भक्तपुरमा एमाले–माओवादी मनमुटाव, कांग्रेसले खोस्यो नेकपाको सिट
उपनिर्वाचनमा विजयी भँडेल ।

काठमाडौं– भक्तपुरको प्रदेश सभा सदस्यको उपचुनावको नतिजा आइसकेको छ । नतिजाअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले चुनाव जितेका छन् । 

यसअघि यो क्षेत्रबाट नेकपाका उम्मेदवार हरिशरण लामिछाने विजयी भएका थिए । तर, स्वास्थ्यमा समस्या भएपछि उनको निधन भयो । त्यसपछि रिक्त यो स्थानमा उपनिर्वाचन भएको हो । 

सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पकड रहेको भक्तपुरमा भएको यो उपनिर्वाचनलाई विशेष महत्वका साथ हेरिएको थियो । तर, यो क्षेत्रमा नेकपाले आशा गरेअनुसार नतिजा आउन सकेन ।

नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार डिपी ढकालले पराजय भोगे । 

‘यो परिणाम आउनुको कारण हाम्रै पार्टीको कमजोरी हो,’ नेकपाका एक नेताले फरक धारसँग भने, ‘नेकपामा अहिले पनि पूर्ण रुपमा पार्टी प्रतिको भावना विकसित भइसकेको छैन । पार्टी एकता समयमा नसकिँदा हामीले भक्तपुरमा पराजय भोगेका हौँ ।’ भक्तपुरकै नेकपाका यी नेताले चुनावअगाडि एमाले र माओवादी भन्दै जुन विवाद देखिएको थियो, त्यसले आफूहरुलाई कमजोर बनाएको बताउँछन् । 

त्यसो त यहाँ पूर्वमाओवादी र पूर्वएमालेबीच विवाद भएको यो पहिलो पटक होइन । यसअघि २०७४ सालको निर्वाचनमा पनि पूर्वएमाले र पूर्वमाओवादीबीच यहाँ विवाद भएको थियो । पहिले तत्कालीन माओवादीका ढकाललाई उम्मेदवार बनाउने चर्चा चलेको थियो । तर, पछि हरिशरण लामिछानेलाई उम्मेदवार बनाइयो । 



यसपटक पनि त्यहाँ उम्मेदवार कसलाई बनाउने भन्नेमा विवाद देखियो । ढकाललाई उम्मेदवार बनाउने निर्णय आएसँगै पूर्वएमाले पक्षधरहरुले त्यहाँको कार्यालयमा तालाबन्दी गरेका थिए । कतिपयले यो क्षेत्रमा हरिशरण लामिछानेकी श्रीमतीलाई नै उम्मेदवार बनाउनु पर्ने पनि बहस गरेका थिए । 

तर, पार्टीले डिपी ढकाललाई नै उम्मेदवार बनाउने भयो । उनलाई उम्मेदवार नै बनाउने अडान कायम गर्नमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विशेष भूमिका रहेको नेकपाका नेताहरु बताउँछन् । 



‘तर, यहाँ ढकाल नभएर अरु कुनै उम्मेदवार भएको भए पनि जित अरुकै हुन्थ्यो,’ भक्तपुरकै एक नेकपा नेताले भने, ‘यहाँ अहिले पनि पार्टी एकता भएको भावना छैन । त्यसैले दुई पक्षधरले आआफ्ना अडान लिइरहेका छन्, त्यही अनुसार जनतासम्म उनीहरु गइरहेका छन् ।’ यसका लागि भक्तपुरका पार्टीमा विशेष होल्ड राख्ने नेताहरु जिम्मेवार रहेको उनी बताउँछन् । 

कतिसम्म भने यो उपनिर्वाचनमा पूर्वएमालेले पूर्वमाओवादीका उम्मेदवार भएकाले असहयोग गरेको भन्ने आशंका पनि गरिएका छन् । यसले गर्दा भक्तपुरका पूर्वमाओवादीभित्र आशंका जन्मिएको भन्नेहरु छन् । नेकपाको भातृ संगठन युवा संघका संयोजक समेत रहेका रामप्रसाद सापकोटाले यसलाई नेकपा भित्रको प्रवृत्तिका रुपमा चित्रण गरेका छन् ।

उनले ट्विट गरेका छन्, ‘नेकपाभित्र एउटा प्रवृति छ आफुलाई पहिलो दर्जाको र अर्कोलाई दोस्रो दर्जाको ठान्ने ! चुनावको परिणाममा यो प्रवृत्तिले पनि काम गरेको छ !’

  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार १२:२१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया