खर्पनकाे कथा
खर्पनको कथा

सहरमा अब सामाग्री ढुवानीका लागि विभिन्न साधन आइपुगेका छन् । सानादेखि ठूला सवारी साधनले ठूला औजारदेखि कृषि उत्पादनसमेत बोकेर एक ठाउँबाट अर्को ठाउँमा पुर्याइरहेका हुन्छन् । 

अर्कोतिर काठमाडौं, भक्तपुर तथा ललितपुरमा नेवार समुदाय भने खर्पनलाई अहिले पनि प्रचलनमा ल्याइरहेको छ ।

भक्तपुरका ४६ वर्षका अष्टमान छूँले पनि खर्पनमा बारीबाट अहिले पनि साग बोकिरहेका हुन्छन् । उनीसँग आफ्नै मोटरसाइकल छ । कहिलेकांही मोटरसाइकलले उनको खर्पनलाई विस्थापित गर्छ तर अधिकांश समय अहिले पनि अष्टमान खर्पनमा नै तरकारी ओसारपसार गर्छन् । 

‘म सानै हुँदादेखि हाम्रो घरमा खर्पन थियो,’ अष्टमानले भने, ‘त्यति बेला त गाडी थिएन, खेतको तरकारी खोलामा पुर्याएर धुने र त्यहाँबाट बजारसम्म पुर्याउन खर्पन नै प्रयोग हुन्थ्यो ।’

हुन पनि जति बेला पहिलो पटक अष्टमानले खर्पन प्रयोग गरेको देखे, त्यति बेला भक्तपुरका गल्लीहरुमा गाडी जानै सक्दैनथे । त्यहाँबाट सामान ओसारपसार गर्न खर्पन नै प्रयोगमा आउँथ्यो । 

‘हाम्रो बाजेहरुको पालामा प्लास्टिकको बोरा पनि आएकै थिएन,’ अष्टमानले भने, ‘त्यसैले उहाँहरुको पालामा त खर्पन नै तरकारी बोक्न प्रयोग हुन्थ्यो नि ।’



भक्तपुरमा एउटा टोलबाट अर्को टोलसम्म मात्र होइन, भक्तपुरदेखि काठमाडौंको असन चोकसम्म पनि अष्टमानका बाजेहरुले तरकारीमात्र होइन, माटोको भाँडा, दही तथा अन्य उत्पादनहरु खर्पनमा नै बोकेर पुर्याउँथे । ‘अब अहिले त यस्तो सम्भव हुने नै भएन, गाडी छन्, त्यसमा नै सजिलो भइहाल्छ नि,’ अष्टमानले भने ।

अहिले गाडीमा एकै पटकमा धेरै सामानहरु त आउँछन्, तर खर्पनमा पनि कम सामान बोकिन्छ भन्ने चाहिँ हुँदैनथ्यो । ‘बलियो मान्छेले त ७० किलोसम्म बोक्न सक्छ नि,’ अष्टमानले भने, ‘दुई वटा टोकरीमा सामान बराबर भयो भने बोक्न सजिलो नै हुन्छ ।’



यसलाई कतिपय मानिसहरु जीवनको दर्शन मान्छन् । अष्टमान स्वयंलाई पनि यो आफ्नो जीवनको दर्शन लाग्छ । ‘सन्तुलन त मिल्नुपर्छ नि,’ उनले हाँस्दै भने, ‘खर्पनमा पनि र जीवनमा पनि ।’

अष्टमानले सानैदेखि बोक्न थालेको खर्पनमा पहिले त फलाम प्रयोग नै हुँदैनथ्यो । पछिल्लो समय चाहिँ लामो समयसम्म टिकोस भन्नका लागि खर्पनमा फलाम प्रयोग गर्न थालिएको छ । ‘पहिले त बाँसमात्र हुन्थ्यो,’ उनले भने, ‘बाँसका टोकरी अरुले बुनिदिन्थे, हामीले ल्याएर प्रयोग गर्ने गथ्र्यौँ ।’

अहिले फलाम प्रयोग गर्न थालेपछि एउटा खर्पनको आयु कम्तिमा पनि चार वर्षले बढ्न थालेको छ । ‘बाँसको मात्र खर्पन बनाउँदा पनि ८ वर्षसम्म एउटै खर्पन बोकेको थिएँ मैले,’ उनले भने, ‘अहिले फलामको बोक्दा चाहिँ एउटै खर्पनले १३ वर्षसम्म काम गर्छ ।’

नाइलनको डोरीले लामो डन्डीबाट तल दुई टोकरी झुन्ड्याएपछि त्यसमा तरकारी वा अरु सामान राखेर अष्टमानहरु बोकिरहेका हुन्छन् । ‘सुकेको बाँसको तौल कम हुने भएकाले खर्पनमा चाहिँ सुकेको बाँस नै प्रयोग हुन्छ,’ अष्टमानले भने, ‘सुरुमा खर्पन चार किलोभन्दा कममा बनाउन सकियो भने धेरै सामान बोक्न पाइन्छ नि ।’ अनि एउटा खर्पन बनाउन त्यस्तै ३ देखि ४ हजारमात्र लाग्न अनुभव गरेका छन्, उनले ।

  • प्रकाशित मिति : मंसिर ८, २०७६ आइतबार ९:५८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया