Sun, 15 Dec, 2019


दुर्व्यसनीबाट निस्किएका उज्ज्वलको कथा
फरकधार / मंसिर ५, २०७६

एउटा समय थियो, धापाखेलका उज्ज्वलले आफ्नो संसार ‘अन्धकार’ बनाइसकेका थिए । तर अब फेरि उनी आफ्नो नामजस्तै उज्यालो संसारमा प्रवेश गरिसकेका छन् ।



तर, त्यो अँध्यारो अतित अहिले पनि उनको सम्झानामा ताजै छ ।

केही दिनअघि कोटेश्वरको एउटा कफी सपमा भेटिएका उज्ज्वल आफ्नो विगतमा फर्किए । उनी आफ्नो कथा यसकारण सुनाउन चाहन्छन् कि अब कुनै युवा दुव्र्यसनीको लतमा नफसुन् ।

जुन लतमा उज्ज्वल फसेका थिए, त्यो उनी ४ कक्षामा पढ्दाबाट सुरु भएको थियो । 

‘हो, चार कक्षामा पढ्दा मैले पहिलो पटक चुरोट खाएको थिएँ,’ उज्ज्वलले भने ‘साथीको घरमा एकपटक तानेको त्यो चुरोटको धुँवाले मलाई दुव्र्यसनीको भित्री तहसम्म पुर्याउला भन्ने त मैले त्यति बेला कल्पना पनि गरेको थिइनँ ।’ तर, उज्ज्वल कल्पना नगरेको त्यो ठाउँमा पुगे, जहाँबाट उनलाई निस्किन वर्षौ लाग्यो । 

‘म घरको एउटा छोरो थिएँ, बुवा संस्थानमा जागिरे हुनुहुन्थ्यो,’ उज्ज्वलले भने, ‘दुई दिदीहरु हुनुहुन्थ्यो, मलाई औधी माया गर्नुहुन्थ्यो । घरमा पैसाको कुनै दुःख थिएन ।’ त्यही पैसा पुग्ने भएकाले सानैदेखि उज्ज्वलले जे भन्थे, त्यो पुग्थ्यो । 

अनि बाबुको राम्रो जागिर भएकाले उज्ज्वल र उनका दुई दिदी काठमाडौंको महंगा स्कुलमध्ये एकमा पढिरहेका पनि थिए । 

उनको घरमा कसैले पनि चुरोट खाँदैनथ्यो, रक्सी खाँदैनथ्यो । 

उज्ज्वलका एकजना साथीको बुबा चाहिँ चुरोटका अम्मली थिए । ती साथीको घरमा बारम्बार गइरहन्थे उज्ज्वल । ‘एक दिन साथीको घरमा जाँदा मैले र उसले उसको बुबाको चुरोट चोरेर खाएका थियौँ,’ उज्ज्वलले त्यो दिन सम्झिए, ‘म त त्यस्तै ९–१० वर्षको थिएँ होला । हामीले चुरोट त खायौँ, तर त्यसले मुख निकै गनाउला भन्ने डर भयो । घर जानुभन्दा अगाडि मैले गोबरले दाँत माझेको जस्तो गरेको थिएँ ।’

त्यसपछि उनी विस्तारै चुरोट खाने कुरासँग अभ्यस्त हुन थाले । उनी ६ कक्षामा पढ्दा उनको स्कुलले दक्षिणकाली स्कुलमा पिकनिक लैजाने भयो । त्यो पिकनिकमा उनले पहिलो पटक दाइ साथीहरुको संगतमा गाँजा ताने । ‘त्यसपछि मेरो गाँजा खाने र चुरोट तान्ने साथीहरु बढ्दै गए,’ उनले भने, ‘उनीहरुको समूहमा हुँदा आफूले गाँजा खाइएन भने अड भइन्थ्यो ।’

यही क्रम चल्दै गयो । नौ कक्षामा पुग्दा त उज्ज्वल ट्याब्लेट खाने भइसकेका थिए । 

त्यही नौ कक्षामा उज्ज्वलको पढाइ पनि बिग्रियो । यसअघि उनको पढाइ राम्रै थियो, उनी राम्रो नम्बर ल्याएर पास गरिरहेका हुन्थे । तर, नौ कक्षाको दोस्रो त्रैमासिक परीक्षामा उज्ज्वलको अंग्रेजीबाहेक अरु सबै विषयमा अत्यन्त कम नम्बर आयो । 

तर, यो कुरा उज्ज्वलले घरमा बताउन चाहेनन् । उनका बाबुलाई उनले भने, ‘साइन्समा राम्रो आएन, अरु सबै सब्जेक्टमा राम्रो भएको छ ।’ उनलाई लागेको थियो, बाबुले यस विषयमा स्कुलमा शिक्षकहरुसँग सोध्दैनन् । तर, भोलिपल्टै स्कुलका प्रिन्सिपलले उज्ज्वलका बाबुलाई भनिदिएछन्– छोरोको पढाइ त बिग्रियो त, एउटा विषयमा मात्र पास भएको छ ।

त्यो साँझ उज्ज्वले बाबुको पिटाइ भेटे । ‘मेरो मुखबाट रगत ह्वालह्वाल आएको थियो,’ उज्ज्वलले त्यो दिन सम्झिए, ‘मैले बुबाको मोबाइल नै फुटाइदिएको थिएँ । ममी र दिदीहरुले मलाई पिट्नबाट बचाउन खोज्नु भएको थियो । तर, भोलिपल्ट विहान मेरो अनुहार पुरै सुनिएको थियो ।’

त्यही बाबुको पिटाइ खाएको झोँकमा उज्ज्वल भोलिपल्ट घरबाट भागे, एक हजार चोरेर । ‘त्यो पैसाले मैले दुई थोक किनेँ– प्रोक्सिभन ट्याबलेट र गाँजा,’ उनले सम्झिए । त्यसपछिको एक साता उज्ज्वल कहाँ गए भन्ने उनी आफैंलाई थाहा भएन । 

उनी एक सातापछि घर फर्किए तर एक वर्षसम्म बाबुसँग एक शब्द पनि बोलेनन् । बाबुले पनि उनलाई कहिल्यै केही भनेनन् ।

तर, उज्ज्वलको बानी व्यहोरामा परिवर्तन आउन थालिसकेको थियो । उनी विस्तारै नराम्रा कामहरुमा अग्रसर हुन थाले । ‘चोकचोकमा अरु केटाहरुसँग झगडा पर्न थाल्यो,’ उनले सम्झिए, ‘विद्यालय पछाडि एउटा ठूलो चौर थियो । म त्यहाँ साथीहरुसँग बसेर गोटी खान्थेँ, गाँजा खान्थेँ ।’

एकदिन त्यही चौरमा उनले गाँजा खाइरहेको एक जना छिमेकीले देखे । ती छिमेकीले घरमा गएर कुरा लगाइदिए । त्यो साँझ नै उज्ज्वलले बाबुआमाको चर्को गाली खाए ।

‘बुबाममीले गाली गर्दा मैले मुखमुखै जवाफ फर्काएँ– जसको कुरा पत्याउने हो, उसैलाई छोरा मान्नु,’ उज्ज्वल अहिले पनि त्यो दिन सम्झिँदा भावुक हुन्छन्, ‘म त्यही दिन त्यहाँबाट निस्किए बाहिर गएँ, साथीहरुकोमा गएर दुई चार दिन बसेँ ।’

उनी खासमा नौ कक्षादेखि नै ट्युसनका लागि जोइन भएका थिए । तर, उनले विहानी ट्युसन कहिल्यै पनि एटेन्ड गरेनन् । ‘विहान घरबाट निस्किएपछि ट्याब्लेट खाइहाल्थेँ,’ उनले सम्झिए, ‘अनि कतै साथीहरुसँग गएर गाँजा खान्थेँ । पढ्नुपर्छ भन्ने सोच त्यति बेलासम्म मैले छोडिसकेको थिएँ ।’

यो सब हुनुमा उनी आफूलाई नै दोषी देख्थे । उनी भन्छन्, ‘हो, साथीहरुले गर्दा कहिलेकांही अलिक बढी खाएँ होला, साथीहरुसँग लागेर त्यो खान पाउने ठाउँसम्म पुगेँ होला तर खाएको त म आफैंले हो नि ।’ उनलाई यसमा कसैले पनि प्रोत्साहन गरेका थिएनन् । ‘नाइट्रोसन नामको ट्याब्लेट खाएको थिएँ मैले,’ उनले भने, ‘एउटा फाइललाई ४० रुपैयाँमात्र पथ्र्यो, एक फाइलले सुरुमा मलाई चार दिन पुगेको थियो ।’

उज्ज्वल जतिबेला फाइल तान्थे, नयाँ संसारमा पुगिसकेका हुन्थे । उनलाई कहिल्यै पनि पीडा महसुस हुँदैनथ्यो, सधैं झ्याप हुँदा उनी खुसी भइरहन्थेँ । ‘आकाशमा उँडिरहेको छु जस्तो लाग्थ्यो,’ उज्ज्वल अहिले सम्झिन्छन्, ‘नाईट्रोभ्याट, कोरेक्स डबल गार्डेन, फेन्सिडाइल, एम्पल, प्रोक्सिभन, ट्रमाडोल, ओपडोल र क्रोन्याजलगायतका ट्याब्लेट मैले खाएको थिएँ, त्यसले मलाई निकै आनन्द दिएजस्तो लाग्थ्यो ।’

यो दुव्र्यसनीको लतमा परे पनि उज्ज्वलले एसएलसीमा चाहिँ राम्रो नै गरे । उनको राम्रो अंक आएपछि घरमा उनलाई विज्ञान पढ्न दबाब दिइयो । उनले विज्ञान पढ्ने भए । 

तर, ११ कक्षामा पढ्दासम्म त उनको दुव्र्यसनी निकै माथिल्लो तहमा पुगिसकेको थियो । उनी विहान कलेजका लागि घरबाट निस्किन्थे तर कलेज पुग्ने वा नपुग्ने भन्ने टुङ्गो नै हुँदैनथ्यो । 

‘कहिलेकांही त म केही दिन हराउन पनि सक्थेँ,’ उनले भने, ‘हप्तौँसम्म म लागूऔषध प्रयोग गर्ने अखडामा नै बसिरहेको पनि हुन्थेँ ।’

घरबाट उनी हराउँदा चासो नदिइने होइन । तर, उनले दिदी र आमाबाबुलाई सधैं भुट बोल्थे– म साथीकोमा छु, एक्जामको तयारी गरिरहेको छु । 

अब विस्तारै उज्ज्वलको संगत लागूऔषध कारोबारीहरुसँग पनि हुन थाल्यो । आफूले सस्तो मूल्यमा लागूऔषध पाउने लोभमा उनले पनि लागूऔषधको ओसारपसार गर्न थाले । घरबाट कलेज आउन जान दिइएको पैसा उनले सबै ड्रग्स किन्न खर्च गर्न थाले । 

‘ब्राउनसुगर, चरेस, हिरोइन,’ उज्ज्वलले भने, ‘दिदीहरु स्टाफ नर्स भएकाले कहिलेकांही उनीहरुको झोलामा सिरिन्ज हुन्थ्यो, त्यो चोरेर म प्रयोग गरिदिन्थेँ ।’

तर, उनले आफ्नो अध्ययनलाई पनि अगाडि बढाइरहेका थिए । प्लस टुमा पनि उनले प्रथम श्रेणीमा नै परीक्षा पास गरे । त्यसपछि उनी नेपाली सेनामा भर्ना हुन चाहे । ‘तर, त्यहाँ मलाई अन्तर्वार्तामा घुस मागियो,’ उनले भने, ‘त्यति बेला मैले गाँजा खान छोडिसकेको थिएँ, गोटी पनि खान छोडेको थिएँ । तर, आर्मीमा जान नपाउने भएपछि फेरि सुरु गरेँ ।’

छोरोले प्लस टुमा पनि राम्रै नम्बर ल्याएकाले बाबुआमाले उनलाई इन्जिनियरिङ पढाउने भए । खासमा उज्ज्वललाई पढ्न मन थिएन । तर, बाबुआमाको करबलको पछाडि उनको केही लागेन । 

विस्तारै घरमा छोरो खराब काममा लागिरहेको छ भन्ने थाहा भयो । गाँजा र चरेस ओसारपसार गर्ने गिरोह पक्राउ पर्दा उनी पनि पक्राउ परे । पाटन प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनलाई बाबु लिन गए र घर फर्काए । 

तर, त्यो दिन पक्राउ परे पनि उनको बानीमा सुधार आएन । बरु उनी दैनिक घरमा झगडा गर्थे । घरको झ्याल फुटाउँथे । मोबाइल फुटाउँथे ।

‘घरमा सबजना मेरो व्यवहार हेरेर रुनुहुन्थ्यो,’ उनले भने, ‘तर, मलाई यो सब कुराको वास्ता थिएन, म ड्रग्स लिन बोर्डरसम्म पुग्थेँ ।’

एक दिन उनको घरमा केही केटाहरु आए, खुकुरी लिएर, उज्ज्वललाई काट्छु भन्दै । 

त्यसपछि उनका बाबुआमाले उनलाई घरबाट बाहिर निस्कन नै दिएनन् । माथि कोठाको झ्यालबाट उज्ज्वलले बाहिर हेरे । उनले देखे, उनलाई बचाउन त्यहाँ उनका साथीभाइ होइन, घरका परिवारका सदस्य मात्रै थिए । 

‘त्यही कुराले ममा एउटा भावना परिवर्तन गरिदियो,’ उज्ज्वलले आफ्नो आँखालाई चिम्लिए, अनि खोले र भने, ‘मलाई त्यो दिनअघि गोटी दिने मान्छे मात्र आफ्नो मान्छे लाग्थ्यो, घरका कोही पनि आफ्नो लाग्दैनथे । तर, खासमा त्यस्तो होइन रहेछ । त्यो दिन त्यहाँ मलाई बचाउन कोही साथीभाइ आएका थिएनन्, घरका मानिसहरु मात्र थिए ।’

अब उनलाई घरबाट बाहिर निस्किन दिनै छाडे, परिवारले । तर, विस्तारै आफ्नो स्मरण शक्ति गुमाउँदै गएको आभास गर्न थाले, उज्ज्वलले । ‘ती छ वर्ष मैले लागूऔषध लिँदाका दिन पूरै बिर्सिएको छु अहिले,’ उनले भने, ‘पढ्न पनि सकिरहेको थिइनँ ।’

इन्जिनियरिङ पहिलो वर्षको अध्ययन सकेपछि उज्ज्वल दोस्रो वर्षका लागि भर्ना भए । त्यही वर्ष उनका एक जना साथीले विवाह गरे । 

‘त्यो साथीको विवाहमा जाँदा मैले विहानैदेखि ट्याबलेट खाएको थिएँ,’ उनले भने, ‘त्यो विवाह कसरी बित्यो भन्ने मैले थाहा नै पाइनँ ।’

त्यो साथीको विवाहमा उनले मदिरा पनि सेवन गरेका थिए । ‘म साथीको घरमा गएको थिएँ, उसको विवाहका लागि,’ उनले भने, ‘तर, मलाई के भयो कहाँ गएँ केही थाहा भएन । होसमा आउँदा मेरो पर्स, घाँटीको सिक्री केही पनि थिएन । बरु सबै कपडा वान्ताले भिजेको थियो ।’ यस्तो हालतमा उनी साथीको घरमा ब्यूँझिएका थिए ।

‘त्यो दिन मैले आफैंलाई धिक्कार गरेँ,’ उनले भने । 

उता, घरमा पनि उज्ज्वलका दिदी भिनाजु र बाबुआमा उनलाई अब सुधार गृहमा राख्नेबारे सल्लाह गरिरहेका थिए । 

‘तर, मलाई सुधार गृहमा जान मनै थिएन,’ उज्ज्वलले भने, ‘मैले पहिले नै सुधार गृह कस्तो हुन्छ भन्ने थाहा पाइसकेको थिएँ ।’

त्यसैले उज्ज्वलले प्रण गरे– उनी अब सुध्रिन्छन्, घरमै । 

त्यसपछि उज्ज्वलले आफूलाई घरमै थुने । कोठाबाट बाहिर निकाल्नै चाहेननन्, मोबाइल स्विच अफ गरे, कोही साथीहरुसँग पनि सम्पर्कमा रहेनन्, घरको गेटबाट बाहिर नै निस्किएनन् । 

‘त्यति बेला मलाई निकै गाह्रो हुन्थ्यो,’ उज्ज्वलले भने, ‘मुटु दुख्थ्यो, शरीर मरिसकेको छ जस्तो आभास हुन्थ्यो । म भित्तोमा टाउको ठोकाएर रुन्थेँ ।’

एक महिना उनी घरको कोठाबाट बाहिर निस्किँदै निस्किएनन् । घाममा पनि पुगेनन् । त्यसपछि विस्तारै शरीरमा नयाँ जोश आइरहेको अनुभूत उनले गर्न थाले । 

तर, दोस्रो वर्षको परीक्षा आइसकेको थियो । उनी परीक्षा जान घरबाट निस्कन नै पर्ने भयो । 

उनले मनबाट अठोट गरिसकेका थिए । त्यसैले उनी घरबाट निस्किएर परीक्षा दिन गए पनि ड्रग्सको संगत नजिक पुग्दै पुगेनन्, त्यतातिर सोच्न नै छाडिदिए ।

अब त उज्ज्वल पूर्ण रुपमा दुव्र्यसनीबाट बाहिर निस्किइसकेका छन् । उनको इन्जिनियरिङको पढाइ पनि सकिएको छ । 

‘म त्यो कालो विगत बिर्सन चाहन्छु,’ उनले भने, ‘अगाडि उज्यालो देखिरहेको छु ।’

अनि आजभोलि ती दिनबारे कहिलेकांही डायरीमा टिपोट गर्न पर्यो भने उज्ज्वल अन्त्यमा लेख्छन्– से नो टु ड्रग्स ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्