प्रहरी लगनशील भए अनुसन्धानमा सफलता मिल्छ : आइजीपी खनाल

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी आफ्नो जिम्मेवारीमा लगनशील भएर कार्य गरेमा हरेक घटनाको अनुसन्धानमा प्रहरीलाई सफलता मिल्ने बताएका छन् । महानगरीय प्रहरी दिवस २०७६ का अवसरमा आइतबार राजधानीमा आयोजित समारोहमा उनले प्रहरी कर्मचारीले पूर्ण व्यावसायिकताका साथ जिम्मेवारी बहन गर्दै कार्यसम्पादन गरे नागरिकले सुरक्षाको पूर्ण अनुभूति प्राप्त गर्ने जिकिर गरे ।

प्रहरी कर्मचारीलाई इमान्दार, निष्पक्ष, निडर र निर्भीकताका साथ कानुन कार्यान्वयन गर्नेतर्फ अग्रसर हुन निर्देशन दिँदै उनले समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाई समाजलाई भयरहित बनाउनु प्रहरीको जिम्मेवारी भएको बताए । स्थानीय तह तथा समाजका सबै वर्गसँग सहकार्य गर्दै अगाडि बढ्न र आपराधिक गतिविधि नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमले महत्वपूर्ण योगदान पुगेको उनले बताए ।

समारोहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण सहयोगी र फलदायी रहेको समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीअन्तर्गत रही उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो । उक्त अवसरमा पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह राना, ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र नागरिक समाजका तर्फबाट प्रा‍.डा.वासुदेव त्रिपाठीले मन्तव्य व्यक्त गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर १, २०७६ आइतबार १८:१३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया