मनोरोग पछिल्ला वर्षहरुमा विश्वमा नै एउटा ठूलो समस्यामा रुपमा देखा पर्न थालेको छ । विश्वभर मनोरोगका परामर्शदाताहरुले विभिन्न कारणहरु पत्ता लगाए पनि यो गम्भीर समस्या भएको निक्र्योल निकालिसकेका छन् । र, यो वर्षेनी झन् धेरै मानिसहरुमा देखिँदै गएको छ ।
नेपालमा पनि पछिल्ला वर्षमा मनोरोगीको संख्या बढिरहेको छ । तर, समयमा नै राम्रो काउन्सिलिङ पाउने हो भने मनोरोगीहरुको समस्या हट्न सक्छ । नेपालमा मनोरोगीहरुको समस्या बुझ्दै त्यसलाई निराकरण लागिपरेका छन्, वासु आचार्य । पाँच वर्ष देखि मनोरोगीका समस्यालाई पन्छाउन काम गरिरहेका आचार्य यही सिलसिलामा नेपालका ७७ वटै जिल्लामा पनि पुगेका छन् ।
यसबीचमा आचार्यले केकस्ता मनोरोगीहरु भेटे त ? फरक धारका कमल विष्टले उनीसँग लामो कुराकानी गरेका छन् । त्यही कुराकानीबाट आचार्यले भेटेका नौ प्रकारका मनोरोगीः
यी झापाकी युवती हुन् । २४ वर्षकी युवती मकहाँ आउँदा अनौठो समस्या लिएर आएकी थिइन् । उनको समस्या थियो– पुरुषहरुप्रति सहजै आकर्षित हुने ।
उनी कोही नयाँ पुरुष देख्यो भने त्योसँग घुम्न पाए हुन्थ्यो, सम्पर्क राख्न पाए हुन्थ्यो भन्ने सोच्ने रहिछिन् । पुरुष देख्ने वित्तिकै आफूलाई सम्हाल्नै सक्दिनँ भन्दै उनी आइपुगेकी थिइन् । फेरि उनलाई यो अस्वभाविक हो भन्ने पनि थाहा थिएन । उनलाई त जो केटीलाई पनि यस्तै हुन्छ भन्ने लाग्दो रहेछ ।
उनले आफ्नो मनमा उत्पन्न हुने भावबारे साथी वा आफू वरपरका युवाहरुसँग सेयर पनि गरेकी रहिछिन् । उनको यही मनोरोगका कारण उनीमाथि विभन्न युवाले गलत फाइदा पनि उठाएछन् । यही कुरा एक दिन उनकी आमाले थाहा पाइछिन् । छोरीलाई सम्झाउने मात्र होइन, थप्पड नै पनि लगाइछिन् उनकी आमाले । तर, पनि उनको बानीमा कुनै परिवर्तन आएनछ । त्यसपछि उनकी आमालाई शंका लागेछ– कतै मेरी छोरी मनोरोगी त होइन ?
उनकै आमाले उनलाई काठमाडौंसम्म ल्याएकी थिइन् । त्यसपछि मैले उनलाई परामर्श दिएँ, केही समय त उनलाई सम्झाउन गाह्रो भएको थियो । तर, अब उनी विस्तारै ठिक हुँदै गइरहेकी छिन् ।
५० वर्ष आसपासका एक पुरुष केही दिनअघि मात्र हाम्रो अफिसमा आइपुगेका छन् । उनलाई खासमा छातीको समस्या रहेछ । चिकित्सककहाँ छाती जचाउन जाँदा उनलाई चिकित्सकले ६ महिनासम्म यौन सम्पर्क नगर्नू भन्ने सुझाव दिएका रहेछन् । त्यसैले उनको यो ह्याबिट विस्तारै कम हुँदै गएको रहेछ ।
डाक्टरले उनलाई जे सल्लाह दिएका थिए, यो कुराले उनले श्रीमतीलाई भनेका रहेनछन् ।
यहीबीचमा उनले श्रीमतीको मोबाइलमा उनी परपुरुषसँग च्याट गरेको थाहा पाएछन् । श्रीमतीको फेसबुकमा चियो चर्चा गर्दा उनले थाहा पाएछन्– उनका बाल्यकालका दुई साथीले आफ्नो लिङ्गको फोटो श्रीमतीलाई पठाएका छन् ।
श्रीमतीले पनि यसलाई इन्जोय गरेकी रहिछिन् ।
तर, श्रीमतीले यसबारे आफूलाई केही थाहा नभएको उत्तर दिइछिन् । च्याटमा चाहिँ उनले आफू श्रीमानबाट सन्तुष्ट नभएको बताउँदै आएकी रहिछिन् ।
यही चिन्ताले गर्दा ती पुरुषले आफूलाई दोषी देख्न मात्र होइन, निकै बेचैन हुन थालेका थिए । दैनिक आत्माग्लानी हुनेमात्र होइन, तनावका कारण उनी विस्तारै डिप्रेसनमा फँस्दै गएका रहेछन् । यो उमेरमा श्रीमतीले छोडेर जाली भन्ने चिन्ता उनीमा रहेछ । डिप्रेसनमा पुगेका उनी यहाँ आइपुगेका थिए । अब विस्तारै उनमा सुधार देखिन थालेको छ । यहाँ नआएको भए उनले यो पीरले सायद पहिले नै आत्महत्या गरिसकेका हुन्थे ।
यी त्यस्तै १५–१६ वर्षका युवाको कुरा हो । उनी अरुको थुक आफ्नो मुखमा पर्ला कि भन्ने डरले त्रसित भएका थिए । मास्क लगाउन नमिल्दा उनी हातले मुख छोपेर बस्दा रहेछन् । जहिले पनि कि मुख मास्कले छोप्ने वा हातले छोप्ने गरेकाले उनको विद्यालयका प्रिन्सिपल अचम्ममा परेछन् ।
अनि प्रिन्सिपलले उनलाई एक्लै बोलाएर आफ्नो कोठामा यसको कारणबारे सोधेछन् । ती युवाले जवाफ दिएछन्– मुख खुलै राखेँ भने बोल्दा अरुको थुक मुखमा पर्न सक्छ, त्यो जीवनभर मुखभित्रै रहने मात्र होइन, विर्यमा पनि पुग्छ, अनि मेरो सन्तान मेरा हुँदैनन्, जसको थुक मेरो मुखमा पर्छ, उसका हुनेछन् ।
उनको यो कुरा सुनेपछि ती प्रिन्सिपलले ती युवाका अभिभावक बोलाएर मकहाँ पठाएका रहेछन् ।
एक युवा मधेशबाट एसएलसी सकाएर उच्च शिक्षाका लागि काठमाडौं आएका थिए । विज्ञान विषय पढ्न थालेका उनी पढाइमा निकै राम्रा रहेछन् । तर, उनको बोलीमा मधेशी लवज आउने । यही लवजका कारण उनलाई कक्षामा साथीहरुले जिस्क्याउँदा रहेछन् ।
निकै पछिसम्म पनि साथीहरुले जिस्क्याउन थालेपछि उनी चिन्तित हुन थालेछन् । कतिसम्म भने यही कुरा सोच्दासोच्दा उनको पढाइ नै बिग्रिन थालेछ । घरमा पनि छोराको पढाइ बिग्रिएकोमा चिन्ता त भयो तर विस्तारै ठिक होला भन्ने सोचिएछ ।
उनले प्लस टु त जसोतसो पास गरेछन्, तर त्यसपछि उनले जे सोचेका थिए, त्यो हुन सकेन । उनी मेडिसिनमा लाग्न चाहन्थेँ तर त्यसमा नाम निकाल्न सकेनन् । बरु कलेजबाट पास आउट भएपछि उनलाई त्यही कुराको चिन्ता रहेछ । केही समयमा ठिक होला भन्ने सोचिए पनि ती युवालाई कलेजमा साथीहरुको जिस्क्याएको कुराले गहिरो डिप्रेसनमा पुर्याएछ ।
डिप्रेसनमा पुगिसकेपछि उनी यहाँ आएका थिए । उनमा प्रतिशोधको भावना निकै रहेछ । त्यही प्रतिशोधका कारण उनी अरु विषयमा केही कुरा गर्न नै नसक्ने रहेछन् । तर, अब विस्तारै उनी ठिक हुँदै गएका छन् ।
यो ३० वर्षे युवाको कुरा हो । पेशाले शिक्षक उनी कक्षामा राम्रो पढाउँदा रहेछन् । तर उनलाई बेलाबेलामा कक्षामा पढाउन डर लाग्दो रहेछ । खासमा उनको समस्या उनले अध्यापन गर्न थालेको केही पछि मात्र सुरु भएको रहेछ । तर, यो चिन्तामा उनमा निकै गहिरो रुपमा गडेछ ।
त्यसपछि त उनको आत्मविश्वसमा कमी आउन थाल्यो । सुरुसुरुमा उनलाई कक्षामा होपलेस हुन्छु कि भन्ने कुरा मनमा खेल्दो रहेछ । विस्तारै यही सोच हावी हुन थालेपछि उनी साँच्चिकै कक्षामा आत्तिन नै थालेछन् । पछि त उनले पढाउन नै नसक्ने भएछन् । उनी खासमा यही विचारका कारण निकै निरास भइसकेका थिए । अहिले उनी मनोपरामर्शकै क्रममा छन् र उनमा विस्तारै सुधार देखिँदै गएको पनि छ ।
२७ वर्षे यी युवा सानैदेखि कसैसँग नबोल्ने स्वभावका रहेछन् । अन्तर्मुखी प्रवृत्तिका उनलाई एक्लै बस्न मन पर्दो रहेछ ।
उनी त कलेज सकिँदा पनि साथीहरुसँग खासै घुलमिल नहुने खालका रहेछन् ।
घरमा उनको विवाहको कुरा चलेछ । उनले यो कुरा त पहिले अस्वीकार गरेछन्, तर परिवारले उनलाई मनाएछन् । दुवै परिवारले केटाकेटीलाई कुरा गर्न दिऔँ न त भनेपछि चाहिँ उनी समस्यामा परेछन् । दुई परिवारले केटाकेटी कुरा गर्नु भनेर छोडेपछि उनी निकै आत्तिएछन् । त्यहाँबाट कसरी हुन्छ भागौँ भन्ने भएछ ।
घरमा आएपछि उनले विवाह नगर्ने बताएछन् । परिवारले उनलाई विवाह गर्न दवाव दिइरह्यो । अन्तत उनले विवाह गर्ने भए । विवाह त गर्ने भए, तर उनले त्यति बेलासम्म केटीको अनुहार नै हेर्न सकेका रहेनछन् । कतिसम्म भने उनले विवाहको दिनमा पनि श्रीमतीको सिउँदोमा सिन्दुर हाल्न सकेनछन् । उनका हात काँपेछन्, शरीर पसिनामय भएछ, अनुहार डरले कालोनिलो भएछ ।
उनी त विवाहमा रमाउन सकेनन् ।
त्यो दिनपछि चाहिँ उनलाई झन् धेरै समस्य देखिन थालेछ । अरुको अगाडि गएर उनी बोल्न नै नसक्ने भएछन् । यो समस्या उत्कर्षमा पुगिसकेपछि उनी यहाँ आइपुगेका थिए, हामीकहाँ । अहिले उनमा केही सुधार देखिन थालेको छ ।
दुईतीन वर्ष अघिको कुरा हो । एक जना केटा म कहाँ आए, आफ्नो समस्या बोकेर । खासमा उनलाई एचआइभी हात मिलाउँदा पनि सर्छ, अरुको आँखामा सीधा हेर्दा पनि सर्छ भन्ने लाग्दो रहेछ ।त्यही सर्छ भनेर उनले घरबाट बाहिर निस्कन, अरुसँग भेटघाट गर्नै बन्द गरेछन् ।
कसैसँग कुरा गर्दा पनि कतै छोइएला भन्ने चिन्ता उनमा पलाउन थालेछ । उनको बानी व्यवहारमा धेरै नै परिवर्तन आएपछि घरका मान्छेहरु चिन्तित भए, अनि यहाँ लिएर आए ।
कुराकानी बुझ्दै जादा उनलाई एउटा घटनाले निकै तनाव दिएको रहेछ । उनी दुई कक्षामा पढ्दाखेरि उनको नजिकको एक जनाको एचआइभीका कारण मृत्यु भएको रहेछ । त्यति बेला उनलाई कसैले भनिदिएछ– एचआइभी त हात मिलाउँदा पनि सर्छ ।
त्यो कुरा सुनेपछि उनले अरुलाई छुन, अरुको सम्पर्कमा आउन विस्तारै छोडेका रहेछन् । अरुले दिएको खानेकुरा पनि खान छोडेका रहेछन् । उनलाई हामीले सम्झायौँ, फकायौँ । अनि मसँग हात मिलाएर उनी बाहिर निस्किए ।
तर, फेरि फर्किएर आइहाले । अनि रुँदै भने– एचआइभी त तपाईंलाई पनि हुन सक्छ ।
मैले आफूलाई एचआइभी नभएको बताएँ । तर, उनले विश्वासै गरेनन् । उनले कर गरेर मलाई अस्पताल नै पुर्याए । मैले एचआइभी टेस्ट नै गरिदिएँ । त्यसपछि बल्ल उनी विश्वस्त भए । उनलाई सम्झाउन र ठिक बनाउन मलाई निकै लामो समय लागेको थियो ।
केही दिनअघिको मात्र कुरा हो । एक युवालाई अर्को युवाले लिएर मकहाँ आइपुगे । उनीहरु साथी रहेछन् । जो बिरामी थिए, उनी चाहिँ आत्महत्या गर्ने मुडमा पुगेका रहेछन् ।
उनले साथीलाई भनेछन्– मलाई धेरै पीडा छ म मर्दैछु, तँसँग मात्र यो कुरा सेयर गरिरहेको छु ।
त्यसपछि उनले तत्काल आफ्नो साथीलाई मर्ने भए पनि आफूकहाँ आउन भनेछन् । जिद्दी गरेर बोलाएर त्यो मर्न खोजेको साथीलाई लिएर उनी यहाँ आइपुगे ।
कुरा बुझ्दै जाँदा के थाहा भयो उनलाई देशको अत्याधिक चिन्ता रहेछ । देशलाई कस्तो बनाउने, शहर कस्तो बनाउने, गाउँ कस्तो बनाउने भनेर उनले त ठेलीका ठेली योजना बनाएका पनि रहेछन् । उनले आफ्ना धेरै साथीलाई योजना सुनाएका पनि रहेछन् । तर, कसैले पनि उनको योजनामा साथ दिएनछन् । उल्टै उनलाई पागल भन्दै जिस्क्याएछन् ।
यही कुराले उनलाई निरुत्साहित बनाएको रहेछ । आफ्नो कुरा कसैले नसुनिदिएकाले धेरै पीडा भइरहेको रहेछ । यही कुराले फ्रस्टेसन भएका उनी त आत्महत्या गर्ने मुडमा पुगेका रहेछन् । समयमा नै उनका साथीले यहाँ ल्याएपछि उनलाई धेरै ठिक भयो । अहिले उनी आफ्नो व्यवसायमा आवद्ध छन् ।
३० वर्षका एक युवा गर्मीमा पनि छाती अरुले देख्लान् भनेर ज्याकेट लगाउने रहेछन् । विवाहित यी युवालाई के डर रहेछ भने आफ्नो छाती राम्रो छैन, आफ्नो छाती ठिक छैन ।
कसैले उनलाई हेरे छातीमा हेरेको छ भन्ने भान उनलाई हुँदो रहेछ । अनि यही सोचले उनको दैनिकी पूरै फेरिन थालेछ । खासमा यो सब हुनुको कारण उनी स्कुल पढ्दा एक साथीले उनलाई जिस्क्याएर भनेका रहेछन्– ओइ, ढिकुरे छाती भएको मान्छे !
मैले उनलाई निकै सम्झाएँ, उनको छाती ठिक छ भनेर । तर, उनी मान्न तयार भएनन् । उनले जति कुरा गरे पनि अन्तिमसम्म भने कि आफ्नो छाती ठिक छैन ।
उनलाई आश्वस्त पार्न मैले उनलाई अस्पतालमात्र होइन, प्रहरीको भर्नाका लागि छातीको नाप लिने ठाउँसम्म पुर्याएँ । अहिले उनी विस्तारै ठिक भइरहेका छन् ।
मनोराग जसलाई पनि हुनसक्छ । यसले उमेर, लिङ्ग, वर्ण, जात, समुदाय, धर्म, विवाहित, अविवाहित आदि इत्यादी केही पनि भन्दैन । मनोरोग भएका व्यक्तिले सुरुमा आफ्नो समस्या के हो भनेर बुझ्नुपर्छ । त्यसपछि त्यसलाई व्यवस्थापन गर्न तर्फ लाग्नु पर्छ । समस्याको पहिचान, सोच व्यवस्थापन र व्यवहारिक सरलता, यी तीन कुरा मनोरोगीले बुझ्नै पर्ने कुरा हुन् ।
मनोरोग भएको मान्छेले धेरै अवस्थामा आफ्नो समस्या आफैंले बुझ्न सक्दैन । उसलाई उसको घरपरिवार, साथीभाइको सहयोगको आवश्यता पर्छ । हामीले उनीहरुको समस्या बुझेर त्यसलाई निदान गर्न तर्फ उसलाई सहयोग गर्नु पर्छ । नेपाली समजमा बिस्तारै मनोरोग पनि एउटा समस्या हो, यसको उपचार हुन्छ भन्ने जनचेतना बढिरहेको छ । हामीले उनीहरुलाई निरुत्साहित गर्ने काम त गर्नै हुँदैन । हामीले के बुझ्नु पर्यो भने उनीहरुको रोग निको पार्न उनीहरुको भन्दा हाम्रो भुमिका धेरै हुन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।