काठमाडौं– बर्दियाबाट प्रचितनिधिसभा निर्वाचनमा पराजित भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमलाई सांसद बनाउने चर्चा भइरहँदा उनले आफू प्रधानमन्त्री बन्ने स्थितिमा मात्र राष्ट्रिय सभामा जाने बताएका छन् ।
यसअघि गौतमलाई स्वर्गीय रवीन्द्र अधिकारीको क्षेत्रमा उम्मेदवार बनाएर प्रतिनिधि सभाको सांसद बनाउने चर्चा चलेको थियो । तर, उनले सो क्षेत्रमा आफू उम्मेदवार नबन्ने भन्दै रवीन्द्रपत्नी विद्या भट्टराईको नाम प्रस्ताव गरेका थिए । अन्ततः उनको प्रस्तावअनुसारै सहमति भएर रवीन्द्रपत्नी विद्या सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य चयन भइसकेकी छिन् ।
नेकपामा अब उनलाई राष्ट्रिय सभाको सदस्य बनाउने चर्चा चल्न थालेको छ । नेता गौतमले एक अन्तर्वार्तामा आफूलाई राष्ट्रिय सभाको सदस्य बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेको खुलासा गरेका छन् । तर, स्वयं त्यसका निम्ति आफ्ना सर्तहरू रहेको नेता उनले बताएका छन् ।
उनले राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने बाटो खुलाए मात्रै आफू राष्ट्रिय सभामा जाने बताएका छन् । त्यसका निम्ति संविधान संशोधन गर्नुपर्ने हुन्छ ।
उनले भनेका छन्, ‘प्रतिनिधिसभा वा राष्ट्रिय सभा जहाँ गए पनि म प्रधानमन्त्री बन्न मात्र जाने हो । त्यसैले संशोधन गरे मात्र राष्ट्रिय सभामा जान्छु ।’
उनलाई उपाध्यक्ष बनाउनकै लागि नेकपा सचिवालयको बैठकले विधान संशोधन गर्ने निर्णय गरेको छ । तर, सचिवालयको त्यो निर्णय स्थायी समितिको बैठकले अनुमोदन गर्नुपर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।