वी विल राइजकाे भिडियाे च्यालेन्ज प्रतियाेगिता

काठमाडौं– वी विल राइज फाउन्डेसनले भिडियो च्यालेन्ज प्रतियोगिता गर्ने भएको छ । नेपालमा विभिन्न क्षेत्रका पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेका तर ओझेलमा परेका प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदा, भेषभूषा, जातजातिको पहिचान, खानपान, कला संस्कृतिलाई बाहिर ल्याउने उद्देश्यले यो प्रतियोगिता गर्न लागिएको हो । 

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र यो समयमा विभिन्न ठाउँका यस्ता परिचयात्मक भिडियो आउँदा विश्व सामु नेपालको पहिचान स्थापना गर्न सहज हुने विश्वास आयोजकले लिएको छ । 

शुक्रबार विहान काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा नेपाल भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यले यसरी प्रतियोगितामा आएका भिडियोको व्यापक प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास लिएको बताए ।

‘यो कार्यक्रमले सरकारले घोषणा गरेको समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई पनि सार्थक बनाउन सहयोग गर्नेछ,’ वैद्यले कार्यक्रममा भने, ‘यो कार्यक्रम हामी उठ्ने छौँ मनोभावबाट अभिप्रेरित छ र यस महत्वपूर्ण राष्ट्रव्यापी अभियानमा सबैले आआफ्नो क्षेत्रबाट हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।’

वी विल राइज फाउन्डेसनले गत वर्ष पनि यो भिडियो च्यालेन्ज प्रतियोगिता गरेको थियो । गत वर्ष यो प्रतियोगितालाई मेरो गाउँ, मेरो ठाउँ शीर्षक दिइएको थियो । यो वर्ष प्रतियोगितामा भाग लिन चाहनेले १ डिसेम्बरदेखि १०० दिनभित्र अर्थात् ९ मार्चसम्म आफ्नो भिडियो पठाइसक्नु पर्ने हुन्छ । फुल एचडी भिडियो र बढीमा पाँच मिनेट लामो भिडियो वी विल राइज फाउन्डेसनलाई गुगल ड्राइभमार्फत् पनि पठाउन सकिने आयोजकले जनाएको छ । 

त्यसका लागि प्रतियोगीले वी विल राइज फाउन्डेसनको वेबसाइटमा रजिस्ट्रेसन फर्म भर्नु पर्नेछ । त्यहाँ आएका भिडियोबाट निर्णायकले १० विधागत अवार्डका लागि ७० वटा भिडियो छनोट गर्नेछन् । यीबाट छानिएका १० भिडियोलाई अप्रिलमा एक कार्यक्रम गरेर पुरस्कृत गरिने आयोजनकले जनाएको छ । 



प्रतियोगितामा बेस्ट भिडियो अफ द इयर, पब्लिक च्वाइस अवार्ड, बेस्ट डिरेक्सन, वुमन भिडियो मेकर अफ द इयर, फ्युचर स्टार अफ द इयरलगायत १० विधामा भिडियोहरुलाई पुरस्कृत गरिनेछ ।



  • प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार १३:०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया