Wed, 11 Dec, 2019


काठमाडौंवासीले फ्रेस तरकारी खाउन् भनेर...
फरकधार / मंसिर ९, २०७६

काठमाडौं– गत असारमा भारतबाट नेपाल निर्यात भएको तरकारी तथा फलफूलमा विषादी अत्यधिक देखिएपछि सीमामा भारतीय ट्रकहरु रोकिए । त्यसरी धेरै विषादी भएको तरकारी बोकेका ट्रक केही दिन सीमामा नै रोकिए । 



यता, काठमाडौंमामा रहेको भारतीय दूतावासले वाणिज्य मन्त्रालयलाई पत्र लेख्दै ती ट्रकलाई नेपाल छिर्न दिन अनुरोध गर्यो । त्यसपछि नेपालमा ठूलो तरंग फैलियो । सरकारले अचानक त्यहाँ रोकिएका ट्रकमाथिको परीक्षण स्थगन गर्यो । त्यति बेला प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आफूलाई झुक्याइएको भन्दै पछि सार्वजनिक कार्यक्रममा माफी नै मागेका थिए । 

भारतबाट निर्यात हुने तरकारीमा होस् या नेपालमा नै उत्पादन हुने तरकारीमा किन नहोस्, विषादीको मात्रा अत्यधिक प्रयोग हुन थालेको पछिल्ला केही अध्ययनहरुले देखाएका छन् । 

तर, यसलाई कसरी रोक्ने त ? अझ विशेषगरि तरकारी तथा फलफूलको अत्यधिक धेरै माग हुने काठमाडौंमा फ्रेस र ताजा, स्वास्थ र विषादी नहालिएका तरकारीको व्यवस्थापन कसरी गर्ने त ? 

यो प्रश्न जटिल छ । तर, यसको सहज जवाफमा देखिएको छ– सेफ फुड अलायन्स । 

दुई वर्षअघि मात्र खुलेको यो सेफ फुड अलायन्समा अहिले पचास जना सदस्य भइसकेका छन् । तीमध्ये ३५ जना कृषक छन् । हुन पनि यो समूहले नियम नै बनाएको छ, यसमा ७५ प्रतिशत कृषकको सहभागिता हुनैपर्छ । तिनै कृषकले उत्पादन गरेका तरकारी तथा फलफूललाई किनेर यो समूहले उपभोक्तासम्म पुर्याउँछ ।

यो अलायन्सले अहिले काठमाडौंका ५० भन्दा धेरै ठाउँहरुमा आफ्ना रिटेल पसलहरु खोलेको छ । र, विभिन्न ठाउँमा उनीहरुले ‘हाटबजार’ पनि चलाउने गरेका छन् । त्यसलाई उनीहरुले नाम दिएका छन्– फार्मस मार्केट ।

अलायन्सले बनाएका रिटेल पसलहरुमा कृषक आफैंले पनि आफ्नो उत्पादन लगेर राख्न पाउँछन्, सामान उनीहरुले नै बेच्न पनि पाउँछन् । 

यो अलायन्सलाई नेतृत्व गरिरहेका छन्, सुहृद चापागाईं । 

खासमा कृषिसँग वा तरकारी र फलफूलसँग सुहृद जोडिन आइपुगेको धेरै भएको छैन । 

उनी त खासमा मेकानिकल इन्जिनियर हुन्, उनले त बरु व्यवस्थापनमा आफूले राम्रो गर्न सक्छु कि भनेर एमबिए पनि पढे । तर, उनलाई आफूले जे पढेको हो, त्यही क्षेत्रमा मात्र सिमित भएर काम गर्न मन भएन । त्यसैले उनी जुटे, सेफ फुड अलायन्सको निर्माणमा । 

‘अरु सबथोक छोडेर भए पनि हामीले सुरक्षित खान त पाउनु पर्यो नि,’ सुहृदले भने, ‘त्यसैले विहान बेलुका खाने तरकारी कसरी राम्रो बनाउन सकिन्छ र हामी उपभोक्तालाई सुरक्षित बनाउन सकिन्छ भन्ने सोचेर यो कन्सेप्ट डेभलप भएको हो ।’

विभिन्न संघसंस्थामा यसअघि काम गर्दा सुहृदले बुझे, ‘एनजिओ र आइएनजिओहरु नेपालीका लागि काम गरिरहेका छैनन्, उनीहरु आफ्ना लागि काम गर्दैछन् । त्यसैले हाम्रा लागि काम गर्न सुरु गर्नुपर्छ ।’

अनि यही मेसोमा उनले चुनेका हुन्, तरकारी र फलफूललाई काठमाडौंवासीको भान्सासम्म सुरक्षित पुर्याउने । अनि जन्मिएको हो, सेफ फुड अलायन्स । 

यसमा पनि तारकेश्वमा एउटा कार्यक्रम लिएर पुग्दाको घटनाले साथ दिएको छ । सुहृद त्यहाँ एउटा तालिम दिन पुगेका थिए । तारकेश्वरका किसानले सुहृदलाई भने– हामीले निकै धेरै तरकारी फलाएका छौँ तर बजार पाएका छैनौँ, तपाईंले लगेर बेचिदिनुहोस् त !

खासमा सुहृद त्यति बेला नवीकरणीय ऊर्जाको विषयको एक कार्यक्रममा त्यहाँ पुगेका थिए । उनले आफ्नो उत्पादन बेचिदिन आग्रह गर्ने किसानलाई भने– तपाईंहरुले के तरकारी फलाउनु भएको छ ? 

‘काउली र बन्दा,’ उनीहरुले त्यति बेला भनेको कुरा सम्झिन्छन्, सुहृद । सुहृदले त्यहाँ नै ती किसानहरुलाई भनेका थिए, ‘अलिक युनिक केही उत्पादन भए पो बेच्न सजिलो हुने थियो ।’

त्यसपछि ती किसानहरुले आफूले फलाएको चेरी टमाटर दिए, सुहृदलाई । 

सुहृदले पनि त्यसलाई बेच्न लिएर हिँडे । केही चेरी टमाटर बेचे पनि । 

त्यही चेरी टमाटर बेच्दा सुहृदको मनमा सेफ फुड अलायन्सको आइडिया जन्मियो । उनले साथीभाइसँग सल्लाह गरे । १५ जनाको एकमत भएपछि सुरु भयो, सेफ फुड अलायन्स । अहिले यो अलायन्स नेपाली उत्पादन र उत्पादक तथा उपभोक्ताबीचको खाडललाई कम गर्न लागिरहेको छ ।

काठमाडौंका विभिन्न टोलमा हाटबजारको शैलीमा फार्मस् मार्केट चलाइरहेको यो अलायन्सले ‘सेफ फुड’ महंगो हुन्छ भन्ने भ्रम मेटाउन पनि खोजिरहेको छ । ‘स्वास्थ्य अथवा सेफ फुड भन्ने वित्तिकै महंगो हुन्छ भन्ने सोच छ,’ सुहृदले भने, ‘हामी यो मान्यता हटोस् भन्ने चाहन्छौँ ।’

यसरी सेफ फुडको वकालत गरिरहेका सुहृद तथा यो अलायन्स चाहिँ सेफ फुडलाई कसरी परिभाषित गर्छ त ? 

‘सेफ फुड भनेको अग्र्यानिक फुड नै हनुपर्छ भन्ने होइन,’ सुहृदले भने, ‘हाम्रो शरीरलाई पनि केही केमिकलहरुको आवश्यकता पर्छ, तर, तरकारीमा कहिले कुन विषादी हालिएको छ, कसरी हालिएको छ र कुन तरकारी कुन विषादी हालेपछि टिप्ने र त्यसलाई खान योग्य हुन्छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउनु पर्ने हुन्छ ।’

त्यसका लागि सेफ फुड अलायन्सले पनि किसानहरुलाई गाइड गर्दै सुरक्षित तरकारी उत्पादन हुने कृषि फर्म सन्चालनमा ल्याएको छ । अब यी फर्म थपिने क्रममा छन् र त्यहाँबाट उत्पादित तरकारी तथा अन्य फलफूल सुरक्षित छन् भन्नका लागि उनीहरुले सर्टिफाइ गर्दै छन् । 

यसरी आफ्नो फार्ममात्र होइन, स्थानीय विभिन्न ठाउँमा उत्पादित वस्तुहरुलाई स्थानीय निकायबाट नै सर्टिफाइ गरेर उनीहरुले काठमाडौंसम्म ल्याउने प्रयास पनि गरेका छन् । उदाहरण हो, जिरीको आलु । ‘नगरपालिकाले त्यहाँ उत्पादन गरिएको आलुलाई सुरक्षित छ भनेर सर्टिफाइ गरेपछि हामीले त्यसलाई ल्याएर काठमाडौंमा बेच्यौँ,’ सुहृदले भने, ‘जुम्लाको स्याउ पनि सुरक्षित हुन्छ भनेपछि हामीले त्यहाँबाट काठमाडौं ल्यायौँ र त्यसलाई बजार दियौँ ।’ यसरी बाहिरबाट सामानहरु ल्याउँदा उनीहरु त्यहाँका कृषक समूहसँग सहकार्य गर्छन् ।

‘हामीले यसरी व्यवस्थित रुपमा त्यहाँबाट स्याउ ल्याउँदा, भारतको स्याउलाई काठमाडौंमा जुम्लाको स्याउ भन्दै बेचिने गरेको पनि थाहा पायौँ,’ सुहृदले भने, ‘खासमा हामीले स्वदेशमा नै उत्पादित सामानलाई ल्याउन सक्ने हो भने सुन्दर हुने रहेछ र हामीले जुन उपायबाट उपभोक्तासम्म उत्पादन पुर्याउने प्रयास गरेका छौँ, त्यसले कृषकलाई पनि ठूलो मारमा पार्दैन ।’


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्