समाजवादी पार्टीले सरकार छाड्ने, राजपासँग एकता गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा पुनर्गठन गर्दा आफूखुसी मन्त्रालय हेरफेर गरेको भन्दै समाजवादी पार्टीमा असन्तुष्टि बढेको छ । यो सँगै पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार छाड्ने निर्णय गरेका छन् । 

अहिले यादव नयाँ दिल्लीमा छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयबाट हटाएर कानुन मन्त्रालयमा पुर्याएका थिए । ‘यस विषयमा हाम्रो पार्टीसँग कुनै छलफल भएको थिएन,’ समाजवादी पार्टीका महासचिव रामसहाय यादवले भनेका छन्, ‘यसले सरकारलाई समर्थन गरिरहन नैतिक संकट भएको छ ।’

यादवको जिम्मेवारी हेरफेर मात्र होइन, प्रधानमन्त्री ओलीले पार्टीका स्वास्थ्य राज्यमन्त्री समेत रहेका नेता सुरेन्द्र यादवलाई पदबाट मुक्त पनि गरेका छन् । यादव अहिले उपचारका क्रममा वीर अस्पतालमा भर्ना भएका छन् । 

‘अस्पतालमा भर्ना भएर उपचार गराइरहेका नेतालाई यत्तिकै पदबाट हटाइएको छ,’ समाजवादी पार्टीकै एक नेताले फरक धारसँगको कुराकानीमा भने, ‘यो ओलीको अधिनायकवादी कदम हो, सरकारमा सँगै रहेका पार्टीका नेताहरुसँग छलफल नगरी नेपाल कम्युनिस्ट पार्टीले आफू खुसी जे मन लाग्यो त्यही गरेको छ । यसले गर्दा पनि हामी यही सरकारमा रहिरहनु पर्छ भन्ने छैन ।’

केही अघि समाजवादी पार्टीका अध्यक्ष यादव र बाबुराम भट्राईबीच सरकारमा बसिरहने वा सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्ने विषयमा छलफल भएको थियो । तत्काल सरकार नफेर्ने निर्णय भएपछि ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा यादवलाई कानुनमा लगेका हुन् । 

यादव अहिले दिल्लीमा भएको र उनी शुक्रबार नेपाल फर्किएपछि पार्टीले आधिकारिक धारणा बाहिर ल्याउने समाजवादी पार्टीका नेताहरुले बताउँदै आएका छन् ।



 

उपसभामुखलाई कानुनमन्त्री बनाउने तयारी



अर्कोतिर, तत्काल उपेन्द्र यादवले सरकारबाट फिर्ता हुने निर्णय गरेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो योजना लागु गर्न सहज हुने नेकपाका नेताहरु बताउँछन् । 

‘उपेन्द्र यादवले सरकार छोड्न सक्ने अनुमान यसअघि पनि भएको हो,’ नेकपाका ती नेताले भने, ‘उनलाई अहिले कानुनमा ल्याउँदा र उनले सरकारबाट अब समर्थन फिर्ता लिने बताउँदा भोलिका लागि नेकपालाई नै सहज हुने देखिएको छ ।’

केही समयमा नै नयाँ सभामुख निर्वाचन गर्नु पर्ने र त्यसका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउने नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सल्लाह भइसकेको छ । त्यहीअनुसार शिवमायालाई ओलीले तत्काल मन्त्री बनाउने आश्वासन दिएका छन् । तर, बुधबार शिवमायाले आफू तत्काल मन्त्री बन्न नचाहेको बताएकी थिइन् । 

‘पार्टीले चाहँदा शिवमायाले उपसभामुखबाट राजीनामा दिन्नँ भन्न नै मिल्दैन,’ ती नेताले भने, ‘उनलाई बरु अहिले तत्काल व्यवस्थापनका लागि कानुन मन्त्रालयको जिम्मेवारी दिन सकिन्छ ।’

 

समाजवादी राजपासँग एकता गर्न अगाडि बढ्ने

अर्कोतिर प्रधानमन्त्री ओलीले आफूहरुलाई अन्याय गरेको निक्र्योल निकालेको समाजवादी पार्टीले सरकारबाट बाहिरिने निश्चित भइसकेपछि अब राजपासँग एकता प्रक्रियालाई अगाडि बढाउने तयारी गरेको छ । यसअघि राजपाले समाजवादी पार्टीलाई बटम लाइन दिएको थियो– सरकार छाडे मात्र एकता हुनसक्छ । अब याे एकताका लागि बाटाे खुलेकाे समाजवादी पार्टीका एक नेताले फरक धारसँग बताएका छन् । 

  • प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार १६:४७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया