सागका लागि दशरथ रंगशालाको पुनर्निर्माण तीव्र

काठमाडौं– १३औँ दक्षिण एसियाली खेलकुद (साग) सुरु हुन अब २० दिन मात्र बाँकी रहँदा यसका लागि आवश्यक पूर्वाधार भने पूर्ण रूपमा तयार भएका छैनन् । यसको ज्वालन्त उदाहरण हो, दशरथ रंगशाला । 

दशरथ रंगशाला सागको प्रमुख खेल मैदान हो । सागको उद्घाटन तथा समापन समारोह यही मैदानमा हुने तय भएको छ । दशरथ रंगशालाको प्रायः सम्पूर्ण काम सम्पन्न भइसकेको राष्ट्रिय खेलकुद परिषद्का पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायकाे दाबी छ । 

दशरथ रंगशालाको पुनर्निमार्ण कार्य अहिले तीव्र गतिमा भइरहेको छ, अन्तिम अवस्थामा आएर गरिएको तयारीले रंगशाला समयमा नै निर्माणसम्पन्न नहुने त होइन भन्ने आशंका उब्जिएको छ । यद्यपि, रंगशाला समयमा नै निर्माणसम्पन्न गराउनका लागि त्यहाँका कामदार दिन–रात नभनी काममा खटिएका छन् ।रंगशालाको ड्रेसिङ रुम, रेस ट्राक, लाइटिङ, स्कोर बोर्डलगायतको निर्माणकार्य सम्पन्न भइसकेका छन् । त्यस्तै, रंगरोगन तथा साधारण प्याराफिटमा कुर्सी जडान गर्ने कार्य केही दिनमा सम्पन्न हुने उनले बताए । 

तत्कालको अवस्थामा रंगशालाको मुख्य चिन्ता भिआइपी प्याराफिटको नै हो । सो प्याराफिटका लागि चाहिने छानो चीनबाट अझै आइपुगेको छैन । उक्त छानो कहाँसम्म आइपुग्यो, राखेपका पदाधिकारी स्वयंलाई नै थाहा छैन । ‘अबको केही दिनमा आइपुग्छ होला,’ शाखा प्रमुख उपाध्यायले अनुमान लगाउँदै भने । चीनबाट छानो आइपुग्नेबित्तिकै फिटिङ गर्न मिल्ने गरी काम भइरहेको उपाध्यायले बताए । त्यसका लागि अहिले पिल्लर उठाउने कार्य भइरहेको छ । 



वर्तमान परिस्थिति जे–जस्तो भए पनि सागको उद्घाटन तथा समापन जसरी पनि दशरथ रंगशालामा नै गर्नेमा राखेप अडिग छ । राखेपले सोहीअनुरुप काम गर्न निर्देशन पनि दिइसकेको छ । सागअगाडि नै दशरथ रंगशालाको काम सकिइसक्ने उपाध्यायले बताए । ‘हामी सकेसम्म यही कात्तिक मसान्तसम्ममा काम सकाउने हिसाबले काममा लागेका छौँ, यदि नसकिएको खण्डमा मंसिरको पहिलो सातासम्ममा त जसरी पनि सकिन्छ,’ उनले ठोकुवा गरे ।  

ललितपुरमा हुने खेलमध्ये पौडीबाहेक अन्य खेलका पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । पौडी खेलका लागि पोखरीहरूको पुनर्निर्माण कार्य पनि सम्पन्न हुने अवस्थामा छ । त्यहाँ अब एउटा हिटेड (तातोपानी)वाला पोखरी मात्र बन्न बाँकी रहेको उपाध्ययले जानकारी दिए । खेलाडीले १२ महिना नै प्रशिक्षण गर्न सकून् भन्ने उद्देश्यले यस्तो पोखरी निर्माण गर्न लागिएको उनले बताए ।



पोखरामा हुने खेलका लागि पोखरा रंगशाला पनि अहिलेसम्म तयार भइसकेको छैन । यसको पनि प्याराफिटको काम बाँकी रहेको छ । पोखरा रंगशालाका लागि चाहिने मेटल स्टिल प्याराफिट फ्रान्सबाट बिसाखापट्टनम्मा आइसकेको छ । अब चाँडै नै नेपाल आइपुग्ने उपाध्यायले बताए । पोखरा रंगशालाको मेटल स्टिल प्याराफिट नेपाल आउनासाथ एक–दुई दिनमा नै फिट गर्न सकिने उनको भनाइ छ ।  

राखेपले समयमा नै साग गराउने अठोट लिएता पनि यसका पूर्वाधारको निर्माण कार्य सन्तोषजनक हुन भने सकेको छैन । निर्माण कार्यले तीव्रता पाए पनि समयमा नै निर्माण सम्पन्न हुने हो या होइन भन्ने द्विविधा अझै पनि कायम छ ।      

  • प्रकाशित मिति : कात्तिक २५, २०७६ साेमबार १७:११:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया