हङकङमा सबै विद्यालय बन्द, आन्दोलन अझ उग्र बन्दै

एजेन्सी– हङकङमा जारी आन्दोलनले उग्र रुप लिँदै गएपछि त्यहाँको सरकारले सबै विद्यालय तथा शिक्षण संस्था बन्द गर्ने घोषणा गरेको छ । अहिले तत्कालका लागि यो बन्द बिहिबारका लागि मात्र भनिएको छ । तर, अन्तर्राष्ट्रिय सन्चारमाध्यमले यो लम्बिन सक्ने बताएका छन् । 

सुरक्षाको कारण देखाउँदै त्यहाँको शिक्षा विभागले शिक्षण संस्थाहरु बन्द गर्न विज्ञप्ति निकालेको हो ।

हङकङको चिनियाँ विश्वविद्यालयले पनि कक्षाहरु अहिले स्थगन गर्ने जनाएको छ । यो विश्वविद्यालय अगाडि नै प्रदर्शनकारी र प्रहरीबीच ठूलो झडप पनि भएको थियो । 

यो विश्वविद्यालय अगाडि भएको झडपमा प्रदर्शनकारीले पनि प्रहरीविरुद्ध पेट्रोल बम, आगो प्रहार गरेका थिए । 

त्यसपछि हङकङका अन्य क्षेत्रमा आन्दोलन फैलिएको थियो । त्यहाँका एक उच्च प्रहरी अधिकारीले त हङकङ पूरै भत्कन सक्ने चेतावनी समेत दिएका छन् ।

यसअघि प्रहरी क्याम्पस तथा विद्यालयहरुमा छिरेको कारण पनि हङकङमा जारी आन्दोलन थप चर्किएको थियो । त्यहाँ कम्तिमा पनि ७० जना घाइते भएको जनाइएको छ । मंगलबार यतामात्र हङकङमा १ सय ४२ जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । अहिलेसम्म आन्दोलन सुरु भएपछि प्रहरीले ४ हजारभन्दा धेरैलाई पक्राउ गरिसकेको छ । 



गत शुक्रबार एक २२ वर्षीय विद्यार्थीको प्रदर्शन गरिरहँदा प्रहरीको गोली लागि निधन भएपछि हङकङमा आन्दोलन थप आक्रामक हुँदै गएको छ ।

हङकङमा यो आन्दोलन सुरु भएको गत जुनमा हो । सबैभन्दा पहिले चीनसँग हुन लागेको सुपुर्दगी विधेयकका कारण यो आन्दोलन सुरु भएको थियो । यो विधेयक त्यहाँको संसदले गत सेप्टेम्बरमा नै फिर्ता लिइसकेको छ । तर, अब त्यहाँ प्रदर्शनकारीले नेतृ क्यारी लामको राजीनामा माग गर्दै आन्दोलन चर्काइरहेका छन् । 



  • प्रकाशित मिति : कात्तिक २८, २०७६ बिहीबार ३:०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया