Fri, 13 Dec, 2019


पोजिटिभ होइन, नेगेटिभ रोल गर्न मज्जा लाग्छः विपिन कार्की
फरकधार / मंसिर १४, २०७६
तस्वीर: विपिन कार्कीकाे फेसबुकबाट ।

पछिल्लो समय नेपाली फिल्महरुमा रंगमन्चबाट गएका अभिनेता तथा कलाकारहरुको बाहुल्यता बढ्दो छ । तिनैमध्ये एक हुन्, विपिन कार्की । तर, विपिनले आफूलाई कलाकारितामा मात्र सिमित गरेका छैनन्, उनले निर्देशन पनि गरेका छन्, फिल्म लेखन पनि गरेका छन् । फरक फरक फिल्ममा फरक फरक पात्रको भूमिकामा देखिए पनि विपिनलाई फिल्म ‘पशुपतिप्रसाद’को पात्र ‘भष्मे डन’ले ‘थिचिरहेको’ छ । अझै पनि कतिपयले त उनलाई विपिन कार्की भनेर होइन, भष्मे डन भनेर चिन्छन् ।



विपिनलाई यसरी पात्रको नामले चिनिँदा कस्तो लाग्छ, पात्रहरुमाथि उनले कति न्याय गरेँ भन्ने सोच्छन् र पात्रहरुले उनलाई कति न्याय गरेका छन् ? यस्तै विषयमा फरक धारका कमल विष्टले उनीसँग कुराकानी गरेका छन् । त्यही कुराकानीको सम्पादित अंशः 

 

तपाईंका अधिकांश फिल्महरु सफल भएका छन् । तपाईंले जुन पात्रको भूमिकामा काम गर्नुभएको छ, ती पनि सफल भएका छन् । तपाईं आफू चाहिँ आफ्नो कामबाट कति सन्तुष्ट हुनुहुन्छ ? 
 

दर्शकको नजरमा राम्रो मूल्यांकन गरिए पनि वा चर्चित भए पनि मलाई चाहिँ आफूले अझ धेरै गर्नु पर्ने छ भन्ने लागिरहन्छ । प्रत्येक फिल्म सकिँदा मलाई मेरो यो अभिनय अन्तिम होइन भन्ने लाग्छ । अर्थात्, आफैंले आफ्नो कामको मूल्यांकन गर्दा सन्तुष्ट भइँदो रहेनछ । यो कुरा कलाकारमा मात्र होइन, अन्य प्रोफेसनमा पनि लागू हुन्छ भन्ने मलाई लाग्छ । 

कोही पनि व्यक्ति आफ्नो कामबाट पूर्ण सन्तुष्ट हुनुहुँदैन भन्ने लाग्छ । फेरि काम गर्ने व्यक्तिलाई आफ्ना कमीकमजोरी थाहा भइहाल्छ, केमा सुधार गर्नुपर्छ भन्ने पनि थाहा हुन्छ । यसले पनि मनमा सन्तुष्टीको भावलाई अलिक कम गराउँछ ।

हो, आफूले ठिकै गर्दा पनि दर्शकले मन पराइदिनुहुन्छ, यसले मनमा ठूलो खुसी दिन्छ, सन्तुष्ट हुन सिकाउँछ । तर, म आफ्नो फिल्म प्रदर्शनमा आइसकेपछि अलोचनात्मक दृष्टिबाट आफ्नो काम हेर्छु, कहाँ मैले अझ मेहनेत गर्नु पर्ने रहेछ भन्ने थाहा पाउँछु । अनि अर्को काममा यसलाई पनि पूर्ण गराउँछु भन्ने संकल्प लिन्छु । कमजोरी हुँदाहुँदै पनि दर्शकले मन पराइदिँदा चाहिँ खुसी मात्र होइन, जिम्मेवारी थपिएको पनि अनुभव हुन्छ । 

 

तपाईं त कति सफल हुनुहुन्छ भने तपाईंलाई धेरैले वास्तविक नामभन्दा पनि पात्रको नामले चिन्छन् । यस्तो हुँदा कस्तो महसुस हुन्छ ?
 

हो, एउटा समय थियो, जतिबेला मलाई मेरो नामबाट भन्दा मेरा पात्रको नामबाट चिन्नेहरु धेरै हुनुहुन्थ्यो । यो त अत्यन्त खुसीको कुरा हो । मैले सुरुसुरुमा यो कुरालाई त्यति महत्वपूर्ण ठानेको थिइनँ । दर्शकहरुले मेरो पात्रको नामबाट चिने पनि वा मेरो नामबाट चिने पनि मलाई नै त चिन्नुहुन्छ भन्ने लाग्थ्यो ।

तर, अब आएर चाहिँ यो कुराले मनमा खिन्नता पैदा गर्छ । किनकि एउटा पात्रको नामले मात्र म चिनिँदा मैले निर्वाह गरेका अरु पात्रको भूमिका केही नभएको जस्तो महसुस हुँदो रहेछ । मैले नयाँ रोलमा नयाँ पात्रको भूमिकामा काम गरेको हुन्छु, तर दर्शकले मलाई पुरानै पात्रको नामबाट चिन्नुहुँदा मैले नयाँ पात्रमाथि न्याय गर्न सकेको छैन कि जस्तो लाग्दो रहेछ । पुरानो पात्रले नै आफू चिनिँदा मैले राम्रो गरेको भए त नयाँ पात्रको नामबाट म चिनिन्थेँ होला भन्ने भाव आउँदो रहेछ । 

हुन त मलाई लाग्छ, पछिल्लो समय मलाई दर्शकहरुले पात्र भन्दा पनि मेरो वास्तविक नामले नै चिन्नुहुन्छ । 

 

तपाईंले अहिलेसम्म धेरै पात्रको भूमिका निर्वाह गर्नुभयो । तपाईंलाई आफ्नो जीवन कुन पात्रसँग नजिक छ जस्तो लाग्छ ? 

मेरो जीवनसँग धेरै हदसम्म मेल खाने पात्र अब आउने फिल्म सेल्फी किङको हो । त्यसमा मैले एउटा जोकरको भूमिका निर्वाह गरेको छु । फिल्म एउटा कलाकारको जीवनमा आधारित छ । म आफैं पनि कलाकारितामा लागेकाले यो फिल्मको अभिनेताले जस्ता संघर्ष गर्छ, उसको सोच र भोगाइ, भावना र चाहना धेरै हदसम्म मेरो जीवनसँग मेल खान्छन् । 

त्यसो त मलाई तैंले आफूले प्रतिनिधित्व गरेको एउटा पात्र छान् भनेर कसैले भन्दा छड्केको विन्दु छान्छु । हो, एउटा कलाकारका लागि उसले काम गरेका सबै पात्रहरु उत्तिकै प्रिय हुन्छन्, तर तिनमा मेरा लागि विशेष चाहिँ विन्दु नै हो ।

विन्दु हुनका लागि मैले पर्याप्त समय पाएँ, लगाएँ । मैले यो पात्रमा भिज्नका लागि तीन महिना पाएको थिएँ । राम्रो समय पाएकाले मैले त्यो आफूलाई पूर्ण रुपमा त्यो पात्रमा समाहित गर्न पाएँ, पात्रमा डुब्न पाएँ, त्यही पात्रको जीवन बाँच्न पाएँ । त्यसैले पनि हुनुपर्छ, फिल्म छड्केको विन्दुको अभिनय गर्दा मैले निकै इन्जोय गरेको थिएँ । आफूले इन्जोय गरेको रोल दर्शकलाई पनि मन परिहाल्छ नि !

 

यसको अर्थ दर्शकले भन्दा पहिले कलाकारले नै आफ्नो अभिनय वा भूमिका मन पराउन सक्नु पर्छ हो ? 

हो । तर, मलाई थाहा छैन यो सबैको हकमा लागु हुन्छ कि हुँदैन । मेरो हकमा चाहिँ ठ्याक्कै यही कुरा लागु हुन्छ । मलाई त आफू अभिनेताभन्दा पनि पहिले एउटा असल दर्शक हुँ भन्ने लाग्छ । जब दर्शकका रुपमा मलाई आफ्नो काम मन पर्दैन, त्यही काम अरुले किन मन पराउनु ? आफूलाई मन नपरेको काम अरुले मनपराइ हाले पनि त्यसको अर्थ के नै हुन्छ र ? 

तपाईंलाई नै मन पर्ने छड्केको विन्दु र तपाईंले निर्वाह गरेको जात्राको फणिन्द्रका स्वभाव फरक फरक छन् । विन्दु ‘डन’, फणिन्द्र भलाद्मी पात्र हो । तपाईंलाई चाहिँ यीमध्ये कुन भूमिका बढी मन पर्छ ? 

मलाई त लाग्छ, पात्रको प्रवृत्तिले के गर्ने नगर्ने भन्ने कुराले कलाकारलाई खासै फरक पार्दैन । तर, एउटा अभिनेताको हकमा चाहिँ नेगेटिभ रोलमा काम गर्न सजिलो हुन्छ जस्तो मलाई लाग्छ ।

एउटा पात्रको भूमिकामा अभिनेता बाँधिएको हुन्छ, उसको स्वभावलाई कलाकारले प्रस्तुत गर्नु पर्ने हुन्छ । तर, एउटा अभिनेताले नराम्रो काम गर्दा दर्शकको सहानुभूति पाउँदैन कि भन्ने डर हुन्छ । यो प्रोटागोनिस्टको कुरा भयो । त्यसमा उसको दायरा त्यति धेरै फराकिलो पनि हुँदैन । 

अब एन्टागोनिस्टको कुरामा चाहिँ यो लागु हुँदैन । उसको अभिनयको दायरा पनि फराकिलो हुन्छ । उसले नराम्रो काम जे गर्दा पनि वा जसरी गर्दा पनि बोल्दा पनि छुट हुन्छ । उसमाथि न दर्शकले नराम्रो सोच्छन् न कसैले रोकतोक नै गर्छन् । यसको अर्थ के हो भने एन्टागोनिस्टको अभिनयको परिधि अलिक फराकिलो हुन्छ । 

अनि मलाई पनि नेगेटिभ रोलको पात्रको भूमिकामा काम गर्न बढी मन हुन्छ ।

 

हुन पनि तपाईंलाई छड्केमा जस्तै अधिकांश फिल्ममा ‘आवारा’ युवाको भूमिकामा हुनुहुन्छ । तपाईंलाई यस्तै रोल मन पर्ने भएर हो कि निर्देशकहरुले तपाईं अरु रोलमा पनि काम गर्न सक्नुहुन्छ भन्ने नपत्याएर ? 

हो, पहिले त निर्देशकहरुले मलाई अरु रोलमा पनि फिट हुनसक्छ वा काम गर्नसक्छ भन्ने पत्याएका थिएनन् । मैले छड्के वा अरु धेरै फिल्ममा काम गर्दा त्यस्तै पात्रको भूमिका निर्वाह गरेँ । म लिड रोलमा पनि थिइनँ, निर्देशकहरुले पनि विश्वास गरिसकेका थिएनन् । 

फिल्म ‘जात्रा’मा अलिक भिन्न किसिमको भूमिका निर्वाह गरेँ, त्यसपछि फरक फरक रोलका लागि पनि मलाई अफरहरु आउन थाल्यो । जात्रापछि मैले नेगेटिभ रोलमा खासै काम गर्नु परेको छैन । 

 

तपाईं पात्रका कारण बढी चर्चित हुनुहुन्छ । कतै सार्वजनिक ठाउँहरुमा चाहिँ तपाईंलाई झट्ट देख्दा कसैले चिन्छन् कि चिन्दैनन् ? 

हो, धेरै दर्शकहरुले अहिले पनि मलाई देख्दा फ्याट्ट चिन्नुहुन्न । अलिक बेर बसेर कुराकानी गरेपछि मात्र म विपिन कार्की हुँ भन्ने उहाँहरुलाई थाहा हुन्छ । 

केही अघि म एउटा रेष्टुरेन्टमा चिया पिउन गएको थिएँ । एउटा कुनामा बसेर मैले चिया पिउन थालेँ । त्यहाँ मलाई कसैले नोट गर्नु भएन वा चिन्नु भएन । 

केहीबेर पछि एकजना मेरो नजिक आउनु भयो र सोध्नुभयो– तपाईं विपिन कार्की होइन ? 

त्यसपछि बल्ल त्यहाँ भएका अरु व्यक्तिहरुले पनि मलाई चिन्नुभयो र फोटो खिच्ने प्रस्ताव गर्नुभयो । उहाँहरु धेरैले भन्नुभएको थियो– म फिल्ममा जस्तो देखिन्छु, वास्तविकतामा त्यस्तो रहेनछु । यो त एउटा घटना मात्र हो, यस्तो अरु धेरै ठाउँमा पनि भएको छ । यसको अर्थ के होइन भने मलाई कतै पनि कसैले चिन्दैनन् । कोहीकोहीले मलाई मास्क लगाएको बेलामा समेत चिन्नुहुन्छ, मेरो हाइट र गेटअपले चिन्नेहरु पनि हुनुहुन्छ । 

 

हो, तपाईं चर्चित हुनुभएको छ, धेरैले तपाईंको कामको प्रशंसा पनि गरेका छन् । तर, तपाईंको आउँदो फिल्म सेल्फी किङको पोस्टर नै जोकर फिल्मको चोरी हो भन्ने आरोप पनि लागेको छ नि ? 

हो, म आजसम्म धेरै पात्रहरुबाट प्रेरित भएको छु । तर, म विश्वास दिलाउन चाहन्छु, हामीले जहिले सेल्फी किङको सुटिङ सकेका थियाैँ , त्यति बेला जोकर फिल्म रिलिज भएकै थिएन । यो फिल्मबाट हामी कुनै पनि अर्थमा प्रभावित भएका छैनौँ । तर, एउटा समानता के हो भने मैले सेल्फी किङमा जुन पात्रको भूमिकामा काम गरेको छु, त्यस्तो पात्रलाई हलिउडमा जोकर भनिने चलन छ, हामीकहाँ हास्यकलाकार । 

फिल्ममा मैले निर्वाह गरेको भूमिका चाहिँ जोकरको नै हो । त्यो एउटा कलाकारको भूमिका हो । मलाई त लाग्छ, संसारभरका कलाकारको दुःख र भोगाइ, वेदना र अनुभव एउटै हुन्छ । 

अनि मैले सेल्फी किङमा एउटा जोकरको भूमिका निर्वाह गरेको छु । तर, यो नेपाली जोकरको कथा हो, हलिउड फिल्मबाट प्रभावित भएको जोकर होइन । अहिले पोस्टर हेरेर मात्र मिलेको भन्न मिल्दैन, हामीले टिजर र ट्रेलर र पूरै फिल्म त रिलिज गर्नै बाँकी छ नि !


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्