म १५/१६ वर्षको हुँदाको कुरा हो । हाम्रो परिवार काठमाडौंको बाङ्गेमुढामा बसिरहेको थियो । त्यही क्षेत्रमा मेरा साथीहरु पनि भइसकेका थिए । तीमध्ये एक थिए– लक्ष्मण श्रेष्ठ ।
एक दिन लक्ष्मणले मलाई भने– तिमी मेरो घर आउ, एकजना मान्छे भेटाउँछु ।
म उनको घरमा पुगेँ । उनी बाहिर एकजना केटासँग बसिरहेका थिए, हाम्रै उमेरको । म पुग्नेवित्तिकै लक्ष्मणले ती युवालाई चिनाएँ– यो सानुबाबु हो ।
उनीहरु यत्तिकै घरबाहिर काठको मेचमा बसिरहेका थिए । त्यति बेला काठमाडौंमा चियाको चलन थिएन । म पुगेपछि कुराकानी सुरु भयो । सानुबाबु मभन्दा ३÷४ वर्ष कान्छा रहेछन् ।
त्यो पहिलो भेटमा नै मेरो र सानुबाबुको दोस्ती निकै जम्यो । हामीले त्यहाँ घन्टौँ बसेर कुराकानी गर्र्यौँ । केही गीतहरु गायौँ । मलाई अहिले पनि सम्झना छ, सानुबाबुले त्यो काठको मेचलाई तबला झैं बजाए । उनले त्यति बेला पनि राम्रो बजाएका थिए । मैले मनमनै सोचेको थिएँ– यो फुच्चेले त राम्रो पो बजाउँदो रहेछ ।
हामीले त्यहाँ हिन्दी क्लासिकल गीत गाएका थियौँ । त्यति बेला नेपाली गीतहरु खासै चलेका थिएनन्, हिन्दी गीतको चर्चा धेरै हुन्थ्यो । नेपालमा त त्यति बेला रकेर्डिङ स्टुडियो पनि थिएन ।
त्यही लक्ष्मणको घरमा भेटेको पहिलो दिनदेखि मेरो र सानुबाबुको दोस्ती राम्रो हुँदै गयो, हामी बारम्बार भेट्न थाल्यौँ ।
अनि बल्ल थाहा भयो– सानुबाबु त आफ्ना बाबु आशा गोपालको पछिपछि लागेर भजन मन्डलमा जाने रहेछन्, त्यहाँ नै उनले तबला बजाउन, गीत गाउन सिकेका रहेछन् ।
म, लक्ष्मण र सानुबाबुको यो भेटघाट जति बाक्लिँदै गयो, यसमा साथीहरु पनि थपिँदै गए । पछि रत्नमान, माणिकरत्न, योगेश प्रधानजस्ता संगीत प्रेमीहरु पनि हाम्रै समूहमा जोडिन आइपुग्नु भयो ।
हामीले धेरैजसो लक्ष्मणको घरमा नै भेट्थ्यौँ । लक्ष्मणको पसल थियो । त्यसैले उसँग अलिअलि पैसा कहिल्यै टुट्दैनथ्यो । उसँग पैसा हुने भएकाले हामीले त्यहाँ मन लागेका खानेकुरा खान पनि पाउँथ्यौँ ।
मैले त्यति बेला चिनेका सानुबाबु पछि नारायण गोपाल गुरुवाचार्य बने ।
नारायण गोपालको सानैदेखि खासै धेरै बोल्ने बानी थिएन । तर, उनी ठट्यौली पारामा बोल्थे, बोल्यो कि हसाइहाल्ने ।
हाम्रो भेट बाक्लिँदै गएपछि हामीले, २००९ सालतिर हुनुपर्छ, राममानको घरनजिकै एउटा कोठा भाडामा लियौँ । खासमा राममानहरुले एउटा सानो नवकलाकार परिवार सुरु गर्नु भएको थियो । हामी पनि त्यही समूहमा थियौँ । महिनाको एक दिन हामी त्यो समूहबाट तबला र हार्मोनियम बजाउँथ्यौँ । अहिलेजस्तो राम्रो आवाज आउने माइक त त्यति बेला थिएन, ब्याट्रीबाट चल्ने सानो माइक हामीले किनेका थियौँ । त्यति बेला यही नै रमाइलो लाग्थ्यो ।
हामीले त्यहाँ गाउँदा टोलका मानिसहरु जम्मा हुन्थे, रमाइलो हुन्थ्यो ।
हामी मात्रै हुँदा नारायण गोपालले अरुको नक्कल गरेर आवाज निकाल्थे । हिन्दी रेडियोमा बोल्ने मान्छेका आवाज उनी ठ्याक्कै नक्कल गर्थे ।
लक्ष्मणले चिनाइदिएर सुरु भएको मेरो र नारायणगोपालको दोस्ती निकै जम्न थालिसकेको थियो । हामी एकअर्काको घरमा पनि नियमित जान थालिसकेका थियौँ । उनका बुबाले मलाई निकै माया गर्नुहुन्थ्यो । नारायणगोपालका बाबु आयुर्वेदको ज्ञाता हुनुहुन्थ्यो । एकपटक त मेरो दुब्लो शरीर देखेर चिन्तित हुँदै उहाँले मलाई मोटाउन सहयोग गर्ने चूर्ण खान दिनु भएको थियो ।
पन्ध्र सालमा नेपालमा भएको चुनावमा चाहिँ म र नारायण गोपाल सिन्धुपाल्चोक पुगेका थियौँ । त्यो चुनावमा मेरो अंकल पनि उम्मेदवार हुनुहुन्थ्यो । एकदिन हामी यसै टहँलिँदा बुबाले भन्नु भएको थियो– तिमीहरु के यसरी गीत गाएर हल्लिएर बसेको, सिन्धुपाल्चोक गएर अंकललाई सहयोग गर्नु नि ।
मैले नारायण गोपालसँग सल्लाह गरेँ । हामीले यसबारे पहिले पनि कुरा गरिसकेका थियौँ । उसले पनि सहमती जनायो । हामी दुई चुनावमा अंकललाई सहयोग गर्न चौतारा गयौँ ।
चौतारा पुग्न भक्तपुरसम्म हामी ट्राममा गएका थियौँ । त्यहाँबाट चिसापानी हुँदै देउपुर पुगेका थियौँ । देउपुरमा उसले र मैले उखु खाएका थियौँ । इन्द्रावती खोला तर्न हामीले ढुङ्गालाई दस पैसा दिएका थियौँ ।
नारायण गोपालसँगको त्यो यात्रा म किन पनि सम्झिन्छु भने सिपामा पुगेर हामी दुईले पेटभर खाना खाएको जम्मा एक पैसा तिरेका थियौँ ।
चुनावका लागि म र नारायण गोपाल २० दिन खटिऔँ अनि काठमाडौं फर्कियौँ ।
हामी सानोमा खासमा धेरै गीत संगीतको कुरा गथ्र्यौँ । पढाइमा त्यति ध्यान दिएका थिएनौँ । मैले त आठ कक्षामा पुगेर मात्र कखरा सिकेँ । त्यति बेला विश्व निकेतन स्कुल भर्खर सुरु भएको थियो । अनि २०१० सालमा त मैले एसएलसी नै दिएँ । तर, म फेल भएँ ।
संस्कृतमा पास हुनका लागि १५ नम्बर चाहिन्थ्यो । तर, मेरो ८ नम्बर मात्र आयो । खासमा त्यो परीक्षाको अघिल्लो रात म सिंहदरबारमा एउटा कार्यक्रममा गएको थिएँ, रातभर त्यहाँ गीत सुनेर बसेँ । त्यसपछि त परीक्षामा फेल हुने नै भएँ नि !
त्यसपछि म एकजना मारवाडी सेठको संगतमा पुगेँ । ती सेठले एक दिन मलाई र मेरा दुई साथीलाई बम्बई घुम्न जाने हो भनेर सोधे । हामीले जाने भन्यौँ । रक्सौलबाट हामी रेल चढेर त्यति बेला दिल्ली पुग्यौँ । त्यहाँ केही दिन बसेपछि हामी बम्बई गयौँ ।
बम्बईमा दुई महिना बसेपछि मलाई नेपालको सम्झना आयो, आफ्नो चिन्ता लाग्न थाल्यो । अनि मैले सोचेँ, अब त नेपाल फर्किनु पर्छ । अनि म फर्किएर आएँ ।
त्यसपछि मैले ध्यान दिएर पढ्न थालेँ, गानाबजाना सबै बन्द गरेर । २०१३ सालमा पद्मोदयमा पढाइ सुरु गरेँ । त्यही वर्ष एसएलसी पास पनि गरेँ । त्यति बेला मेरो ४३० नम्बर आएको थियो, पूर्णाङ्क ४८० थियो ।
मसँगै स्कुलमा प्रकाशचन्द लोहनी, रुवी जोशीहरु पनि पढ्थे । प्रकाशचन्द त त्यति बेला कट्टु लगाएर स्कुल आउँथे । उनले जनै लगाउने भएकाले हामीले निकै जिस्क्याउँथ्यौ पनि । तर, उनले हामीसँगै उमेर नपुगेकाले एसएलसी दिन पाएनन्, पछि २०१६ सालमा उनी १६ वर्ष पुगे अनि एसएलसी दिए ।
म त एसएलसी पास भएँ, तर नारायण गोपालले त पढ्नै छोडिदिएछ । एक दिन पढाइको कुरा आयो, मैले उसलाई सोधेँ– किन नपढेको ?
‘पढेको त हो, पास भइएन,’ उसले भन्यो, ‘मलाई हिसाब झ्याउ लाग्छ ।’
त्यति बेला काठमाडौंमा चार वटा मात्र स्कुल थिए । जेपी स्कुल राम्रो मध्येमा पथ्र्यो । मैले नारायण गोपाललाई जेपीमा पढ्न भनेँ । तर, उसले फेरि भन्यो, ‘किताब भए पो पढ्नु !’
उसलाई मैले र राममानजीले किताब दियौँ । उसले हामीले भनेको मान्यो पनि । अनि २०१६ सालमा एसएलसी पास गर्यो ।
भन्न त मानिसहरु नारायणगोपाललाई मुडी थियो भन्छन् । तर, खासमा ऊ त्यस्तो थिएन । ऊ त कम बोलेर नै मान्छे हसाउन सक्थ्यो ।
नारायण गोपाल बिहेपछि पोखरा बस्न गएको थियो । तर, एक दिन उसले मलाई भन्यो– मलाई पोखरामा बस्न मन नै छैन, काठमाडौंमा जागिर खोजिदेउ न ।
मैले उसको कुरा नाचघरमा चलाएँ । उसलाई नाचघरले जागिर पनि दियो । पछि त नारायण गोपाल नाच घरमा नै जिएम समेत बन्यो ।
(फरक धारका सुरेन्द्र बजगाईंसँगकाे कुराकानीमा आधारित)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।