काठमाडौं– उद्घाटन भएको पाँच महिना बित्दा पनि नारायणहिटी दरबार संग्रहालय परिसरमा बनेको गणतन्त्र स्मारक सञ्चालनमा आउन सकेको छैन । गणतन्त्र दिवसका अवसर पारेर गत जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले स्मारक उद्घाटन गरेकी थिइन् ।
निर्माण सुरु भएको आठ वर्षमा स्मारक सम्पन्न भएको थियो । राजतन्त्र हुञ्जेल राजाको दरबार रहेको नारायणहिटीलाई विसं २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झण्डोत्तोलनसहित राष्ट्रिय संग्रहालयको घोषणा गरेका थिए ।
त्यसअघि भवनको मूल खम्बामा राजाको विशेष झण्डा फहराइन्थ्यो । विसं २०६५ फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरेका थिए । संग्रहालयले ७ सय ५३ र दरबारले ३ सय १८ रोपनी क्षेत्रफल ओगटेको छ ।
संग्रहालयको जग्गामा सहरी विकास तथा भवन निर्माण विभागले स्मारक निर्माण गरेको हो । स्मारक संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई हस्तान्तरण गरेपछि सञ्चालनमा आउने विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए । गत साताको मन्त्रिपरिषद्ले स्मारक हस्तान्तरणसम्बन्धी निर्णय गरेको जानकारी आफूले पाएको उनले सुनाए ।
लोकतान्त्रिक गणतन्त्रको प्रतीकका रूपमा निर्माण भएको स्मारकमा चारवटा खम्बा बनेका छन् । राणाशासनको अन्त्यदेखि हालसम्म स्वतन्त्रता प्राप्तिका लागि भएका आन्दोलनका क्रममा ज्यान गुमाएका, हराएका, बेपत्ता पारिएका र अंगभंग भएका ज्युँदा सहिदका नाममा सम्झनास्वरूप खम्बा निर्माण गरिएको हो ।
नारायणहिटी दरबार संग्रहालयले उपलब्ध गराएको ३५ रोपनी क्षेत्रफलमा स्मारकका संरचना निर्माण भएको विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर मचाकाजी महर्जनले जानकारी दिए । स्मारकको मूल संरचना भने दुई रोपनी क्षेत्रफलमा फैलिएको छ ।
‘जनआन्दोलनका सहिदसम्बन्धी चिजबिज प्रदर्शनी गर्न स्मारकमा ग्यालरीको पनि निर्माण गरिएको छ, स्मारकमा अण्डाकार संरचना बनेको छ, जहाँ रातो प्रकाश निस्कने छ, अण्डाकारको तल नेपालको नक्साको आकार हुनेछ’, इञ्जिनियर महर्जनले भने ।
स्मारकमा ‘सहिदको रगत खेर जाने छैन, नेपालकै लागि सदुपयोग हुनेछ’ मूल भाव आउने वाक्यसमेत राखिएको छ । स्मारकमा बहुउद्देश्यीय हल, विशिष्ट कक्ष, चमेनागृह, शौचालयलगायत संरचनासमेत निर्माण भएको छ ।
यसअघि नारायणहिटी दरबार क्षेत्रमा २.१ मिटर मात्र चौडाइ रहेको इच्छुमती (टुकुचा) लाई स्मारक निर्माणका क्रममा ४.२ मिटर चौडाइमा विस्तार गरिएको छ । दरबारकी कुनै रानीले इच्छाएर नारायणहिटीभित्र ल्याइएकाले यसको नाम इच्छुमती राखिएको भनाइ छ । यसले टुकुचामा आउने ठूलो बाढी पनि थेग्ने वरिष्ठ डिभिजनल इञ्जिनियर महर्जनले बताए ।
नारायणहिटी दरबार संग्रहालयको पूर्वपट्टि नागपोखरीमा अवस्थित स्मारकमा नेपालमा प्रजातन्त्र प्राप्तिका लागि जनताले खेलेको भूमिकाका विभिन्न तस्बिर र कलाकृतिलगायत सामग्री राख्न नेपाल कला परिषद्लाई जिम्मेवारी दिइएको छ ।
स्मारकको भावनात्मक सम्बन्ध हरेक नेपालीसँग जोडिएकाले लोकतन्त्र प्राप्तिका लागि सहिदको बलिदानीलाई जीवन्त राख्न मद्दत गर्ने विश्वास लिइएको छ । यस्ता कलाकृतिले जनतामा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउन कति साहस, त्याग र बलिदानीको आवश्यकता पर्यो भन्ने देखाउँछ ।
हिमाल, पहाड र तराईको भौगोलिक अवस्था झल्किने कलाकृति पनि स्मारकको ग्यालरीमा राखिएको छ । नेपालको तीनवटै भौगोलिक अवस्था चिनाउने आकृतिबाट रातो किरण निस्किनेछ, कलाकृतिका माध्यमबाट हिमाली क्षेत्रका मनमोहक हिमाल, पहाडका डाँडाकाँडा र तराईको समथर भूभाग ग्यालरीमा राखिनेछ । त्यसबाट उत्पन्न हुने रातो प्रकाशले सहिदका चार स्मारकलाई उज्यालो बनाउँछ ।
किरणका माध्यमबाट सहिद, बेपत्ता र अंगभंग पारिएकालाई राष्ट्रले सम्झिरहेको छ भन्ने प्रतीकात्मक अर्थ दिनेछ । विसं ०६८ चैत १४ गते तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले स्मारक शिलान्यास गरेका थिए। तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरिएकामा भूकम्प र नाकाबन्दीका कारण पाँच वर्ष ढिला भएको विभागले जनाएको छ ।
३५ करोडमा सम्झौता भए पनि स्मारक निर्माणका लागि ४० करोड लागेको बिकोई–स्काई–बङ्गलामुखी जेभीका रोशन श्रेष्ठले बताए । केही आन्तरिक साजसज्जाको काम अझै बाँकी रहेको उहाँको भनाइ थियो ।
नारायणहिटी दरबार संग्रहालय घुम्न आउने पर्यटकले स्मारक क्षेत्र पनि हेर्न चाहन्छन् । तर हस्तान्तरण नभएकाले त्यो इच्छा पूरा हुन सकेको छैन । दरबारको उत्तरपूर्वी कुनामा स्मारक बनेको देखिए पनि हेर्न नपाइएको अवलोकनका लागि दरबार आएका रामकृष्ण बानियाँले गुनासो गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ मन्त्रिपरिषद्ले नारायणहिटी संग्रहालय तथा गणतन्त्र स्मारक समिति गठन गर्ने निर्णय गरेकाले त्यसैअनुसार सञ्चालनमा आउने बताउँछन् । त्यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएपछि स्मारक सञ्चालन एवं व्यवस्थापन हुने मन्त्रालयले जनाएको छ । यसै साता नेपाल राजपत्रमा सूचना प्रकाशन हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।