काठमाडौंका सार्वजनिक गाडीमा कस्ता समस्या भोगिरहेका छन् महिला ?

काठमाडौं— प्रत्येक विहान अफिसका लागि ठिक्क परिसकेपछि पुरानो ठिमी बस्ने शुभद्र दाहाललाई दिग्दारी सुरु भइहाल्छ । उनी घरबाट प्रायः एउटै समयमा निस्किन्छिन्, बानेश्वरमा रहेको स्कुलमा पुग्न ।

शुभद्राले बानेश्वरको स्कुलमा पढाउन थालेको पाँच वर्ष भइसकेको छ । तर, यी पाँच वर्षमा उनले कहिल्यै पनि सहजै पुरानो ठिमीबाट शान्तिनगरसम्म जान पाएकी छैनन् । 

शुक्रबार विहान पुरानो ठिमी चोकमा भेटिएकी शुभद्राले अनुहारमा पीडा झल्काउँदै भनिन्, ‘अफिस नगइ पनि नहुने, साह्रै गाह्रो पो हुन्छ अफिस पुग्न त !’

यतिमै रोकिइनन् शुभद्रा । उनले थपिन्, ‘म ८ बजे ठिमी चोकमा आइपुग्छु, स्कुल चाहिँ कहिले १० बजे नै पुग्छु कहिले ढिला हुन्छ ।’

काठमाडौं र भक्तपुर जोड्ने बाटोमा कोटेश्वर, जडिबुटी, लोकन्थलीमा हुने ‘जाम’का कारण मात्र होइन, शुभद्रालाई यस्तो समस्या भएको चाहिँ सार्वजनिक यातायातमा यात्रा गर्नै मुश्किल हुने भएर पनि हो । 

‘सबैजसो गाडी पूरै भरिएर आउँछन्,’ उनले भनिन्, ‘ढोका झुन्डिएर जान सक्दिनँ, नत्र गाडीमा खुट्टा टेक्ने ठाउँ हुँदैन ।’



त्यसो त महानगरीय ट्राफिक प्रहरीले केही दिनअघि देखि बसमा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारवाही गर्न थालेका छन् । तर, यो कारवाही तथा अनुगमन प्रभावकारी हुन सकेको छैन ।

त्यसैले अहिले पनि उपत्यकाका सार्वजनिक यातायातमा मानिसहरु झुन्डिएर वा खाँदिएर यात्रा गर्न बाध्य छन् । 



‘त्यसमाथि गाडीभित्र जस्तो भाषा प्रयोग गर्दै मानिसहरु बोल्छन् वा गाडीका सहचालकहरु बोल्छन्,’ शुभद्राले भनिन्, ‘त्यो सुन्नै नसकिने खालको हुन्छ ।’ यतिमात्र होइन, शुभद्राले गाडीमा उभिएर यात्रा गर्दा अन्य समस्या पनि भोगेकी छिन् । 

‘अनावश्यक रुपमा ठेल्ने, संवेदनशील अंगमा छुने पनि गर्छन्,’ उनले भनिन्, ‘काठमाडौंमा बस्नेलाई त सार्वजनिक गाडीमा यात्रा गर्न नै नपरे हुन्थ्यो जस्तो लाग्छ ।’

शुभद्राले एक दुई पटक यस्ता समस्याविरुद्ध प्रतिकार पनि गरिन् । तर, गुनासो गर्दा उनले सुनिन्– त्यसरी यात्रा गर्न त आफ्नै प्राइभेट गाडी किन्नु पर्यो नि !

त्यसको केही जवाफ दिन चाहिनन् शुभद्राले । ‘सकिनँ पनि,’ उनले भनिन्, ‘मुखमुखै लाग्नेहरुसँग कसरी बाझ्नु ?’

शुभद्रको जस्तै कथा छ, शुभेच्छा खनालको पनि । शुभेच्छा खनाल पनि भक्तपुरमा डेरा गरि बस्छिन् । नासा कलेजमा पढ्ने शुभेच्छालाई विहान कलेज पुग्न नै गाह्रो हुन्छ । 

उनले सार्वजनिक यातायातमा उभिएर यात्रा गर्दा निकै कठिनाइ हुने बताइन् । झन्, महिनावारीको समयमा त उनले भोगेको पीडा असह्य छ । 

‘मेरो महिनावारी भएको छ, सिट छोडिदिनुस् न भन्न पनि अप्ठ्यारोे,’ शुभेच्छाले भनिन्, ‘त्यस्तो बेला उभिएर यात्रा गर्न निकै गाह्रो हुन्छ । मलाई महिनावारी भएको छ भन्दा पत्याउनेहरु पनि निकै कम हुन्छन्, फेरि के प्रमाण देखाउनु ?’ त्यसो त शुभेच्छाले एक दुई पटक यस्तो भनेकी पनि थिइन् । तर, जसले उनलाई बस्नका लागि सिट छोडिदिए, उनले गुनासो गरे– बस्नलाई त्यस्तो वाहना किन बनाउनु पर्यो ?

शुभेच्छालाई बसका चालक र सहचालकको मात्र होइन, बसमा यात्रा गर्ने यात्रुहरुको बानी पनि खासै मन पर्दैन । ‘कोही कोही हुन्छन् नि आफ्नो घर व्यवहारको कुरा चर्को चर्को स्वरमा गर्ने,’ उनले भनिन्, ‘उनीहरुका कुराले अरु सबलाई डिस्टर्ब गरिरहेको हुन्छ तर उनीहरु त्यस्तो कुरा गरिरहन्छन् । सबैको एउटै मुड हुँदैन, कोही अस्पताल जान लागेका हुनसक्छन्, कोही के तनावमा हुनसक्छन् । तर, जो ठूलो स्वरमा चर्काचर्की कुरा गर्छन्, उनीहरुले अरुको वास्ता नै गर्दैनन् ।’

बसमा हुने यस्तो दुव्र्यवहार मात्र होइन, आफ्नो सामानको सुरक्षाको पनि निकै चिन्ता हुन्छ, शुभद्रालाई । ‘बसमा यस्तो भीड हुन्छ कि,’ उनले भनिन्, ‘मोबाइल, पर्स कतिबेला टप्किने हो कि भन्ने भर नै हुँदैन ।’

  • प्रकाशित मिति : मंसिर ८, २०७६ आइतबार १४:०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया