\
काठमाडौं– भारतको तल्लो सद लोकसभाबाट नागरिकता संशोधन विधेयक पास भएपछि लाखौँ मुस्लिम र गैरहिन्दू अल्पसंख्यक नागरिकताविहीन हुने भन्दै अमेरिकाको धार्मिक स्वतन्त्रतासम्बन्धी आयोगले चिन्ता व्यक्त गरेको छ । आयोगले भारतका गृहमन्त्री अमित शाहमाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरेको छ ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताका लागि अमेरिकी आयोग (युएससिआइआरएफ) सो विधेयक माथिलो संसद्बाट पनि पारित भएमा भारतीय गृहमन्त्री अमित शाहसहित अन्य प्रमुख नेतामाथि प्रतिबन्ध लगाउन अमेरिकी सरकारलाई सुझाब दिएको छ ।
अब भारतमा नागरिकता लिन पनि निश्चित धर्मको परीक्षा दिनुपर्ने अवस्था सिर्जना भएको आरोप लगाउँदै अमेरिकी आयोगले भारतको धर्मनिरपेक्षताको इतिहास समाप्त पार्ने गरी विधेयक आएको ठहर गरेको छ ।
हिन्दू कट्टरपन्थी भारतीय जनता पार्टीको बलियो सरकारले लाखौँ मुसलमानको नागरिकता खारेज गर्न लागेको आयोगको दाबी ।
सोमबार राति भारतको संसदले नागरिकतासम्बन्धी विधेयक बहुमतबाट पारित गरेको छ । विधेयकको पक्षमा ३११ र विपक्षमा ९० मत परेको थियो । विधेयक पारित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमन्त्री शाहको प्रशंसा गर्दै खुसी व्यक्त गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।