ओखलढुंगा– आफ्नी पत्नीसँग अनैतिक सम्बध राखेको आरोपमा एक व्यक्तिकाे हत्या गरेकाे अभियाेग लागेका भालुवाङ दाङका ३७ वर्षीय सञ्जीतकुमार थापालाई जिल्ला अदालत ओखलढुंगाले जन्मकैदको फैसला सुनाएको छ । उनीमाथि ओखलढुंगा मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्या गरेकाे अभियाेग थियाे ।
बिहीबार जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले दाङको भालुवाङका ३७ वर्षीय सञ्जीतकुमार थापाले कार्कीको हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । अदालतका स्रेस्तेदार नेत्रबन्धु पौड्यालले साे जानकारी दिएका हुन् ।
दुबई प्रहरीमा कार्यरत थापाले आफ्नी पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै ०७५ साल भदौ ५ गते अपराह्न ४ बजे मोलुङ गाउँपालिका–३ स्थित कार्कीकै घरमा गएर खुकुरी प्रहार गरी उनलाई हत्या गरेका थिए ।
कार्कीको खुकुरी प्रहारबाट शरीरभरि चोट लागेको र अत्यधिक रगत बगेको अवस्थामा घरभित्रै शव फेला परेको थियो । हत्या गरेर भागेका आरोपितलाई प्रहरीले ०७५ साल भदौ १२ गते निजकै घरछेउ दाङको भालुवाङबाट पक्राउ गरेको थियो । भदौ १३ गते ओखलढुंगा प्रहरीले बुझेर १४ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।
प्रहरीले क्रूर अमानवीय तवरले यातना दिएर हत्या गरेको कसुरमा उनलाई आजीवन कारावासको सजाय माग दाबी गरे पनि क्रूर तरिकाले यातना दिएर हत्या नगरेको, आरोपितले अभियोग स्वीकार गरेको देखिएकाले जन्मकैद (२५ वर्ष) कर्तव्य ज्यानमा कसुर ठहर भई सजाय तोकिएको अदालतले जनाएको छ ।
अनुसन्धानका क्रममा थापाले अभियोग स्वीकार गर्दै आवेशमा हत्या गरेको बयान दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।