प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी
फाइल तस्वीर ।

काठमाडौं– गत साता एपेन्डिसाइटिसको अपरेसनका लागि अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी भएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बालुवाटारमा नै आराम गर्ने चाहना राखेकाले उनलाई अस्पतालबाट बालुवाटार सार्ने तयारी भएको हो । त्यसका लागि बालुवाटारमा एउटा विशेष कोठा तयारी गरिएको स्रोतको दाबी छ । 

‘ढिलोमा बिहिबार साँझसम्म उहाँको डिस्चार्ज भइसक्छ,’ ओली सचिवालयमा कार्यरतले ती अधिकारीले बताए, ‘प्रधानमन्त्रीज्यु स्वयं अस्पतालबाट डिस्चार्ज होस् र घरमै आराम गर्न पाइयोस् भन्ने मान्यतामा हुनुहुन्छ । उहाँले यो चाहना पूरा गर्नका लागि भए पनि हामीले तयारी गरेका हौँ ।’

त्यसो त अस्पतालले गत शुक्रबार गरेको एक पत्रकार सम्मेलनमा पनि प्रधानमन्त्री ओलीलाई एक सातामा डिस्चार्ज गर्न सकिने बताएको थियो । ‘उहाँ सात दिनमा नर्मल हुनुहुन्छ, १० दिनमा पहिलेको जस्तै काम गर्न सक्ने हुनुहुन्छ,’ त्यो पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीको स्वास्थ्यउपचारमा संलग्न चिकित्सकले बताएका थिए ।

अर्कोतिर, पार्टी नेताहरुलाई भेट्न सहज होस् भन्ने हेतुले पनि प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्न खोजिएको हो । ‘कार्यकारी अध्यक्ष प्रचण्डसँग पनि भेटघाटका लागि समस्या भयो,’ नेकपाका एक नेताले फरक धारसँगको कुराकानीमा बताए, ‘बालुवाटारमा भए त्यसमा पनि सहज हुनसक्ने अनुमान गरिएको छ ।’

प्रधानमन्त्री ओली अस्पताल भर्ना भएपछि सरकारका काम तथा पार्टीका काममा पनि समस्या भइरहेको नेकपाका नेताहरुले ठहर गरेका छन् । ‘उहाँसँग मन्त्रीहरुले समेत भेट्न पाउनु भएको छैन,’ ती नेताले बताए, ‘बालुवाटारमा हुँदा कम्तिमा पनि कार्य सम्पादनमा उहाँले सहयोग गर्नु हुनेछ, उहाँको अब्जर्भेसन बढ्न सक्छ ।’

१२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेका ओलीको मिर्गौलाले राम्रोसँग काम नगरेपछि केहीअघि उनी सिंगापुरमा गएर प्लाज्माफेरोसिस गरेर आएका थिए । त्यस यता उनले चार पटक ग्रान्डी अस्पतालमा डायलाइसिस गराइसकेका छन् ।



 

औषधिको तालमेल मिलाउन अप्ठ्यारो



एपेन्डिसाइटिसको अपरेसनका लागि अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीले लामो समयदेखि मिर्गौला सम्बन्धी र अन्य औषधिहरु सेवन गरिरहेका छन् । पछिल्लो समय एपेन्डिसाइटिसको अपरेसन गर्नु पर्ने भएपछि र त्यसको संक्रमण पेट वरपर पनि देखिएपछि उनले सेवन गर्ने औषधिहरु थपिएका छन् ।

तर, यही थपिएका औषधिका कारण प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर बन्न सकिरहेको छैन । ‘यो औषधि खाए अर्कोलाई समस्या, अर्को खाँदा अर्कोलाई भएकाले चुनौति थपिएको उहाँको स्वास्थ्य उपचारमा संलग्न चिकित्सहरुले जनाएका छन्,’ ओली सचिवालयका एक सदस्यले भने, ‘अरु अवस्था त अहिले सामान्य भइसकेको छ तर औषधिको व्यवस्था मिलाउन चिकित्सहरुलाई पनि समस्या नै परिरहेको छ ।’

यही कारण प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पनि समस्या आइरहेको उनले बताए । 

 

मिर्गौला प्रत्यारोपणको तयारी, कहिले र कहाँ भन्ने टुङ्गो छैन

यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको तयारी पनि चलिरहेको छ । तर, यो मिर्गौला प्रत्यारोपण कहाँ गर्ने र कहिले गर्ने भन्ने टुङ्गो लागेको छैन । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला अमेरिका लगेर गर्ने तयारी भएको थियो । तर, पछिल्लो समय भारतीय सरकारी पक्षले सोझै ओलीसँग सम्पर्क गर्दै भारतमा नै मिर्गौला प्रत्यारोपण गर्न अनुरोध गरेका छन् । 

यता नेपालमा पनि मिर्गौला प्रत्यारोपण सम्भव भएको भन्दै ओलीको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकले चाहिँ नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने तयारी पनि गरेका छन् । तर, भर्खर एपेन्डिसाइटिसको अपरेसन गरिएकाले मिर्गौला प्रत्यारोपण केही साताका लागि चाहिँ धकेलिएको छ ।

  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार १४:५४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया