चितवन– क्यान्सर रोगको उपचार गर्न आउने जो कोहीले पालो नपाएर निजी अस्पताल धाउनु नपर्ने भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आजदेखि विस्तारित स्वास्थ्य सेवा सुरु गरेसँगै साँझको समयमा अस्पतालमा नै न्यून अतिरिक्त शुल्क तिरेर उपचार गर्न पाउने भएका छन् ।
अस्पतालको नियमति सेवामा बिरामीको चाप हुँदा पालो नपाएर बिरामीले चर्को शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य हुनु परेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यका अनुसार नियमित स्वास्थ्य परीक्षणका लागि बिहान ७ देखि दिउँसो २ः३० बजेसम्म बहिरंग टिकट काटिन्छ भने त्यसपछि तीन घण्टा विस्तारित स्वास्थ्य सेवाका लागि टिकट काटिनेछ । गर्मी महिनामा यो समय एक घण्टा थपिनेछ ।
विस्तारित सेवामा बहिरंग टिकट नेपाल सरकारले तोकेअनुसार केही थप लाग्नेछ भने रेडियोलोजी, प्याथोलोजी, शय्यालगायतमा थप शुल्क लाग्नेछैन । विस्तारित सेवामा शल्यक्रियामा नियमितभन्दा ५० र रेडियोथेरापीमा २५ प्रतिशत बढी शुल्क लाग्ने आचार्यले जानकारी दिए । उनका अनुसार अस्पतालको नियमित सेवामा सबैभन्दा महँगाे शल्यक्रियाको ३० हजार पर्ने गर्छ ।
सोही शल्यक्रिया विस्तारित सेवामा गर्दा रु ४५ हजार पर्छ भने बाहिर निजी अस्पतालमा गर्दा दुई लाखसम्म पर्ने गर्छ । शल्यक्रियापछि र अघि अस्पतालमा हुने अन्य केही सेवामा बाहेक अतिरिक्त शुल्क नहुने हुँदा बिरामीलाई बाहिरको तुलनामा निकै कम शुल्क लाग्ने आचार्यको भनाइ छ । बिरामीको चाप नियमति रूपमा धान्न नसकेपछि पालो कुर्न र निजीमा धाउनु नपरोस् भन्ने उद्देश्यले विस्तारित सेवा सुरु गरिएको हो ।
अस्पताल स्थापना हुँदा अस्पतालका चिकित्सक, कर्मचारीलाई आकर्षक सुविधा दिएर अस्पतालमा मात्र काम गर्नुपर्ने व्यवस्था गरिएको भए पनि यसलाई कार्यान्वयन गर्न सकिएको थिएन । आचार्यले यस सेवासँगै बिरामीले सुविधा र चिकित्सक कर्मचारीले अतिरिक्त पारिश्रमिक पाउने बताए ।
सबै विभाग नियमित सञ्चालनका लागि पालो मिलाइएको उनको भनाइ छ । अस्पतालले शिक्षण अस्पताल, सिभिल, गंगालाल र धरानको नमुनालाई हेरेर यहाँको व्यावहारिक अवस्थासमेतलाई मनन गर्दै नयाँ ढंगले विस्तारित सेवा सुरु गरेको हो ।
२०वर्षअघि चीन सरकारको सहयोगमा स्थापना भएको यस अस्पतालमा देशभरका र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने गर्छन् । गत आर्थिक वर्षमा अस्पतालबाट एक लाख ४२ हजार ३ सयजनाले सेवा लिएका छन् । तीमध्ये सात हजार ८९३ जनाको क्यान्सर पहिचान भई उपचार भइरहेको छ । यसअघि आर्थिक वर्ष २०७४–७५ मा एक लाख २१ हजार १३५, आर्थिक वर्ष ०७३–७४ मा एक लाख १३ हजार ७९९ र आर्थिक वर्ष २०७२–७३ मा एक लाख १२ हजार १७६ जनाले सेवा लिएका थिए ।
अस्पतालमा उपचार गराएकामध्ये आर्थिक वर्ष २०७४–७५ मा छ हजार २९६, आर्थिक वर्ष २०७३–०७४ मा चार हजार ५४८ र आर्थिक वर्ष २०७२–०७२ मा पाँच हजार चार जनामा क्यान्सर पहिचान भएको थियो । अस्पतालमा पछिल्ला वर्षमा सेवा विस्तारलाई तीव्र पारिएको छ । आचार्यका अनुसार एमआरआई, सिटिस्क्यान, मेमोग्राम, गामा क्यामेरा नियमित सञ्चालनमा ल्याइएको छ ।
रेडियोथेरापीको सेवालाई गुणात्मक र संख्यात्मक वृद्धि गरी अत्याधुनिकीकरण गरिएको उनले बताए । अस्पतालमा गत वर्ष ल्याइएको क्लिन्याक नाइन, अंकाेलोजी सिटी स्क्यान उपकरण र शरीरको भित्री भागमा भएको क्यान्सर रोगको उपचारमा प्रयोग हुने ब्राकी थेरापी उपकरणका कारण बिरामीलाई सेवा पुर्याउन सहज भएको छ । अस्पतालको प्याथोलोजी विभागमा नयाँ उपकरण थप गरी आधुनिकीकरण गरिएको छ । दुई–दुई घण्टामा बिरामीको रगत परीक्षणको नतिजा दिइने गरिएको छ ।
आकस्मिक कक्षमा छुट्टै प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । रक्त क्यान्सरका पीडित बिरामीलाई आधुनिकस्तरको सेवा दिन हेमाटो अंकाेलोजी विभाग सुुुरु गरिएको आचार्यले बताए । अस्पतालमा विभिन्न खालका क्याबिन सञ्चालनमा आएका छन् । अस्पतालमा सघन उपचार कक्ष सञ्चालनमा आइसकेको छ ।
अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरी निकै सस्तोमा औषधि वितरण गरेको छ । एक सय शय्याबाट सुरु भएको अस्पताल हाल ४ सय शय्या सञ्चालनमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।