प्रधानमन्त्रीकाे भिडियो सन्देश : मेरो स्वास्थ्य राम्ररी सुधार भइरहेको छ, १३औँ सागको उद्घाटन समारोह पूरै हेरेँ

काठमाडौं— मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले एक भिडियो सन्देश दिँदै आफू स्वस्थ रहेको जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीको गत साता एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । 

‘मेरो स्वास्थ्य राम्ररी सुधार भइरहेको छ,’ भिडियो सन्देशमा उनले भनेका छन्, ‘एउटा मेजर अप्रेसनपछि तपाईंहरु देखिरहनुभएको छ, म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।’ भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले आफूले १३ औं ‘साग’को उद्घाटन समारोह पूरै हेरेको बताए । उनले सागको उद्घाटन गरेकोमा राष्ट्रपतिलाई र सहभागी भएकोमा सबैलाई धन्यवाद दिएका छन् । 

भिडियो सन्देशको पूर्ण पाठ

एपेन्डिसाइटिस भनेको कसैलाई सुचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्याशित रुपमा त्यसरी आइलाग्यो । यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए त्यसलाई निकालेर फाल्दा सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यसलाई पनि हटाएर फाल्नुपर्यो । त्यसकारण हप्ता–दस दिनको उपचारमा लाग्यो । तर, मेरो स्वास्थ्य राम्ररी अगाडि बढिराख्या छ, सुधार भइराख्या छ । र, एउटा मेजर अप्रेसनपछि अहिले तपाईंहरू देखिरहनुभएको छ कि अहिले मेजर अपरेसनपछि पनि म उठेर अहिले बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने भएको छु र कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु । 

हिजो मैले १३औँ सागको उद्घाटन समारोह पूरै हेरेँ । र, हुन सक्छ कि सक्दैन भन्ने द्विविधा समाप्त भएकोमा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनुभएकोमा, अरु सबैलाई सहभागी हुनुभएकोमा धन्यवाद भन्न चाहन्छु । अब मैत्रीपूर्ण खेलबाट देशका इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु सबैलाई आग्रह गर्दछु ।
 





  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार १७:३०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया