दोस्रो मिर्गौला प्रत्यारोपण मामुली कुरा हो, १५–२० वर्ष मलाई केही हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य बाहिर आएजस्तो खराब नभएको बताएका छन् । उनले स्वास्थ्यमा केही समस्या भए पनि त्यो असाध्यै नभएको र यो सामान्य भएको बताएका छन् । 

कान्तिपुर टेलिभिजनमा सोमबार राति प्रसारित कार्यक्रम द फायर साइडमा भुषण दाहालसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अहिले आफ्नो डायलाइसिस गरिए पनि आफूले काम गर्न सक्ने अवस्था रहेको बताएका हुन् । 

‘काम गर्न सकिन्छ, बेलाबेलामा डायलाइसिस गरिरहेको छु,’ उनले भने, ‘अहिले त्यस्तो ठूलो स्वास्थ्य समस्या होइन ।’

यतिमात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मिर्गौला प्रत्यारोपण गर्ने संकेत पनि गरेका छन् । ‘परेमा मिर्गौला ट्रान्सप्लान्ट गर्छु,’ उनले भने, ‘दोस्रो पटक मिर्गौला ट्रान्सप्लान्ट गर्ने भनेको कुरा सामान्य हो, मामुली कुरा हो ।’ उनले अहिले विश्वसमा यसलाई सामान्य रुपमा लिन थालिएको दोहोर्याए । ‘पाँच पटक मिर्गौला प्रत्यारोपण गरेका मानिस त छन्,’ ओलीले भने, ‘उनीहरु काम गरिरहेका पनि छन् ।’

उनले यो सन्दर्भमा सबैभन्दा ठूलो कुरा मिर्गौला म्याचिङको आउने र आफूलाई अझै १५–२० वर्ष केही नहुने बताएका छन् । 

शनिबार मात्र पनि प्रधानमन्त्री ओली चौथो पटक डायलाइसिस गर्न ग्रान्डी अस्पतालमा पुगेका थिए । १२ वर्षअघि दुवै मिर्गौलाले काम गर्न छाडेपछि नयाँ दिल्लीमा प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण गरिएको थियो । 



यसबीचमा ओलीले फेरि मिर्गौला प्रत्यारोपण गर्ने समाचार बाहिर आइरहेका छन् । यसपटक मिर्गौला उपचारका लागि ओली अमेरिका जाने तयारी भइरहेको बालुवाटार स्रोतले केही दिनअघि फरक धारसँग बताएको थियो । 



  • प्रकाशित मिति : मंसिर ९, २०७६ साेमबार २३:९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया