Tue, 14 Jul, 2020


अर्थमन्त्री खतिवडालगायत राष्ट्रिय सभाका १८ सदस्यको म्याद फागुनमा सकिँदै, निर्वाचनको तयारीमा आयोग
फरकधार / मंसिर १८, २०७६

काठमाडौं–  प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका निम्ति संघीय संसद्बाट आयोगलाई अनुरोधपत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । ५९ सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदै छ । 



रिक्त सदस्यको पदपूर्ति गर्नका निम्ति संघीय संसद्बाट पत्र प्राप्त गरिसकेपछि आयोगले आन्तरिक छलफल गर्दै तयारीको काम आरम्भ गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया भन्छन्, ‘हामीले आगामी माघको १५ गतेभित्रै राष्ट्रिय सभाको निर्वाचन सक्नुपर्नेछ ।’ राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ । राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ ।

सोअनुसार सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्र लाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा.युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र  खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदै छ ।  

अर्थमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य डा.युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनीत हुनेछ । उनी यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए । फागुन २० गते दुई वर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजना रहेका छन् ।

राजनीतिक दलसँग छलफल गरेर आयोगले सरकारलाई परामर्श उपलब्ध गराउने र त्यसपछि निर्वाचनको मिति घोषणा गरिनेछ । गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनका मतदाता हुन् ।

यो निर्वाचनमा पहिलो हुने निर्वाचन हुने प्रणालीबाटै उम्मेदवारको चयन हुनेछन् । यो निर्वाचन प्रत्येक प्रदेशमै हुने र तत् प्रदेशबाट राष्ट्रिय सभा सदस्यको चयन हुनेछ । राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसंख्यक दुई र अन्य सातजना निर्वाचित हुनेछन् ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्