निर्वाचन आचारसंहिताको पालना गर्न निर्वाचन आयोगकाे पुनः आह्वान

काठमाडौं– निर्वाचन आयोगले सरकार र  राजनीतिक दललाई  निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पुनः आह्वान गरेको छ ।  निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सञ्चारकर्मीसँग कुराकानीका क्रममा सरकार र राजनीतिक दलका प्रतिनिधिले आफैँले बनाएको हुनाले निर्वाचन आचारसंहिताको पूर्ण पालना हुन्छ भन्नेमा आफूहरुले विश्वास लिएको बताए । 

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा  सदस्य उपनिर्वाचनका उम्मेदवार कात्तिक २६ गते तथा स्थानीय तहका उम्मेदवार मंसिर २ गतेदेखि निर्वाचनको प्रचारप्रसारमा रहेका छन् । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित तुल्याउन आयोगले यसअघि नै सरकार र राजनीतिक दलका प्रतिनिधिलाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गराइसकेको छ । उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता कात्तिक ८ गतेबाटै लागू भएको छ ।

आयोगले २०७४ को अनुभवको आधारमा यसपटक जिल्ला न्यायाधीशको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी र सम्बन्धित जिल्लाबाट निर्वाचनमा भाग लिने राजनीतिक दल प्रमुख एवं प्रतिनिधि संलग्न रहने गरी जिल्लास्तरीय निर्वाचन आचारसंहिता अनुगमन समितिसम्बन्धी नयाँ व्यवस्था गरेको छ । 

जिल्लामा उक्त समिति क्रियाशील रहेको हुनाले विगतको जस्तो अहिले आयोगको केन्द्रीय कार्यालयमा हालसम्म कुनै उजुरी नभएको आयुक्त पौड्यालले जानकारी दिए । निर्वाचन आयुक्तको संयोजकत्वमा आचारसंहिता उल्लंघनका घटनाको अनुगमन गर्न केन्द्रमा पनि आचारसंहिता अनुगमन समिति रहेको छ । 

उक्त समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निर्वाचन आयोगका सचिव रहने व्यवस्था छ । उक्त समितिले दिएको सुझाबका आधारमा आयोगले आचारसंहिता उल्लंघनका घटनाको प्रकृति हेरी उम्मेदवारीदेखि खारेजसम्म गर्ने सक्नेछ ।  

यही मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य तीन पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ गरी ४८ पदका लागि २ सय ७३ जनाको उम्मेदवारी कायम भएको छ । 



प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुने निर्वाचनमा राजनीतिकले टेलिभिजन, रेडियो र एफएम रेडियोलगायत सञ्चारमाध्यमबाट निर्वाचनको प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा २४ घन्टामा बढीमा चारपटक तथा एकपटकमा बढीमा एक मिनेट प्रचारप्रसार गर्न पाउने व्यवस्था रहेको छ ।

मतदाता शिक्षा दिन खटिएका स्वयंसेवकसँग मतदाता परिचयपत्र, मतदान केन्द्रबारे आवश्यक जानकारी लिई आफूलाई मन परेको उम्मेदवारलाई कसरी अमूल्य मत प्रयोग गर्ने भन्ने कुरामा सचेत हुन पनि मतदातासँग आयोगले आग्रह गरेको छ ।



  • प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार १७:४९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया