भारतीय प्रधानमन्त्री मोदीलाई डा. केसीको पत्र– परस्पर विश्वास र मैत्रीको वातावरण कायम गर्न विशेष आग्रह

चिकित्सा शिक्षामा सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देशमूलक पत्र लेखेका छन् । पत्रमा डा. केसीले लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको समाचारले आफू स्तब्ध भएको बताएका छन् । 

जुनसुकै देशका नागरिकको पनि मर्यादा र आत्मसम्मान समान हुने भन्दै उनले नेपाल र भारतको सम्बन्ध रातारात विकास भएको नभई अनादिकालदेखिको अन्तरंग मित्रताले विकास भएको बताएका छन् । 

नेपाल र भारत मिलेर लड्नुपर्ने अन्य थुप्रै समस्या भएको उल्लेख गर्दै उनले नेपाल मजबुत र समृद्ध भए मात्रै भारतको राष्ट्रिय सुरक्षा सुनिश्चित हुन सक्ने बताएका छन् । सीमा समस्यालाई कूटनीतिक छलफलबाट समाधान गर्न मोदीले केसीलाई आग्रह गरेका छन् ।

यस्तो छ केसीले मोदीलाई लेखेको पत्र  

श्री नरेन्द्र दामोदरदास मोदी,
प्रधानमन्त्री, भारत गणराज्य

कुशल छौँ र यहाँको कुशलता चाहन्छौँ । 



भारत र नेपालबीचको गहिरो र आत्मीय सम्बन्ध रातारात विकास भएको हैन । अनादिकालदेखि यी भुभागमा बसिआएका मानिसहरुबीचको अन्तरंग सम्बन्ध नै आधुनिक नेपाल र भारत निर्माण भएपछि दुई देशीय सम्बन्धका रुपमा विकास भएको हो । सन् १८१६ को सुगौली सन्धिले आधुनिक नेपालको प्रारम्भिक नक्सा कोरेको थियो । 

त्यसपछिको अवधिमा ब्रिटिस इण्डिया र स्वतन्त्र भारतसँग राज्यस्तरको सम्बन्धमा उतारचढाव आए पनि जनस्तरमा मैत्रीपूर्ण आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध कायम छ । धेरै नेपालीको जीविका भारतको रोजगारले धानेको छ भने भारतबाट रोजगारका लागि नेपाल आउने जनसंख्या पनि उल्लेख्य छ । नेपाल र भारत मात्रै नभई पाकिस्तान र बंगलादेशजस्ता अरु छिमेकी देशका पनि भुइँ तहका मानिसहरुका पीडा उस्तै छन् । गरिबी, अशिक्षा र रोगजस्ता साझा समस्याबाट दक्षिण एसियाका सबै देशका नागरिकहरु जुधिरहेका छन् । भ्रष्टाचार, कुशासन र असमानताको बढोत्तरी सबै देशका नागरिकहरुका साझा समस्या हुन् । 



सन् २००१ को भूकम्पपछि मैले यहाँको गृहराज्य गुजरातको भुजमा घाइतेहरुको सेवा गर्ने मौका पाएको थिएँ । त्यस्तै, सन् २०१३ मा उत्तराखण्डमा भीषण बाढी आउँदा केदारनाथमा फसेका तीर्थयात्रीको सेवा गर्ने मौका पनि मैले पाएको थिएँ । त्यस क्रममा मेरो आफ्नै ज्यान मुस्किलले बचेको थियो । जुनसुकै देश र राष्ट्रियताका मानिस भए पनि उनीहरुको पीडा एकै किसिमको हुन्छ र मानवीय सेवा गर्दा मिल्ने सन्तुष्टि पनि एउटै हुन्छ भन्ने मैले महसुस गरेको छु । 

अहिले म नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि सत्याग्रही अभियानमा छु । तर, यही बीच समाचार आएको छ कि भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको छ । यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु । 

कूटनीति र भूराजनीतिका जटिल सिद्धान्त र अभ्यासबारे म जानकार छैन । तर, सामान्य नागरिकको हैसियतले मैले जानेको यत्ति हो– जुनसुकै देशका नागरिकको पनि मर्यादा र आत्मसम्मान समान हुन्छ । 

नेपालमा भारतका अनेक सरोकार होलान् । खास गरी राष्ट्रिय सुरक्षाको संवेदनशीलताका कारण नेपालमा भारतको गहिरो चासो छ भनिन्छ । तर, नेपाल मजबुत र समृद्ध भए मात्रै भारतको राष्ट्रिय सुरक्षा सुनिश्चित हुन सक्छ । 

अन्तमा, भारत र नेपाल मिलेर लड्नुपर्ने लडाइँ धेरै छन् । विश्वका धेरै ठाउँमा उन्मूलनजस्तै भएका धेरै संक्रामक रोगहरुको ठूलो भार हामीकहाँ छ । अशिक्षित र निरक्षर मानिसहरुको ठूलो संख्या पनि यसै क्षेत्रमा छ । अपेक्षित गतिमा अर्थतन्त्र बिस्तार नहुँदा जीविकाको समस्या त झन् सबैभन्दा जटिल बन्दो छ । आज हजारौँ माइल टाढा मरुभूमिमा जोखिमपूर्ण काममा न्यूनतम ज्याला लिएर काम गरिरहेका कामदारमध्ये धेरै भारतीय र नेपाली छन् ।

त्यसैले, यस्ता साझा समस्यासित भारत र नेपाल मात्रै नभई सबै दक्षिण एसियाली देश मिलेर लड्नु जरुरी छ । त्यसका लागि नेपालसित हाल देखिएको सीमा समस्यालाई सरकारका विभिन्न स्तरमा हुने कूटनीतिक छलफलबाट समाधान गरी परस्पर विश्वास र मैत्रीको वातावरण कायम गर्न विशेष आग्रह गर्दछु । 


डा. गोविन्द केसी
डडेल्धुरा, नेपाल
१२ नोभेम्बर, २०१९

 

  • प्रकाशित मिति : कात्तिक २६, २०७६ मंगलबार १७:५२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया