ,’ उनले भने, ‘यस्तो बेलामा डा. साबले अनसनको बाट लिने होइन ।’

तर, डा. केसीका समर्थकहरुले न डा केसीलाई डडेल्धुराबाट काठमाडौं ल्याउन दिने भएका छन् न मन्त्री पोखरेलको आग्रहलाई सकारात्मक रुपमा लिएका छन् । 



‘मलाई मन्त्री ज्युको कुरा सुनेर हाँसो लाग्यो,’ फरकधारसँग कुरा गर्दै डा. केसीको अभियानमा सुरु देखि नै जोडिएका डा. जीवन क्षेत्रीले भने, ‘सरकारलाई डा. केसीका मागबारे चासो र चिन्ता छ भने अहिले नै सहमति गरोस्, ती माग पूरा होउन् ।’ उनले मन्त्रीको अनुरोधलाई बकम्फुसे तर्कको संज्ञा दिए । 

‘डा. केसीसँग भएका सम्झौता कार्यान्वयन हुन्,’ क्षेत्रीले बताए, ‘सम्झौता भयो भने डा. केसीले अनसन तोडिहाल्नुहुन्छ ।’ सरकारले चाहेमा र यसलाई गम्भीर भएर लिएमा डा. केसीका माग एक घन्टामा पूरा गर्न सकिने पनि क्षेत्रीको भनाइ थियो ।

बरु उनले डा. केसीलाई जबरजस्ती काठमाडौं ल्याउन खोजेकोमा डडेल्धुरामा तनावको स्थिति उत्पन्न भएको पनि बताए । ‘सरकार हामीलाई झुक्याउने खेल खेल्दैछ,’ उनले भने, ‘यसले गर्दा अहिले डडेल्धुरामा तनावको अवस्था सिर्जना भएको छ ।’

  • प्रकाशित मिति : कात्तिक २५, २०७६ साेमबार ११:२७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया