सरकारले निजी क्षेत्रलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नुपर्छ : राज्यमन्त्री दुगड

काठमाडाैं– उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि बढीभन्दा बढी सेवा सुविधा प्रदान गरी प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । राजनीतिक स्थायित्वपछि मुलुक समृद्धिको दिशामा अघि बढेको बेला निजी क्षेत्रलाई सरकारले रातो कार्पेट ओछ्याएर लगानी गर्नका लागि स्वागत गर्नुपर्ने उनकाे धारणा छ ।  

उनले भने, 'पुँजी लगानीका लागि राम्रो वातावरण तयार गर्नुपर्छ । उद्योग–व्यवसाय फस्टाउँदा ठूलो मात्रामा रोजगारी सिर्जना हुन्छ र रोजगारी सिर्जना भएमा गरिबी न्यूनीकरण गर्न सकिन्छ । साथै रेमिट्यान्सका भरमा चलेको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सकिन्छ ।'

राज्यमन्त्री दुगडले उद्योग मन्त्रालय निजी क्षेत्रको अभिभावक भएको र यसले उद्योग–व्यवसाय सञ्चालनको अनुमति दिन, प्रवर्द्धन गर्न, संरक्षण गर्न, बजार नियमन तथा अनुगमन गर्नाका साथै शान्तिसुरक्षा गर्नेसमेत जिम्मेवारी रहेको बताए । 

उपरोक्त कामका लागि सरकारले उद्योगमैत्री वातावरण निर्माण गरी आवश्यक सहजीकरण गर्ने र उद्योगी–व्यवसायीका अन्य मन्त्रालयसँग सम्बन्धित कार्यका पनि समन्वयकारी भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

'संविधान जारी भएसँगै तीनै तहको सरकारको संरचना तयार भएको छ, राजनीतिक स्थायित्वपछि बनेको बलियो सरकारले समृद्धिको अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पलाई कार्यान्वयन गर्न मुलुकमा अब उद्योग–व्यवसाय फस्टाउनु अपरिहार्य छ ।'





  • प्रकाशित मिति : मंसिर ८, २०७६ आइतबार १५:४७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया