चिनियाँ राष्ट्रपतिसँग मेरो आठ पटक भेट भइसक्योः प्रचण्ड
प्रचण्ड चाँडै चीन भ्रमणमा जाने
फाइल तस्वीर ।

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जाने तयारीमा छन् । यसको जानकारी उनी स्वयंले एक कार्यक्रममा दिएका हुन् । 

चिनियाँ पक्षले आफ्नो नेतृत्वमा टोली आओस् भन्ने चाहना राखेकाले आफू चीन भ्रमणमा जान लागेको प्रचण्डले बताएका हुन् । शुक्रबार काठमाडौंमा नेपाल चाइना मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा प्रचण्डले चिनियाँ राष्ट्रपति सीसँग आफ्नो सुमधुर सम्बन्ध रहेको पनि बताए । उनले सीसँग आफ्नो आठ पटक भेट भइसकेको पनि कार्यक्रममा दोहोर्याए । 

प्रचण्डले आफूले गर्ने चीन भ्रमणमा यसअघि चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा भएका सम्झौताहरु कार्यान्वयनका लागि सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । नेपाली पक्षबाट पहिलो पटक उच्चस्तरीय भ्रमण अब हुने बताएका प्रचण्डले चीनसँग नेपालको आफ्नै सम्बन्ध हुनु पर्नेमा पनि जोड दिए । 

चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदा उनले भारतीय बाटो प्रयोग गरेको विषयमा पनि प्रचण्डले आफ्नो धारणा राखे । ‘उहाँ किन भारतको बाटो भएर आउनु भयो भन्ने सोध्न मिल्दैन,’ प्रचण्डले भने, ‘तर, यसले त्रिदेशीय साझेदारीको हिसाबमा महत्व राखेको छ ।’

योसँगसँगै प्रचण्डले नेपाललाई भारत र चीनको ट्रान्जिटका रुपमा मात्र प्रयोग गर्ने कुरामा आफ्नो असन्तुष्टि पनि पोखे । उनले नेपाल, भारत र चीन साझेदारीमा प्रयोग भएको टु प्लस वान उपयुक्त नभएको धारणा राखे । ‘हामी साझेदारका रुपमा रहनुपर्छ,’ उनले भने, ‘टु प्लस वान होइन, थ्रि हुँदा मात्र तीन सार्वभौम देशको समान हैसियत हुन्छ ।’ उनले दुई प्लस एक भन्दा नेपाललाई असहज हुने बताए ।





  • प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार १३:४०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया