सागको इतिहासमा खेलिएका २७ खेल : नेपालले कुन खेलमा कहिले कति पायो स्वर्ण ?

काठमाडौं– सन् १८८४मा दक्षिण एसियाली महासंघ खेलकुद (साफ)को नामबाट सुरु भएको दक्षिण एसियाली मुलुकहरुको बृहत् खेलकुद प्रतियोगिता । सो प्रतियोगिताको पहिलो आयोजक नेपाल थियो । यसपटक पुनः दक्षिण एसियाली खेलकुद (साग)को नाममा नेपाल फर्किएको छ । 

२००४ देखि दक्षिण एसियाली महासंघ खेलकुद (साफ)को नाम परिर्वतन गरेर दक्षिण एसियाली खेलकुद (साग) राखिएको थियो । नेपालले यसअघि दुईपटक सन् १८८४ र १९९९ मा साफको नाममा यो प्रतियोगिताको आयोजना  गरिसकेको छ ।
   
काठमाडौं र पोखरामा हुने १३औँ साग आउन अब केही दिन मात्र बाँकी छ । यस प्रतियोगिताको  १२औँ संस्करण सकिइसक्दा कुल २७ वटा खेलमा प्रतिस्पर्धा भएको छ भने यसपटक नेपालले फिसिङ खेललाई थप गरेको छ ।   

सागको इतिहासमा खेलिएका २७ खेल 
 
फुटबल
यो खेल सागका सबै संस्करणमा समावेश भएको छ । नेपालले यो खेलबाट तीनवटा स्वर्णपदक भित्र्याएको छ । फुटबलबाट नेपालले पहिलो, चौथो तथा १२औँ सागमा स्वर्ण जितेको हो । 

एथ्लेटिक्स  
यो खेल पनि सागका सबै संस्करणमा समावेश भएको छ । यो खेलबाट नेपालले पहिलो, दोस्रो, तेस्रो तथा सातौँ तथा १०औँ सागमा दुईवटा गरी ६ स्वर्ण जितेको छ । 

बक्सिङ 
यो खेल पनि सागका सबै संस्करणमा समावेश भएको छ । नेपालले बक्सिङबाट पहिलोमा २, तेस्रोमा १, चौथोमा १ तथा आठौँ सागमा २ वटा गरेर ६ वटा स्वर्ण जितेको छ । 

पौडी
पौडी खेल पनि सागको सबै संस्करणमा समावेश भएको छ । नेपाललले यो खेलबाट एक मात्र स्वर्ण भित्र्याएको छ । आठौँ सागमा महिला टिम इभेन्टमा स्वर्ण जितेको थियो । 



भारोत्तोलन 
यो खेलले पाँचौँ सागबाहेक अन्यमा समावेश भएको छ ।  नेपालले यस खेलबाट १ मात्र स्वर्ण भित्र्याएको छ । १०आँै सागमा यो खेलबाट नेपालले स्वर्ण जितेको हो ।

कुस्ती 
यो खेल पहिलो तथा पाँचौँ सागबाहेक अन्य सागमा समावेश भएको छ । नेपालले यो खेलबाट एउटा पनि स्वर्ण जित्न सकेको छैन । 



कबड्डी
कबड्डी पहिलो तथा पाँचौँ सागबाहेक अन्य सागमा समावेश भएको छ । नेपालले यो खेलबाट पनि एउटा पनि स्वर्ण जित्न सकेको छैन । 

टेबल टेनिस
यो खेल पहिलो र दोस्रोबाहेक अन्य सागमा समावेश भएको छ । यस खेलबाट नेपालले पाँचौँ सागमा महिला इभेन्टतर्फ स्वर्ण जितेको थियो ।
  
भलिबल 
यो खेल पनि पहिलो र दोस्रोबाहेक अन्य सागमा समावेश भएको छ । नेपालले स्वर्ण जित्न नसकेको खेलमध्ये यो पनि एउटा हो । नेपालले यसपटक बिच भलिबल पनि थप गरेको छ ।
 
बास्केटबल  
यो खेल तेस्रो, पाँचौँ, छैटौँ, ११औँ र १२औँ सागमा समावेश भएको छ । यस खेलबाट पनि नेपालले स्वर्ण जितेको छैन । यो सागमा नेपालले यस खेलमा नयाँ इभेन्ट थप गरेको छ । त्यो हो थ्री बाई थ्री बास्केटबल ।

स्क्वास 
यो खेल चौथो, नवौँ, दसौँ, एघारौँ र बाह्रौँ सागमा समावेश भएको छ । नेपालले स्क्वासमा पनि स्वर्ण जित्न सकेको छैन । 

लन टेनिस
यो खेल पाँचौँ, छैटौँ, सातौँ तथा १२औँ सागमा समावेस थियो । यस खेलबाट पनि नेपालले स्वर्ण जित्न सकेको छैन । 

सुटिङ
पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ, १०औँ, ११औँ तथा १२औँ सागमा समावेस यो खेलबाट नेपालले १ स्वर्ण जितेको छ । पाँचौँ सागमा यो खेलबाट स्वर्ण जितेको हो । 

जुडो 
छैटौँ, सातौँ, नवौँ, १०औँ, ११औँ तथा १२औँ सागमा समावेश भएको यो खेलबाट नेपालले ४ स्वर्ण जितेको छ । नेपालले सातौँ सागमा ३ तथा १२औँ सागमा १ स्वर्ण जितेको हो । 

हक्की 
यो खेल सातौँ, नवौँ, १०औँ, ११औँ तथा १२औँ सागमा समावेश थियो । यस खेलबाट पनि नेपालले स्वर्ण जित्न सकेको छैन । 

कराते 
यो खेललाई आठौँ सागदेखि समावेस गरिएको यो खेल १२औँ सागमा बाहेक अन्य सागमा खेलाइएको छ । यो खेलबाट नेपाल अहिलेसम्म स्वर्णविहीन हुनुपरेको छैन । नेपालले यो खेलबाट २० वटा स्वर्ण जितेको छ । नेपालले आठौँमा १४, नवौँमा १, १०औँमा २, ११औँमा ३ वटा स्वर्ण जितेको छ । 

तेक्वान्दो 
यो खेल नेपाललाई सर्वाधिक स्वर्ण दिलाउने खेल हो । यो खेल आठौँ सागदेखि निरन्तर सागमा समावेश छ । नेपालले यो खेलबाट २४ वटा स्वर्ण जितेको छ । नेपालले यो खेलबाट आठौँमा १४, नवौँमा ६, १०औँमा १ तथा ११औँ सागमा ३ वटा स्वर्ण जितेको छ । 

आर्चरी
यो खेल नवौँ, १०औँ, ११औँ तथा १२औँ सागमा समावेश भएको छ । नेपालले यो खेलबाट स्वर्ण जित्न सकेको छैन ।
 
ट्रायथलन 
यो खेल १२औँ सागमा मात्र समावेश गरिएको थियो । नेपालले यो खेलबाट स्वर्ण जितेको छैन । 

ब्याडमिन्टन 
यो खेल नवौँ, १०औँ, ११औँ तथा १२औँ सागमा समावेश भएको छ । नेपालले यो खेलबाट पनि स्वर्ण जित्न सकेको छैन । 

क्रिकेट 
यो खेल ११औँ सागमा मात्र समावेश गरिएको छ । नेपालले यो खेलबाट स्वर्ण जितेको छैन । 

उस्सु
यो खेल नवौँ, १०औँ, ११औँ तथा १२औँ सागमा समावेश भएको छ । नेपालले यो खेलबाट १०औँमा २, ११औँमा २ तथा १२औँ सागमा एउटा गरेर ५ वटा स्वर्ण जितेको छ । 

साइक्लिङ
यो खेल नवौँ, १०औँ, ११औँ तथा १२औँ सागमा समावेश भएको छ । नेपालले यो खेलबाट पनि स्वर्ण जित्न सकेको छैन । 

रोबिङ
यो खेल नवौँ र १०औँ सागमा समावेस भएको छ । नेपालले यो खेलबाट पनि स्वर्ण जित्न सकेको छैन । 

खो–खो 
यो खेल १२औँ सागमा मात्र समावेश भएको छ । यो खेलबाट पनि नेपालले स्वर्ण जितेको छैन । 

गल्फ
यो खेल ११औँ तथा १२औँ सागमा समावेश भएको छ । यो खेलबाट पनि नेपालले स्वर्ण जितेको छैन ।
 
ह्यान्डबल
यो खेल ११औँ तथा १२औं सागमा समावेस भएको छ । यो खेलबाट पनि नेपालले स्वर्ण जितेको छैन । 

  • प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार १६:४४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया