काठमाडौं– खोरमा थुनेर पालिएका कुखुराबाट उत्पादन भएको अण्डा र मासु खानका लागि स्वस्थकर नहुने एक कार्यक्रममा सहभागी वक्ताले बताएका छन् ।उनीहरुले देशका अधिकांश ठाउँमा पिँजडाभित्र कुखुरापालन गरिँदै आएकाले पिँजडामुक्त खोरका बारेमा चेतना जगाउनुपर्ने औँल्याए ।
एनिमल नेपालद्वारा आयोजित कार्यक्रममा उपभोक्ता मञ्चका अध्यक्ष सहदेव गौतमले जीवनयापनका लागि पशुपक्षीलाई पनि उपयुक्त वातावरण चाहिने भएकाले पशु अधिकारका विषयमा मानिस सचेत हुनुपर्ने बताए । मानिसले पशुपक्षीको अधिकार हनन गरेकाे बताउँदै उनले पशुपक्षीको अधिकारको विषयमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए ।
एनिमल नेपालका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले प्राकृतिक वातावणमा रमाएर हुर्किएको पशुपक्षीको मासु, दूध र अण्डाबाट मात्र आवश्यक पौष्टिक तत्व पाइने बताए । औषधि र सुईको प्रयोगले उत्पादन वृद्धि गर्ने गरिएको उल्लेख गर्दै उनले भने, 'प्राकृतिक र अर्गानिक वस्तुको सेवनमा जोड दिई मानव स्वास्थ्यको क्षेत्रमा संवेदनशील बन्न अति आवश्यक छ ।'
जोशीले १ सय २० दिनको अवधिमा तयार हुने बाेइलर कुखुरालाई औषधि सेवन गराई ३५ दिनमै तयार गर्न लागिएको बताए । पशुकल्याणको विश्वव्यापी मान्यतालाई स्थापित गर्नका लागि अभियान सञ्चालन गरिएको उनकाे भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।