[भारत] प्रदेश राजनीतिमा भाजपाकाे गिर्दो साख, दुई वर्षमा गुमायो ३१ प्रतिशत शासन क्षेत्र

नयाँ दिल्ली– आर्थिक गतिविधिका हिसाबले ज्यादै महत्वपूर्ण राज्य महाराष्ट्रमा राष्ट्रपति शासन हटाएर रातारात सरकार बनाएको भाजपाले केही दिनमै सरकार छोड्नुपर्यो । 

विधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बने पनि सरकारका लागि चाहिने बहुमत जुटाउन नसकिरहेको भाजपाले निर्वाचनको एक महिनापछि एनसिपी नेता शरद पवारका भतिजा अजित पवारलाई उप–मुख्यमन्त्री बनाई सरकार निर्माण गरेको थियो । पार्टी लाइनविपरीत भाजपा सरकारका उप–मुख्यमन्त्री भएका अजितलाई एसिपीले कारबाही गर्नुको साटो फकाइफुल्याई पार्टीकै लाइनमा ल्याउने रणनीति लियो । 

फलस्वरुप, सरकार बनेको एक साता नबित्दै उनले उप–मुख्यमन्त्रीबाट राजीनामा दिए । अजितको राजीनामापछि बहुमत पुर्याउन नसक्ने भन्दै मुख्यमन्त्री देवेन्द्र फडणवीसले पनि मैदान छोडे । 

अब, महाराष्ट्रमा एनसिपी र कांग्रेसको सहयोगमा शिवसेना पार्टीले सरकार बनाउने भएको छ । योसँगै, केन्द्रमा बहुमतको सरकार चलाइरहेको भाजपाले एउटा महत्वपूर्ण राज्यको सत्ता गुमाएको छ । 

महाराष्ट्र भारतको आर्थिक गतिविधिको केन्द्र हो । आर्थिक राजधानी मानिने देशकै ठूलो सहर मुम्बई महाराष्ट्रमै पर्छ । महाराष्ट्रले भारतको कुल जिडिपीको १४ प्रतिशत हिस्सा ओगट्छ । 

देशका ४० प्रतिशतभन्दा बढी कर्पोरेट अफिस महाराष्ट्रमा छन् । चुनावी चन्दामा यिनको ठूलो योगदान रहन्छ । केन्द्रीय संसद् लोकसभामा उत्तर प्रदेशपछि सबैभन्दा धेरै ४८ सांसद महाराष्ट्रबाट चुनिन्छन् । त्यसैले पनि यो राज्य भारतीय राजनीतिमा अहम छ ।   



दुई वर्षअघि (सन् २०१७ मा) भारतको कुल आवाद क्षेत्रको ७२ प्रतिशत भागमा भाजपा नेतृत्वको एनडिए गठबन्धनको सरकार थियो । अहिले, एनडिएको सत्ता ४१ प्रतिशत भागमा खुम्चिएको छ । 

गएको ११ महिनामा एनडिए गठबन्धनले ४ ठूला राज्यमा सत्ता गुमायो । दुई साना राज्यमा सत्ता हासिल गर्यो । मध्य प्रदेश, राजस्थान, छत्तीसगढ र महाराष्ट्रको सत्ता गुमाएको एनडिएले मिजोरम र सिक्किममा सरकार बनायो ।



अहिले देशभरका १७ राज्यमा एनडिए सरकार छ । जसमध्ये, १३ राज्यमा भाजपाका मुख्यमन्त्री छन् भने ४ राज्यमा सहयोगी दलका मुख्यमन्त्री छन् । तमिलनाडुमा पनि भाजपा समर्थनको सरकार छ, तर विधानसभामा भाजपाले एक सिट पनि जितेको छैन । 

  • प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार १६:५०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया