मानवअधिकार उल्लंघनमा दोषी देखिएकालाई कानुनको दायरामा ल्याउन सरकार सक्रिय : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारको उल्लंघन हुन नदिन र भएमा सोको अनुसन्धान गरी दोषी देखिएकालाई कानुनको दायरामा ल्याउन तथा पीडितलाई क्षतिपूर्ति एवं न्याय दिलाउन सरकार सक्रिय रहेको बताएका छन् । विश्व मानवअधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मानवअधिकार सरकारको प्रतिबद्धताको मात्र विषय नभई आस्था र निष्ठाको विषय पनि भएकाे भन्दै मानवाधिकार संरक्षण तथा प्रवर्द्धनको प्राथमिक जिम्मेवारी सरकारको रहेको बताए ।

मानवाधिकारमैत्री संस्कृतिको निर्माण गरी संस्थागत गर्न सरकारको मात्र पर्याप्त भूमिका नरहने बताउँदै उनले त्यसका लागि समाजका सबै क्षेत्र, पेसा, व्यवसाय र वर्गको योगदान आवश्यक रहेकामा जोड दिए । सरकारले मानवाधिकारको प्रवर्द्धनका लागि आधारभूत वातावरण निर्माण गर्न सम्बद्ध सबै क्षेत्रसँग अझ बढी सहकार्य र सहयोगको अपेक्षा गरेको उनले सन्देशमा बताएका छन् ।

सन्देशमा उनले आफूले राजनीतिक जीवन सुरु गरेदेखि अहिलेसम्म आफूले बोकेका, अपनाएका र पक्षपोषण गरेका तथा पृष्ठपोषण गरेका मान्यता संयुक्त राष्ट्र संघको बडापत्रमा आधारित रहेको उल्लेख गर्दै आफू ती लक्ष्य प्राप्त गर्न क्रियाशील रहने बताएका छन् ।

‘मानवअधिकार र संक्रमणकालीन न्यायप्रति नेपाल सरकारको प्रतिबद्धताअनुरुप द्वन्द्वकालीन घटनालाई सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगलाई थप प्रभावकारी बनाउन कानुनी तथा संरचनात्मक व्यवस्थामा आवश्यक संशोधन गरी पीडितलाई न्यायको अनुभूति गराइनेछ’ उनले सन्देशमा भनेका छन् ।

प्रधानमन्त्रीले  ‘मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष भएका मानवअधिकारसम्बन्धी महासन्धिद्वारा व्यवस्था गरिएका सबै प्रकारका मानव अधिकारलाई प्रत्याभूति गराउनका लागि संविधानमा नै मौलिक हकको व्यवस्था गरी मौलिक हकसम्बन्धी विभिन्न कानुन निर्माण भई कार्यान्वयन भइरहेको’ सन्देशमा उल्लेख गरेका छन् ।

‘नागरिक तथा राजनीतिक अधिकारको प्रत्याभूति र उपभोगको दृष्टिकोणले हाम्रो अवस्था निकै समुन्नत रहेको छ’, उनले सन्देशमा भनेका छन्, ‘आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको क्षेत्र र खासगरी राज्यले विशेष रुपमा ध्यान दिनुपर्ने ज्येष्ठ नागरिक, आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, असहाय, एकल महिला, अपांगता भएका व्यक्ति, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिलाई लक्ष्य गरी सामाजिक सुरक्षासम्बन्धी कानुन लागू गरिएको छ ।’



निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवा पाउने हक कार्यान्वयनका लागि जनस्वास्थ्यसम्बन्धी कानुन, रोजगारीको हक सुनिश्चित गर्न तथा बेरोजगार सहायतासम्बन्धी व्यवस्था गर्ने रोजगारीको हकसम्बन्धी कानुन, आवासविहीन नागरिक तथा परिवारलाई आवास सुविधा, भूमिहीन दलितलाई जमिन, आधारभूतसम्मको अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी कानूनी व्यवस्था  कार्यान्वयनमा रहेको सन्देशमा जनाइएको छ ।

 संविधानसँग बाझिएका एवं संविधानबमोजिम परिमार्जन गर्नुपर्ने कानुनको संशोधन गर्ने काम भइसकेको उल्लेख गर्दै उनले संविधान तथा कानुनद्वारा संरक्षित मानवाधिकारलाई जनताले दैनिक जीवनमा वास्तविकरुपमा महसुस गर्ने वातावरण सिर्जना गर्न नीतिगत व्यवस्था, आवधिक योजना, बजेट, कार्यक्रम तथा राष्ट्रिय कार्ययोजनाको तर्जुमा गरी संघ, प्रदेश र स्थानीय तहको संरचनात्मक माध्यमबाट प्रत्याभूत गर्ने व्यवस्था मिलाइएको सन्देशमा जनाएका छन् ।



मानवाधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्नका लागि नेपाल सरकारले राष्ट्रिय मानवअधिकार आयोगलगायत संवैधानिक आयोग, राज्यका अन्य अंग,  राष्ट्रसंघका निकाय एवं गैरसरकारी संस्था तथा नागरिक समाजसँग समन्वय गरी सहकार्य गरिरहेको उनको भनाइ  छ । 

आजभन्दा ७१ वर्ष अगाडि अर्थात् सन् १९४८ डिसेम्बर १० मा राष्ट्रसंघको महासभाले मानवाधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष अन्तर्राष्ट्रिय मानवाधिकार दिवस मनाउँदै आइरहेको छ । 

  • प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार १५:१०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया