वैदेशिक रोजगारी : चार महिनामा दुई सय ५१ जनाले गुमाए ज्यान
१० वर्षको अवधिमा साढे सात हजारकाे मृत्यु

काठमाडौं– सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न पहलकदमी लिइरहँदा पछिल्लो समय वैदेशिक रोजगारी झन् असुरक्षित बन्न थालेको छ । असुरक्षित वैदेशिक रोजगारीका कारण १० वर्षको अवधिमा सात हजार ५ सय बढी नेपालीले ज्यान गुमाइसकेका छन् । 

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा वैदेशिक रोजगारीमा रहेका २ सय ५१ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा आठ महिला र २ सय ४३ पुरुष छन् । गत साउनमा दुई महिलासहित ५८ पुरुष, भदौमा दुई महिलासहित ५८ पुरुष, असोजमा ४७ र कात्तिकमा ८० जनाले ज्यान गुमाएका वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । 

प्रथम चौमासिकमा बोर्डले प्रतिमृतक सात लाखको दरले २ सय ५१ मृतकका हकवालालाई करिब १७ करोड ५७ लाख आर्थिक सहायता उपलब्ध गराएको छ । बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका कामदारको मृत्यु भएमा निजको नजिकको हकवालालाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । 

बोर्डले प्रथम चौमासिकमा अंगभंग तथा बिरामी भएका १ सय १९ कामदारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । वैदेशिक रोजगार नियमावली, २०६४ ले करार अवधिभित्रै तथा करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले अंगभंग भएमा वा गम्भीर बिरामी भएमा बिरामीको प्रकृतिअनुसार अधिकतम सात लाखसम्म आर्थिक सहायता उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ । 

सोही अवधिमा आठ कामदारका परिवारलाई औषधोपचार सहयोग उपलब्ध गराइएको बोर्डले जनाएको छ । कामदारको परिवारलाई सामान्य रोग लागेमा १५ हजार, सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा ३० हजार र गम्भीर प्रकारको रोग लागेमा ५० हजार सहायता दिँदै आएको छ । 

पहिलो चौमासिकमा २ सय ५० मृतक कामदारको शव निःशुल्क ढुवानी गरिएको छ । सरकारले मृतक कामदारको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थायी घरठेगानासम्म निःशुल्क ढुवानी गर्दै आएको छ ।



सरकारले वैदेशिक रोजगार नियमावली, २०६४ संशोधन गरेर विदेशमा रहँदा वा स्वदेश फर्केको एक वर्षको अवधिभित्र श्रम स्वीकृति लिएका कामदारको मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । त्यसअघि श्रम स्वीकृतिको अवधिभित्र गन्तव्य मुलुकमा मृत्यु भए मात्र निजको परिवारलाई आर्थिक सहायता प्रदान गरिँदै आएको थियो । 

वैदेशिक रोजगारीमा रहेका कामदारले विविध कारणबाट अनाहकमै ज्यान गुमाउने गरेका छन् । मुख्य रूपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्यालगायत कारणबाट नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको छ ।



१० वर्षको अवधिमा कार्डियाक एरेष्टबाट एक हजार ३ सय ९, प्राकृतिक मृत्युबाट एक हजार ६ सय १७, हृदयाघातबाट ६ सय ३, कार्यस्थलमा दुर्घटनाबाट ६ सय ४४, आत्महत्याबाट ८ सय ९२ र सडक दुर्घटनाबाट एक हजार ३७ जनाको ज्यान गएको बोर्डले जनाएको छ ।

सामान्यभन्दा सामान्य जानकारी नहुँदा वैदेशिक रोजगारीमा रहेका नेपालीले ज्यान गुमाउँदै आएको भन्दै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखीकरण दिएर पठाउने तयारी गरेको छ । ट्राफिक नियमको जानकारी नहुँदा पनि नेपालीले अनाहकमा ज्यान गुमाउनुपरेको छ । 

  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार १५:५५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया