कैलाश मानसरोवर जाने भारतीय पर्यटककाे शुल्कमा भारी वृद्धि, नेपाली व्यवसायी मर्कामा

काठमाडौं– चीनको तिब्बतस्थित कैलाश मानसरोवर जानका लागि भारतीय पर्यटकलाई रकम बढाएसँगै नेपाली पर्यटन व्यवसायी चिन्तित बनेका छन् । नेपालको हुम्ला–सिमिकोट र रसुवाको केरुङ र ल्हात्सा हुँदै कैलाशयात्राका लागि जाने भारतीय पर्यटकलाई चीनको फरेन एक्सचेन्ज सेन्टरले एक्कासि रकम बढाएपछि नेपाली व्यवसायी चिन्तित बनेका हुन् । 

उक्त सेन्टरले भारतीय पर्यटकलाई प्रतिव्यक्ति ७ सय ८० अमेरिकी डलर एकैपटक बढाएको छ । अन्य देशका पर्यटकका लागि भने रकम बढाइएको छैन । व्यवसायका लागि सुरुमा नै एक लाख अमेरिकी डलर धरौटी राख्नुपर्ने व्यवस्थासमेत गरेको छ । विदेशमा धरौटी राख्ने काम नेपालको कानुनले दिएको छैन । 

नेपालका पर्यटन व्यवसायीले हाल भारतीय पर्यटकलाई केरुङको बाटो हुँदै कैलाश पठाउँदा एक लाख ३० हजार भारतीय रुपैँया, ल्हात्साको बाटो हुँदै कैलाश पठाउँदा दुई लाख ३० हजार भारतीय रुपैँया र हुम्ला–सिमिकोट हुँदै कैलाश पठाउँदा एक लाख ७० हजार भारतीय रुपैँया लिँदै आएका थिए । 

चीनको फरएन एक्सचेन्ज सेन्टरले कैलाश जानका लागि रकम बढाएसँगै केरुङको बाटो हुँदै कैलाश पठाउँदा एक लाख ८५ हजार भारतीय रुपैँया, ल्हात्साको बाटो हुँदै कैलाश पठाउँदा तीन लाख १० हजार भारतीय रुपैँया र हुम्ला–सिमिकोट हुँदै कैलाश पठाउँदा दुई लाख ६० हजार भारतीय रुपैँया तिनुपर्ने भएपछि समस्यामा परेका हुन् । 

भारतबाट नेपाल हुँदै वार्षिक २० हजार पर्यटक कैलाश जाने गरेका छन् । नेपाली भने वर्षको एक हजार हाराहारीमा कैलाश मानसरोवर धार्मिक यात्रामा निस्कने गरेका छन् । कैलाशयात्राका लागि यात्रामा गएका पर्यटक आफू फर्कने समयभन्दा अगाडि फर्कन चाहेमा दिनको १०० अमेरिकी डलर र पठाउने कम्पनीले सानातिना कमजोरी गरेमा १० हजार अमेरिकी डलरसम्म सजाय दस्तुर तिनुपर्ने बाध्यकारी परिस्थिति बनाइएको छ । 





  • प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार १६:५३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया