नेपथ्यले अष्ट्रेलियामा सांगीतिक प्रस्तुति गर्ने

काठमाडौं– शृंखलाबद्ध प्रस्तुति लिएर लोकरक ब्यान्ड नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्ने भएको छ । केही वर्षयता अष्ट्रेलियामा लगातार शृंखलाबद्ध प्रस्तुति गर्दै आएको छ । 

सन् २००९ बाट सुरु भएको यस्तो यात्राको यो चौथो शृंखला हो । यसपटक नेपथ्यको भ्रमण टोलीमा ६ जना ब्यान्डका सदस्य हुनेछन् भने उत्तिकै संख्यामा प्राविधिक एवं व्यवस्थापन गरेर १२ सदस्यीय समूह रहनेछ । 

केही दशकयता अष्ट्रेलिया, नेपाली विद्यार्थीहरुको अध्ययन गर्ने मुख्य गन्तव्य रहिआएको छ भने, रोजगारी र बसोबासका हिसाबले पनि उल्लेख्य संख्यामा नेपालीहरु उता पुगेका छन् । नेपाली संगीतको स्वादलाई आफूसँगै बोकेर गएका तिनै नेपालीको चाहनालाई ध्यानमा राखेर नेपथ्यले पनि अष्ट्रेलिया यात्रालाई उच्च प्राथमिकता दिँदै आएको छ ।

यो वर्षको पहिलो नेपथ्य कन्सर्ट भने क्विन्सल्यान्ड राज्यको राजधानी ब्रिसबेनमा आयोजना हुनेछ । त्यहाँस्थित फोर्टिच्युड म्युजिक हलमा नोभेम्बर १९ तारिखका दिन नेपाली लोकरकको चिरपरिचित स्वर नेपथ्यले गुञ्जाउनेछ ।

ब्रिसबेनपछि नेपथ्यले उत्तरतर्फको डार्बिनमा नोभेम्बर २२ तारिखका दिन, एडिलेडमा डिसेम्बर ३, होबार्टमा डिसेम्बर ८ तारिख, सिड्नीमा डिसेम्बर १४ प्रस्तुति दिएपछि अन्तिम प्रस्तुतिका लागि मेलवर्न पुग्नेछ। यस यात्राको अन्तिम कार्यक्रम मेलबर्नमा डिसेम्बर २३ का दिन आयोजना हुनेछ । 

नेपथ्यको यस वर्षको यात्रा संयोजन ‘नेपाली टच’ले गर्न लागेको हो । आफ्नो प्रिय ब्यान्डले फेरि अष्ट्रेलियाको यात्रा गर्न थालेकोमा त्यहाँस्थित नेपालीहरु अत्यन्त खुसी रहेको ‘नेपाली टच’का दीपेश पुनले बताए । अष्ट्रेलिया स्थित नेपाली टचको संयोजनमा नेपथ्यको कार्यक्रमहरुको स्थानीय आयोजना ब्रिसवेनमा माउन्ट ८८४८ इभेन्ट, डार्विनमा गोर्खा पल्टन, एडिलेडमा गिरिश एन्ड ३ एनके इभेन्ट, होवार्टमा ताज इभेन्ट र मेलवर्नमा नेप्ले इभेन्टले गर्नेछ भने सिड्नीको आयोजना नेपाली टच आफैँले गर्नेछ । 



‘श्रोता–दर्शकहरुको अपार माया पाउँदै आएको अष्ट्रेलियामा यात्राको सबै तयारी सम्पन्न भएको छ,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘अस्ट्रेलियाका हरेक प्रस्तुतिलाई अविस्मरणीय बनाउने क्रममै पहिले कहिलै प्रस्तुत नगरेका केही गीत पनि यसपालाको अष्ट्रेलिया यात्रामा सुनाउने भएका छौँ ।’ आफ्नो घर परिवार र समाजभन्दा टाढा रहेका नेपालीहरुलाई स्वदेशको माया पस्कने जानकारी पनि अमृतले दिए ।

अमृतलाई यो यात्रामा पनि सधैँजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा नीरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउनेछन् । कार्यक्रमको निर्माण पक्ष नेपालयले जिम्मा लिनेछ । 



  • प्रकाशित मिति : कात्तिक २९, २०७६ शुक्रबार १८:५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया