१३औँ साग भव्य रुपमा सम्पन्न भएकामा उपराष्ट्रपति हर्षित

काठमाडौं–  उपराष्ट्रपति नन्दबहादुर पुनले १३औँ दक्षिण एसियाली खेलकुद (साग) भव्य रुपमा सम्पन्न भएकामा खुसी व्यक्त गर्दै नेपालका तर्फबाट पदक जित्ने खेलाडीलाई बधाई दिएका छन् । उपराष्ट्रपतिले मंगलबार बधाई सन्देश दिँदै दक्षिण एसिया र विश्व जगत्मा नेपालको शिर उँचो हुने गरी सागको १३औँ संस्करण ऐतिहासिक रुपमा सम्पन्न गरेकामा नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्, सुरक्षा निकाय, कर्मचारी, खेलकुद पदाधिकारी र सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गरेका हुन् । 

‘मंसिर १५ गते दशरथ रंगशालामा भव्य समारोहबीच औपचारिक समुद्घाटन भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) आज पुरुष फुटबलमा भुटानलाई पराजित गर्दै नेपालले स्वर्ण पदक जितेसँगै समापन भएको छ । दक्षिण एसियाको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता सागको १३औँ संस्करण भव्य रुपमा सम्पन्न भएकामा अत्यन्त हर्षित छु’, उपराष्ट्रपतिको बधाई सन्देशमा भनिएको छ ।

उनले नेपालका तर्फबाट छनाेट भएर देशको झण्डा फहराउँदै प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडीलाई पनि बधाईसहित धन्यवाद दिएका छन् । उपराष्ट्रपति पुनले १३औँ सागको समापन १४औँ सागको तयारी पनि हो भन्दै पाकिस्तानमा हुने सागको आगामी संस्करणमा नयाँ कीर्तिमानी सफलता हासिल गर्ने लक्ष्यका साथ नेपाल सरकार र सम्बन्धित निकाय तयारीमा जुट्ने तथा सागमा पदक विजेता खेलाडीलाई सरकारले उचित सम्मान गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार ११:०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया