समाजवादीसँग एकता गर्छौँ, सरकारमा जाँदैनौँः महतो

काठमाडौं– राजपा नेपालले तत्काल आफूहरु सरकारमा जाने कुनै सम्भावना नरहेको प्रष्ट्याएको छ । राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले सरकारमा जाने कुरा आफ्नो पार्टीको प्राथमिकतामा नरहने बताएका हुन् । 

बरु समाजवादी पार्टीसँग एकता गर्ने कुरामा चाहिँ आफूहरु सकारात्मक भएको उनले प्रतिक्रिया दिएका छन् । तर, यसका लागि पनि समाजवादी पार्टीले सरकार छाड्नु पर्ने सर्त उनीहरुले राखेका छन् । 

‘हामी सरकारमा जाने कुरामा कुनै सत्यता छैन,’ महतोले भनेका छन्, ‘बरु हाम्रो प्राथमिकतामा समाजवादी पार्टीसँग एकता हुनसक्छ । तर, सरकारमा जाने कुरा निराधार हो ।’

तर, महतोले भनेअनुसार अहिले तत्कालका लागि राजपा र समाजवादी पार्टीबीच एकता हुने सम्भावना टरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रिमण्डलमा स्वास्थ्यबाट कानुन मन्त्रालय लगिएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकार नछोड्ने प्रतिक्रिया दिइसकेका छन् । ‘अहिले किन सरकार छोड्ने ?’ सोमबार कानुन मन्त्रालयमा पदभार सम्हाल्दै उनले भनेका थिए, ‘प्रधानमन्त्री ओलीले मलाई बढी माया गरेर यो मन्त्रालयमा ल्याउनुभयो ।’

समाजवादी पार्टीले अहिले तत्काल सरकार नछाड्ने भएपछि राजपासँगको एकता पनि केही समयका लागि टरेको राजपाका एक नेताले बताए । तर, महतो चाहिँ समाजवादी पार्टीसँग एकता गरेर संविधान संशोधन, रेशम चौधरीको रिहाइ तथा आम मानिसको जीवनको विषयमा आन्दोलनमा अगाडि बढ्ने योजनामा भएको बताउँछन् । 





  • प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार १२:२१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया