माधव नेपाललाई दिल्लीले दिएन ग्रिन सिग्नल, राजदूत पूरीसँग कोटेश्वरमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष दूत भएर भारत जान लागेका नेपाल कम्युनिस्ट पार्टीका नेता माधव कुमार नेपाललाई नयाँ दिल्लीमा अधिकारीहरुले नभेट्ने बताएका छन् । तर, यता सोमबार विहान नेता नेपाल निवास कोटेश्वरमा भारतीय राजदूत भन्जीभसिंह पुरी भेटवार्ताका लागि पुगेका छन् । 

यसअघि नेता नेपाललाई केपी शर्मा ओलीको अनुरोधमा नै यही साता भारत पठाउने तयारी भएको थियो । तर, नरेन्द्र मोदी सरकारका अधिकारीहरुले उनीसँग भेट्न अस्वीकार गरेपछि उनी भारत जाने विषयमा टुङ्गो लाग्न सकेको छैन । 

भारतीय मिडिया द प्रिन्टले स्रोतहरुको हवाला दिँदै नेता नेपाल ४ डिसेम्बरमा नै भारत जाने कार्यक्रम रहेको उल्लेख गरेको छ । यो भ्रमणमा नेता नेपालले पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै भेट्न चाहेका थिए । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ग्रिन सिग्नल दिएनन् । त्यसले गर्दा उनले यो भ्रमण तत्कालका लागि स्थगित गरेका छन् । 

यो भ्रमणअघि नेता नेपालले सोमबार काठमाडौंमा आफ्नै निवासमा भारतीय राजदूत मन्जीभसिंह पुरीसँग भेटघाट गरेका छन् । यो भेटघाटमा यी दुईबीच नेपाल–भारत सम्बन्धबारे कुराकानी भएको थियो । राजदूत पुरीको कार्यकाल सकिएको र उनी भारत फर्किने तयारी गरिरहेकाले यो भेटघाट गरिएको नेता नेपालको सचिवालयले जनाएको छ । 

उता, नेता नेपाललाई दुई देशबीच उत्पन्न कालापानी तथा लिम्पियाधुराको सीमा विवादबारे छलफल गर्न ओलीले तयारी गरेका थिए । दार्चुला जिल्लाको भूमि भारतले २ नोभेम्बरमा जारी गरेको नयाँ राजनीतिक नक्समा आफ्नोमा समेटेको छ । यो नक्सा सार्वजनिक भएलगत्तै नेपालमा विरोध कार्यक्रम हुन थालेका थिए । विरोध चर्किँदै गएपछि प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएका थिए । बैठकले भारतसँग यो विषयमा कुटनीतिक पहलबाट छलफल सुरु गर्न सुझाव दिएको थियो । 

तर, अहिलेसम्म यस विषयमा भारतले कुनै जवाफ नेपाललाई दिएको छैन । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भारतले नेता नेपालको भ्रमणबारे पनि ग्रिन सिग्नल दिएको छैन । ‘हामीले नेता नेपालको भ्रमण हुने भन्ने विषयमा अवगत गराएका थियौँ,’ परारष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘तर, उताबाट कुनै जवाफ आएको छैन ।’



यस विषयमा मात्र होइन, नेपालले सचिवस्तरीय समिति बनाएर यो विवाद सुल्झाउन समेत भारतसँग अनुरोध गरेको थियो । भारतले यो अनुरोधलाई पनि बेवास्ता गर्दै आएको छ । 

साेमबार नेकपा नेता नेपालकाे उनकै निवास काेटेश्वरमा भारतीय राजदूत पुरीसँग भेटवार्ता भयाे ।



त्यसो त नेपाल र भारतबीच सीमा विवाद अन्त्य गर्नका लागि जुलाई २०१४ मा तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणमा विदेश मन्त्रालयका सचिवहरुको एउटा समिति बनाउने भनिएको थियो । तर, यसलाई पनि कार्यान्वयन गर्न सकिएको छैन । त्यही वर्ष नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीले पनि यो विषयलाई बेवास्ता गरेका छन् । 

गत महिना नेपालसँगको सीमा विवादबारे छलफल गर्न भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेशमन्त्रालयका सचिव विजय गोख्लेसँग भेटवार्ता गरेका थिए । विजयले आफूहरुले नयाँ नक्सामा नेपालको भूमि नसमेटेको प्रतिक्रिया दिएका थिए । 

भारतसँग सीमा विवादबारे कुनै निष्कर्ष ननिस्किँदै नेपालले भने नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अतिथिका रुपमा बोलाउने तयारी गरेको छ ।

  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार १६:९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया