हितराज पाण्डेका ३ सम्झनाः प्रहरीले ज्यादती गरे, दाँत झारिदिए, करङ फुस्काइदिए

शिक्षण पेशा छोडेर फुल टाइम राजनीतिमा लागेका हितराज पाण्डे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटि सदस्य हुन् । पूर्वसंघीय मामिला तथा स्थानीय विकास मन्त्रीको अनुभव समेत सम्हालेका पाण्डेसँग १० वर्षे द्वन्द्वका अनेक सम्झना अहिले पनि छन् । उनले केही त्यस्ता घटना सुनाएका छन्ः

१. सुरेश वाग्ले मारिएको त्यो घटना 

२०५६ साल भाद्र २३ गते । हाम्रो पार्टीको सबभन्दा माथिल्लो तहका नेता सुरेश वाग्ले ‘बासु’ को निधन भयो । उहाँसँग म लगभग १२÷१३ दिनसम्म सँगसँगै हिँडेको थिएँ । त्यसको भोलिपल्ट जनमुक्ति सेनाको प्रशिक्षण कार्यक्रम थियो । उक्त प्रशिक्षण कार्यक्रम गोरखाको छोप्राक (अहिलेको सिरानचोक गाउँपालिका) मा थियो ।

जनमुक्ति सेनाका महत्त्वपूर्ण कमरेडहरूलाई प्रशिक्षित गर्ने भनेर हामी गएका थियौं । उहाँ बिरामी हुनुहुन्थ्यो । म गरुङ्गो झोला बोकेर रातिराति पनि हिँड्न सक्थेँ । उहाँ सक्नुहुन्थेन । त्यही भएर उहाँलाई दिउँसो पठाइयो । तर, भोलिपल्ट विहान ८ बजेतिर उहाँको गाँखुमा प्रहरीसँग जम्काभेट भएछ । उहाँहरु गाउँतिर लाग्नु पनि भएछ, तर प्रहरीले पिछा छाडेनछ । 

उहाँसँगै जनमुक्ति सेनाको त्यतिबेला मध्यक्षेत्री कमाण्डका कमाण्डर हुनुहुन्थ्यो भीभसेन पोख्रेल । उहाँलाई सुरेशजीलाई कतिबेलै नछाड्नुस् है भनेको थिएँ मैले । 

म त्यतिबेला जनमुक्ति सेनाको कमीसनार थिएँ । राजनीतिक नेतृत्व मैले गर्थें । फौजी नेतृत्व उहाँले गर्नुहुन्थ्यो । त्यसपछि कमरेड सुरेश वाग्लेले उहाँलाई ‘म अब पाको भएँ । बिरामी पनि छु । म अब भाग्न सक्दिन । तपाईं भाग्नुस्, तपाईं बलियो हुनुहुन्छ, तपाईं घेरा तोडेर जान सक्नुहुन्छ, जानुस्’ भन्नुभएछ । कमाण्डर भीमसेन पोख्रेलले त्यो कुरा मान्नु भएनछ । 



उहाँलाई मैले दिएको आदेशको सम्झना भएछ, त्यही कुरा वाग्लेजीलाई सुनाउनु भएछ ।   प्रहरीले समात्यो भने पनि म तपाईंसँगै समातिन्छु, प्रहरीले गोली हानेर सहिद बनायो भने पनि म तपाईंसँग नै सहिद हुन्छु भन्नुभएछ । तर, सुरेशजीले भन्नुभएछ– तपाईंको कमिसारभन्दा पनि म माथिल्लो तहको हो, यो पार्टीको आदेश हो, तपाईं जानुस् ।

उहाँले यसो भन्दा ढिला भइसकेको थियो, प्रहरीले उहाँहरुलाई घेराबन्दीमा पारिसकेको थियो । तर, सुरेशजीको यो निर्देशनपछि उहाँ त्यहाँबाट निस्किनु भएछ । 



तर, उहाँ निस्किँदै गर्दा प्रहरीले भेटेछ । प्रहरीले उहाँलाई समातेलगत्तै गोली प्रहार गरेर हत्या गरिदिएछ । उहाँसँग भएको झोलमा हातहतियार भएकाले पनि प्रहरीले उहाँसँग केही सोधपुछ गरेनछ । गाउँकै नजिकैको बारीमा लगेर प्रहरीले उहाँको हत्या गरेछ । यो कुरा नजिकैको अर्को घरमा हुनु भएका सुरेशजीले पनि देख्नु भएको रहेछ । 

पछि उहाँलाई पनि प्रहरीले पक्राउ गर्यो । गिरफ्तार भएपछि प्रहरीले उहाँलाई आत्मसमर्पण गर्न बारम्बार भनेछ । तर, उहाँले मान्नु भएनछ । उहाँलाई पनि तिनै कमाण्डरको शव भएको ठाउँमा लगिएछ र गोली हानी हत्या गरिएछ ।

उहाँ र म दुवै पालुङटारका । हामी निकै मिल्थ्यौँ, हाम्रो पृष्ठभूमि एउटै थियो । तर, त्यो दिन उहाँको हत्या गरियो । व्यक्तिगत रुपमा मेरालागि यो मेरो जीवनको सबभन्दा दुःखदायी, पीडादायी घटना हो । 

 


२. कृष्णभीरको त्यो लडाइँ 

जनयुद्धमा कृष्णभीरमा लडाइँ भयो । यो घटनाको राजनीतिक नेतृत्व मैले नै गरेको थिएँ । म त्यतिबेला जनमुक्ति सेनाको बासु स्मृति बिग्रेड (सुरेश वाग्लेको पार्टीको नाम नाम बासु थियो । उनको मृत्यु भइसकेपछि जनमुक्ति सेनाको बिग्रेडको नाम पनि बासु स्मृति बिग्रेड थियो) को राजनीतिक कमिसार थिएँ ।

कृष्णभीर घटनाको कमाण्डिङ यमबहादुर अधिकारीले गर्नुभएको थियो । उहाँ सेना समायोजनमा परेर त्यसको नेतृत्व गरेर जानुभयो । उहाँ अहिले कर्णेल हुनुहुन्छ । उहाँ जनमुक्ति सेनाको कमाण्डर हुनुहुन्थ्यो । म कमिसार थिएँ । 

कृष्णभीरको लडाइँको भिडियो एकजना पत्रकारले सबै विवरणसहित खिच्नुभयो । नेपाल वान टेलिभिजनले उक्त घटनाको प्रसारण गर्यो । संसारभर त्यसले तहल्का पिट्यो । नेपालमा पनि तहल्का मच्चियो । लडाइँ भइरहेको घटना प्रत्यक्ष प्रसारणजस्तो भएको थियो । 


३. मेरो गिरफ्तारी 

हामी जनयुद्धमा नै थियौँ । २०५९ सालमा शान्ति वार्ताको तयारी भएको थियो, सुरुवात भएको थियो । युद्धविरामको घोषणा भएको थियो । तर, त्यही वर्ष असारमा कैलालीस्थित रामशिखर झालाबाट म पक्राउ परेँ । बाबुराम भट्टराईले हाम्रो पार्टीको तर्फबाट वार्ताको नेतृत्व गर्नु भएको थियो । तर, त्यही बेला मलाई प्रहरीले समात्यो ।

अहिले विप्लव समूहमा हुनुभएका हेमन्तप्रकाश ओली र म सँगै थियौँ, सुदूरपश्चिममा । त्यति बेला उहाँ बिरामी हुनुहुन्थ्यो, जन्डिस भएको थियो । जन्डिस भएर उहाँ घरमा बसिरहनु भएको थियो । हामीले वार्ता भइरहेकाले प्रहरी आउँदैन होला भन्ने थियो । तर, गाउँभर छ्याछ्याप्ती प्रहरी देखिन थाले । 

म जनमुक्ति सेनाको ब्रिगेडको कमिसार थिएँ । त्यसकारण उहाँ नेता भएको कारण उहाँको सुरक्षा गर्नु जनमुक्ति सेनाको काम हुन्थ्यो । उहाँ बिरामी भएर बसिरहेको बेलामा यदी गिरफ्तार ग¥यो भने असजिलो हुन्छ, उहाँ भाग्न सक्नुहुन्न भनेर उपचारको लागि उहाँ जुन ठाउँमा बस्नुभएको थियो, म त्यहाँ नै जान चाहेँ । तर, त्यहाँ त प्रहरीले घेरा हालिसकेको रहेछ । म अनेक प्रयास गर्दा पनि जान सकिनँ । एकजना स्थानीय साथीको साइकलमा बसेर अरु बाटोहरुबारे खोज्दै थियौँ । रामशिखर जालामा पुगेपछि प्रहरीले मलाई पक्राउ गर्यो । 

त्यति बेला प्रहरीले मलाई अथाहा यातना दियो । उनीहरु केही कुरा नलुकाउन अनुरोध गरिरहेका थिए । एकातिर वार्ता चलिरहेको थियो, अर्कोतिर ममाथि दमन भइरहेको थियो । तर, मैले केही भनिनँ । 

म नबोलेकाले मेरो मुखमा राइफलको बटले हिर्काइयो । मेरा दाँत भाँचिए । त्यसपछि फेरि मेरो करङमा प्रहार गर्न थालियो । मेरा पाँच वटा करङ खुस्काइए । मलाई नाङ्गै बनाएर घिसार्दै रामशिखर झालाबाट ल्याइयो र सिख्खट भन्ने ठाउँमा राखियो । त्यहाँ ब्यारेक थियो तीनओटै प्रहरी फोर्सको । त्यहाँ ल्याइसकेपछि बल्ल मैले आफ्नो परिचय दिएँ ।  बोल्नै पर्ने बाध्यता भयो । 

म बेलाबेला बेहोस् हुन्थेँ, बेलाबेला होसमा आउँथे । होसमा नै मैले म पार्टीको केन्द्रीय सदस्य हो भनेँ । वार्ताको समयमा किन पीडा दिएको भन्ने प्रश्न पनि गरेँ । त्यसपछि उनीहरु सबैले मेरो सोधखोज गर्न थाले । 

मलाई त्यो दिन विहान ८–१० बजेतिर गिरफ्तार गरिएको थियो । दिनभर मलाई चरम यातना दिइयो । बेलुका ५–६ बजेतिर छोडियो । छोड्ने बेलामा मैले मलाई साइकलमा सँगै लगेका चौधरी भाइलाई छोड्न अनुरोध गरेँ । उनी सामान्य किसान थिए, सामान्य कार्यकर्ता थिए । उनलाई नछोड्ने हो भने आफू पनि त्यहाँबाट नजाने भन्दै मैले प्रहरीलाई सर्त राखेँ । त्यसपछि ती चौधरी भाइ र म दुवैलाई छोडियो । 

त्यहाँबाट छुटे पनि मेरो हालत निकै खराब थियो । म बेहोस भइरहन्थेँ, स्वास्थ्य निकै कमजोर भइसकेको थियो । त्यही रात मलाई त्यहाँका स्थानीयले बोकेर कैलालीबाट भारत पु¥याउनुभयो । राती नै मेरो अपरेसन भयो । मेरो फोक्सोमा रगत जमिसकेको रहेछ । अपरेशन गर्न ढिलो भएको भए म बाँच्दिनथेँ होला । २०–२१ दिनसम्म अस्पतालमै बसेर उपचार गरेपछि म कैलाली फर्किएँ । 

तर, त्यति बेला सरकारसँग भइरहेको वार्ता भङ्ग भइसकेको थियो । 

पछि फेरि वार्ता भयो, देशमा शासन व्यवस्था परिवर्तन भइसक्यो । तर, २०५९ सालको असारमा ममाथि गरिएको ज्यादती तथा दुव्र्यवहारले दिएको पीडाले अहिले पनि मलाई पीडा दिइरहन्छ । 

  • प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार ६:२१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया